PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

हाथरस सामूहिक बलात्कारमा ज्यान गुमाएकी युवतीको परिवार भेट्न जाँदा राहुल र प्रियंका पक्राउ



हाथरस सामूहिक बलात्कारमा ज्यान गुमाएकी युवतीको परिवार भेट्न जाँदा राहुल र प्रियंका पक्राउ

प्रतिपक्षी भारतीय कांग्रेसका नेता राहुल गान्धी र नेतृ प्रियंका गान्धीलाई प्रहरीले पक्राउ गरेको छ। भारतको उत्तर प्रदेशस्थित हाथरस जिल्लामा भएको सामूहिक बलात्कारमा ज्यान गुमाएकी युवतीका परिवारलाई भेट्न जाँदा बिहीवार यूपी पुलिसले बाटैबाट हिरासतमा लिएको हो।

ग्रेटर नोएडानजिक यूपी पुलिस र कांग्रेस कार्यकर्ताबीच धकेलाधकेलसमेत भएको बताइएको छ। राहुल र प्रियंका दिल्लीबाट आएका थिए। उनीहरु आउने भएपछि प्रहरी प्रशासनले धारा १४४ लगाउँदै हाथरसको सीमा सिल गरेको थियो।

दिल्लीबाट काफिला ग्रेटर नोएडानजिक पुग्दा प्रहरीले रोकेपछि राहुल र प्रियंका पैदल हिँडेर हजारौ कार्यकर्तासँग हाथरसका लागि प्रस्थान गरेका थिए। त्यहाँबाट प्रहरीले गिरफ्तार गरेर एक्सप्रेस-वेस्थित गेस्ट हाउसमा लगिएको कांग्रेसले जनाएको छ।

घटनापछि राहुल गान्धीले हाथरस पीडित परिवारलाई भेटेर न्यायका लागि दबाब दिन कसैले रोक्न नसक्ने प्रतिक्रिया दिएका छन्।

१४ सेप्टेम्बरमा आमा र भाईसँग खेतमा घाँस काट्न गएका बेला दलित समुदायकी युवतीको उच्च जातिका चार जनाले सामूहिक बलात्कार गरेका थिए। मंगलवार राती दिल्लीको सफदरजंग अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको थियो।

जिब्रो काटिएको र कम्मरको हाड भाँचिएर बेहोस अवस्थामा फेला परेकी २० वर्षीया युवतीको मृत्यु भएपछि देशभर विरोध भइरहेको छ। कलाकारदेखि आम नागरिकले अभियुक्तलाई फाँसीको माग गरेका छन्। हाथरस पुलिसले घटनाका चारै जना अभियुक्तलाई गिरफ्तार गरेर हिरासतमा लिइसकेको छ।

प्रहरीमाथि पीडित परिवारले लापरवाहीको आरोप लगाएको छ। उजुरीका लागि १० दिनसम्म कुराएको, विरोध प्रदर्शनपछि मात्रै दर्ता भएको, एम्बुलेन्स समेत सहयोग नगरेको पीडितका भाईको गुनासो छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell