PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

बलात्कारीलाई कारबाहीको माग गर्दै जिप्रका अगाडि प्रदर्शन

बलात्कारीलाई कारबाहीको माग गर्दै जिप्रका अगाडि प्रदर्शन

सुमित मिश्र/पहिलोपोस्ट


जनकपुरधाम : बलात्कारको घटना दिनदिनै बढ्दै जाँदा बलात्कारीलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि प्रदर्शन गरिएको छ।

युथ एलाइन्स एगेन्सट रेप (वाइएएआर) नामक संस्थाले देशमा बलात्कारको घटना बढ्दै गए पनि प्रहरी प्रशासनले त्यसविरुद्ध सक्रियता देखाउन नसकेको भन्दै दर्जनौं युवाहरुको सहभागितामा विरोध प्रदर्शन गरेको हो। वाइएएआर अभियन्ता गुन्जा रायको संयोजकत्वमा जनकपुरको जनकचोकबाट सुरु भएको विरोध प्रदर्शन राम चोक, भैरव चोक हुँदै जिल्ला प्रहरी कार्यालय अगाडि पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभामा बोल्दै अभियन्ता रायले बलात्कारको घटनामा जाहेरी लिएर प्रहरी कार्यालय पुग्दा दर्ता गर्न आनाकानी गर्नु चिन्ताको विषय रहेको बताइन्। उनले भनिन्, ‘एक त प्रहरीले उजुरी दर्ता गर्न मान्दैन। दर्ता गरे पनि पीडकलाई पक्राउ गर्न आनाकानी गर्छन। किन पक्राउ नगरेको भन्दा प्रहरीले जवाफ फर्काउँछन्, ‘पीडक भारत गइ सके, हामीले कसरी पक्राउ गर्ने’ यसले प्रहरीको दोहरो चरित्र झल्किन्छ।’

धनुषाधाम वडा नम्बर ४ सरसाको एक किशोरीलाई गाउँकै दुई व्यक्तिले पटक पटक बलात्कार गरे पनि आरोपीलाई प्रहरीले पक्राउ नगरेकोमा उनले दुःख व्यक्त गरिन्।

सरकार हरेक क्षेत्रमा असफल साबित भइरहेको अवस्थामा शान्ति सुरक्षा कायम गराउन पनि असफल भएको मधेश अधिकार संघर्ष समिति मासका संयोजक सरोज मिश्रले आरोप लगाए। उनले बलात्कारीहरुलाई खुलेआम घुम्न दिनु र प्रहरीले पक्राउ नगर्नुले चेलीबेटीमा भय त्रासको वातावरण उत्पन्न भएको बताए।



ट्रेन्डिङ पोस्ट

Ncell