PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

ओलीलाई देउवाको चेतावनी : गोविन्द केसीको जीवन रक्षामा ढिलाई गरे परिणाम गम्भीर हुन्छ



ओलीलाई देउवाको चेतावनी : गोविन्द केसीको जीवन रक्षामा ढिलाई गरे परिणाम गम्भीर हुन्छ

काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनशनरत डा गोविन्द केसीको जीवन रक्षाका लागि सार्वजनिक अपिल गरेका छन्।

आइतवार सभापति देउवाले विज्ञप्तिमार्फत डाक्टर केसीको जीवनरक्षाका लागि सरकार गम्भीर बन्न आग्रह गर्दै प्रधानमन्त्री ओलीलाई चेतावनीसमेत दिएका छन्।

सरकारले आफैले गरेको सम्झौता उल्लंघन गरेकै कारण अहिलेको अवस्था आएको उल्लेख गर्दै देउवाले द्वन्द्वको बीउ सरकारले नै रोपले आरोप लगाएका छन्। ''वर्तमान प्रधानमन्त्रीकै अग्रसरतामा ०७५ को साउनमा डा. के.सी.सँग गरिएको सम्झौतालाई माघ महिनामा उल्लंघन गरेर द्वन्द्वको बीउ सरकारले त्यसबेलानै रोपेको थियो,' देउवाले विज्ञप्तिमा भनेका छन्, 'अतः फेरि पनि संवादमार्फत समाधानमा पुगेर त्यसको सार्थक कार्यान्वयनमा इमानदारी प्रस्तुत गर्न म प्रधानमन्त्रीजीलाई आग्रह गर्दछु।'

मागहरु सम्बोधनका लागि अविलम्ब वार्ता नगरे त्यसको परिणाम गम्भीर हुने देउवाले उल्लेख गरेका छन्। 'डा. के.सी.को जटिल बनेको स्वास्थ स्थिति दृष्टिगत गरेर अविलम्ब वार्ता गर्न, मागहरू पूरा गर्न र उहाँको जीवन रक्षा गर्न किन्चित ढिलाई नगर्न आग्रह गर्दै, ढिलाइको दुष्परिणाम गम्भीर हुने चेतावनी समेत म दिन चाहन्छु,' देउवाले भनेका छन्।

हुम्लाबाट डा केसीले थालेको १९ औं अनशनको आज २१ दिन पुरा भएको छ। केसीको स्वास्थ्य अवस्था अहिले निकै गम्भीर बनेको उनका सहयोगी प्रितम सुवेदीले बताएका छन्।

जनभावनाअनुरुपका माग सुनुवाई गर्नुपर्नेमा सरकारले उल्टै दुर्व्यवाहर गर्नु आपत्तिजनक रहेको उल्लेख गर्दै देउवाले यो कम्युनिस्ट तन्त्रको अनुदार चरित्र उदंगो भएको बताए। देउवाले भनेका छन्, 'जनभावना अनुरुपका माग र आवाजलाई सुनुवाइ गर्नु सरकारको कर्तव्य हो। तर सरकारले शुरूवातमा डा. केसीप्रति दुव्र्यवहारपूर्ण ब्यवहार गर्नु एकातर्फ आपत्तिजनक थियो भने अर्कातर्फ अहिलेसम्म संवाद र समाधानमा उदासिन ब्यवहार देखाउनुले लोकतान्त्रिक प्रणालीभित्र कम्युनिष्ट तन्त्रको अनुदार चरीत्रलाई पुष्टि गरेको छ।'

आफू नेतृत्वको सरकारले जारी गरेको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशलाई विस्थापित गर्नुको परिणाम अहिले देखिएको उनले दाबी गरे। देउवाले भनेका छन्, 'डा. केसीका मागहरू पूरा गर्दै मेरो नेतृत्वमा रहेको अघिल्लो सरकारले “राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश” ०७४ कार्तिक २४ मा जारी गरेको थियो। तर वर्तमान सरकारले त्यसलाई विस्थापित गर्नुको परिणाममा आजको स्थिति उब्जिएको हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell