जनकपुरधामः धनुषाको उत्तरपूर्वी क्षेत्रमा रहेको गणेशमान चारनाथ नगरपालिका र सिरहा जिल्लालाई कमला नदीको पुलले जोड्छ। कमला नदीको छेउमै थुप्रै बस्ती छन्। प्रत्येक वर्ष वर्षा याममा कमला उर्लिँदा बस्तीमा ताण्डव नै मच्चाउँछ। बस्तीका बासिन्दा वर्षा यामभर त्रसित हुन्छन् । नदीको कुन बेला कहाँ पुग्छ पत्तो हुन्न। डरैडरले उनीहरू रातभर जाग्राम बस्छन्।
वर्षा यामको यो पीडासँगै यहाँका बासिन्दाको अर्को मार करिब ३६५ दिनै खेप्छन्। त्यो हो क्रसर आतंक। ‘क्रसर माफिया’हरु न रात बुझ्छन् न त दिन नै। २४सै घण्टा चलिरहन्छ आतंक।
जिल्लका १८ स्थानीय तहमध्ये गणेशमान चारनाथ नगरपालिकामा सबैभन्दा बढी क्रसर छन् । वरिपरिका बस्तीका बासिन्दाहरूका लागि क्रसरको धुलो, ठूला–ठूला मेसिनको आवाज अब सामान्य भइसकेको छ। ध्वनि आतंकमै सीमित छैन त्यहाँको पीडा। क्रसरकै कारण खेतीयोग्य जग्गामा खनिएका ठूला–ठूला खाडल, खाडलमा जम्ने पानी र हुने दुर्घटनाको सिकार पनि बेला–बेलामा स्थानीय पर्ने गरेका छन्।
गणेशमान चारनाथ नगरपालिकामा आठभन्दा बढी क्रसर छन्। अधिकांश मापदण्ड विपरीत समेत छन्। तर, यस विषयमा जवाफ दिन कुनै पनि क्रसरका सञ्चालक तयार छैनन्। जवाफ दिन समेत चाहँदैनन्।
पालिकामा गौरव बालुवा वासिंग प्रशोधन उद्योग, कमलेश्वरी बालुवा प्रशोधन उद्योग, कमला स्टोन क्रसर उद्योग, संकटमोचन क्रसर उद्योग, कमलामाई क्रसर उद्योग, देवकी बालुवा प्रशोधन उद्योग, समीर बालुवा प्रशोधन उद्योग लगायतका क्रसर सञ्चालनमा छन् । अधिकांशले वन, निकुञ्ज, खोला, बस्तीबाट हुनुपर्ने दूरीको मापदण्ड पूरा गरेको छैनन्। केही नवीकरण बिनै सञ्चालनमा छन्। अवैध रूपमा नै गिट्टी, बालुवा उत्खनन गर्ने आरोप पनि उद्योगमाथि लागिरहेको छ।
गिट्टी, बालुवा उत्खननका लागि स्थानीय तहबाट टेन्डर निकालेपछि आतंकको नयाँ रूप सिर्जना हुन्छ।
रिपोर्टिङको क्रममा कमला नदी छेउमै रहेको नवटोली गाउँबाट निस्किँदै गर्दा भेटिए धनीकलाल महतो। महतो गणेशमान चारनाथ नगरपालिकास्थित जुरी टोलका हुन्।
उनले क्रसरकै कारण बस्ती समस्यामा पर्नेसम्मको अवस्थामा आएको गुनासो सुनाए। महतोले भने, ‘उत्खननले नदीले धार परिवर्तन गर्नसक्छ जसले बस्ती नै बगाउला भन्ने डर छ। यी क्रसरको अवैध उत्खनन हेर्दा मेरो आफ्नो जग्गा पनि उत्खननमा पार्छन् कि भन्ने डर लाग्न थालेको छ। यिनीहरूसँग पावर छ। अवैध उत्खननविरुद्धमा बोल्नेलाई ज्यानै मारिदिन्छन्। दिलीप महतोको हत्या हेर्नुस् त।’
राति क्रसर बिहान ट्रिपर आतंक
तीनवटा क्रसर छेउमै रहेका कारण नवटोलीका स्थानीय राम्रोसँग सुत्न पाउँदैनन्।
स्थानीय रामलोचन ठाकुरले भने, ‘पूरै रात बालुवा गिट्टी खन्नका लागि ठूला ठूला मेसिन लगाइएका हुन्छन्। मेसिनबाट निस्किने आवाजले हामीलाई रातमा पनि सुत्न दिँदैनन्।’
उनले राति क्रसर चल्ने र बिहानैबाट ट्रिपर दौडाउने भएकाले जोखिम रहेको बताए। ट्रिपरबाट बालबालिका समेत जोखिममा रहेको उनको भनाइ छ।
गणेशमान चारनाथ नगरपालिका ८ नवटोलीका स्थानीय लक्ष्मण दासको पनि समान अनुभव छ। दासले भने, ‘गाउँको सडक भएर ट्रिपरले बालुवा गिट्टी ढुवानी नहोस् त्यसका लागि हामीले बाँसको छेकबार लगाएका छौँ। छेकबार हटाउनकै लागि क्रसर सञ्चालकबाट धम्की आउँछ।’
क्रसर आतंक रोक्न पहल गर्न आवश्यक भए पनि ज्यानै मार्नेसम्मको धम्की आउने दासको भनाइ छ।
उत्खनन निस्फिक्री हुँदा खेतीयोग्य जमिन कटान हुने कृषकहरूको पीडा छ।
कमला नदीबाट लगभग ५ मिटरको दूरीमै घर रहेका स्थानीय शिवजी ठाकुर आफूहरूको खेतबारी कति बेला कटान हुने भन्ने डरमा बस्नुपरेको बताउँछन्।
ठाकुर भन्छन्, ‘अगाडि पछाडि रहेको वनजंगल पनि क्रसरको चपेटमा परेपछि हामीलाई पानीको समस्या उतिकै छ। मेयर साहबको आफ्नै लगानी छ क्रसरमा। ठेक्कापट्टा नै उहाँले लिँदै आउनुभएको छ। रोकिन्छ भनेर पन्छाउनु मात्र हुन्छ।’
हाम्रो पहुँचमा छैन
यता नगर प्रमुख रामबाबु यादवले क्रसर आतंक रोक्नु आफ्नो पकडमा नरहेको बताए । नेपाल सरकारले नै यसमा गम्भीरता देखाउनुपर्ने बताए।
‘हामी रोक्न तयार छौँ। तर माथिबाटै चिठी लिएर आउँछन्। हामीले मजबुरीमा सिफारिस दिनुपर्छ’, उनले प्रतिप्रश्न गर्दै थपे, ‘सिडिओदेखि एसपी–डिएसपी सबैको मिलेमतोमा उत्खनन हुन्छ। मैले एक्लै विरोध गरेर रोक्न सक्छु र?
क्रसर सञ्चालकबाट लाभ लिने गरेका स्थानीय युवाहरूले समेत अवैध गतिविधिलाई साथ दिने गरेको आरोप स्थानीयकै छ। सञ्चालकको इच्छा अनुसार विरोध गर्नेहरूलाई भने उनीहरूले धम्क्याउने गरेको स्थानीयको भनाइ छ।
अवैध उत्खननबारे समेत स्थानीयले जिल्ला प्रहरी, प्रशासन र प्रदेश सरकारलाई पटक–पटक जानकारी गराइसकेका छन्। तर बेथिति उस्तै छ। स्थानीय प्रशासन चुप छ।