
जनकपुरधाम : प्रदेश २ मा सोमवार थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, प्रदेशमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु समेत भएको छ।
गौर अस्पताल रौतहट, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा ६ महिला र ३८ पुरुष गरी कुल ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए।
योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ८ सय २३ पुगेको छ।
सोमवार धनुषामा सबैभन्दा बढी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, सिरहा र सप्तरीमा ८÷८ जना, सर्लाहीमा ७ जना, बारामा ४ जना, पर्सा र रौतहटमा ३÷३ जना र महोत्तरीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, सोमवार प्रदेशमा २ महिला र १२ पुरुष गरी १७ जना कोरोना संक्रमितहरु निको भएर घर फर्केका छन्।
थप दुई जनाको मृत्यु, मतकको संख्या १४० पुग्यो
प्रदेश २ मा कोरोना संक्रमणबाट सोमवार थप दुई जनाको मृत्यु भएको छ। प्रदेशको सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका वडा नम्बर ५ मा घर भई काठमाडौंको एम्स अस्पतालमा उपचाररत्त रहेका ६५ वर्षीय पुरुष र पोखरिया नगरपालिका वडा नम्बर २ लमडिया टोलका ६८ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। योसँगै प्रदेशमा कोभिड १९ संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४० पुगेको छ।
हालसम्म प्रदेशका ११७ जना पुरुष र २३ जना महिलाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको निर्देशक झाले जानकारी दिए। कोभिड १९ बाट हालसम्म सबैभन्दा बढी प्रदेशको पर्सा जिल्लामा ४३ जनाको मृत्यु भएको छ। यस्तै, बारामा १८ जना, धनुषा १६ जना, सप्तरीमा १७ जना, महोत्तरीमा १५ जना, सिरहामा १४ जना, रौतहटमा ७ जना सर्लाहीमा ९ जना र १ भारतीय नागरिकको कोरोना संक्रमणका कारण प्रदेश २ मा मृत्यु भएको छ।