जनकपुरधाम : प्रदेश २ मा शुक्रवार थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, प्रदेशमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु समेत भएको छ।
गौर अस्पताल रौतहट, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा २० महिला र ५९ पुरुष गरी कुल ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय झाले जानकारी दिए।
शुक्रवार प्रदेशको सप्तरी जिल्लामा सबैभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। सप्तरीमा ९ महिला र १९ पुरुष गरी २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, पर्सामा १० महिला र १४ पुरुष गरी २४ जना, बारामा १० जना पुरुष, सिरहामा ८ जना पुरुष, सर्लाही र धनुषामा ३/३ जना पुरुष र रौतहट र महोत्तरीमा १/१ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ।
यस्तै, शुक्रवार प्रदेशमा ७४ जना महिला र ३३२ पुरुष गरी कुल ४०६ जना निको भएर घर फर्केका हुन्। योसँगै प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १० हजार ९ सय ७७ पुगेको छ। अहिले सम्म प्रदेशका ९ हजार ५ सय ६ पुरुष र १ हजार ४ सय ७१ महिला कोरोना जितेर घर फर्केका हुुन्।
थप दुई जनाको मृत्यु, मतकको संख्या १३७ पुग्यो
प्रदेश २ मा कोरोना संक्रमणबाट शुक्रवार थप दुई जनाको मृत्यु भएको छ। सिरहाको सुखिपुर नगरपालिका वडा नम्बर २ का ५५ वर्षीय पुरुषको विराटनगरस्थित विराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।
यस्तै सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर ५ का ६७ वर्षीय पुरुषको उपचारको क्रममा विराटनगरस्थित नोवेल अस्पतालमा मृत्यु भएको निमित्त निर्देशक झाले जानकारी दिए। योसँगै प्रदेशमा कोभिड १९ संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको छ।
हालसम्म प्रदेशका ११५ जना पुरुष र २२ जना महिलाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको निर्देशक झाले जानकारी दिए। कोभिड १९ बाट हालसम्म सबैभन्दा बढि प्रदेशको पर्सा जिल्लामा ४३ जनाको मृत्यु भएको छ। यस्तै बारामा १८ जना, धनुषा र सप्तरीमा १६/१६ जना, महोत्तरीमा १५ जना, सिरहामा १४ जना, रौतहट र सर्लाहीमा ७/७ जना र १ भारतीय नागरिकको कोरोना संक्रमणका कारण प्रदेश २ मा मृत्यु भएको छ।