कान्छा दाइलाई गुन्द्रुक र भटमास पुर्याउन काठमाडौं आएकी थिइन् निरुता तामाङ। कक्षा ९ को अन्तिम परीक्षा सकिएकाले केही समय शहरमै बस्ने र घुम्ने योजना थियो उनको।
चैत ९ गते गाउँ, रामेछापको सैलुङ छाडेकी उनले न काठमाडौं घुम्न पाइन् न छाड्न नै। घुम्न नपाउनुको कारण - लकडाउन। ठप्प शहर छाड्न नसक्नुको कारण चाहिँ – उनी विवाह गर्न तयार छैनन्। उनलाई पढ्न पुगेको छैन।
निरुता काठमाडौं आएको भोलिपल्ट उनले दाइफोनमा आमाबुबासँग कुरा गरेको सुनिन्। घरमा उनको विवाहको कुरा चलेको रहेछ। गत मंसिरमा माइला दाइले विवाह गरे। उनैले आफ्नी १७ वर्षीया बहिनीको विहे सालो पर्ने केटोसँग गराउन खोजेका हुन्।
‘हाम्रो गाउँमा छोरीचेली साटो दिने चलन छ। माइली भाउजु आएको साटो मलाई पठाउन खोज्नुभएको। तर कहाँ मेरो विहे गर्ने बेला भयो त?’, उनको प्रश्न छ।
फेरि जससँग विवाहको कुरा चलेको हो त्यो केटालाई चिन्छिन् उनी। कक्षा ६ देखि पढाई नै छाडेर बसेको रहेछन्। कहिले काहीँ खेतालो जान्छन्। अरु काम गर्दैनन्। प्राय केटाहरूसँग हिँडेर, चुरोट उडाउँदै समय बिताउँछन्।
विवाह हुने डरले आफू घर नफर्कने अडान लिइन् उनले। भर्खर एसइइ दिएर आएका कान्छा दाइसँग आफूलाई काठमाडौंमै राख्न, पढाउन आग्रह गरिन्। रोइन्, कराइन्।
दाजुले नाईं भनेनन्। बरु गाउँ गएर लुगा ल्याउन भने। वैशाखमा नयाँ स्कूल भर्ना गराउने आश्वासन सहित। निरुताले सहमतिमा मुन्टो हल्लाइन्।
चैत १२ गते, दाजुले साथीले चलाउने पानीको ट्याङ्करमा चढाए, ड्राइभरसँगैको सिटमा। त्यहाँबाट वरपर सबै देखिने। त्यसदिन काठमाडौं निकै सुनसान देखिन् उनले। गाडी नै गुडेको थिएन। सोचेकी थिइन् – काठमाडौंको पक्की सडकमा कति कम गाडी गुड्ने रहेछन्। रामेछापको पहाड खोतलेर बनाइएको कच्ची बाटोमा भन्दा कम।
रफ्तारमा गुडेको गाडी चाबहिल पुगेर रोकियो। दाइले भने – यहाँबाट गाउँ जाने गाडी पाइन्छ। उनी सरलक्क ओर्लिन्। तर ‘काठमाडौं-सैलुङ’ लेखेको गाडी आएन। खासमा कुनै पनि गाडी आएन।
‘लकडाउनमा कता हिँडेको?भन्दै पुलिसले झ्याप्पै छोप्यो। म त आत्तिएर रोएँ,’ निरुताले सुनाइन्। गाडी नचल्ने थाहा पाएपछि एक पटक झस्किइन् उनी। प्रहरीले घरमा फोन गरिदियो। लकडाउन खुलेपछि लिन आउने बताए बुबा दिलबहादुरले। छोरीले फोन राख्दाराख्दै भनिन् – विहेको कुरा गर्ने भए लिन नआए पनि हुन्छ।
‘घुर्की लगाएँ। तर घर जान मन छ। दशैं गाउँमै मनाउन मन छ। आमाबुवाको सबैभन्दा धेरै याद आएको छ,’ उनले भनिन्, ’तर उहाँहरूलाई कुटुम्बको डर छ। त्यसैले दाइको सालोसँग आजभोलि नै विहे गरोस् भन्ने चाहनुहुन्छ।‘
निरुताकी आमा फुलमाया पनि साटोमै घर भित्रिएकी हुन्। उनकी फूपुको मामासँग विवाह भएको थियो।
६ वर्षअघि उनकी दिदी सानुलक्ष्मी एसएलसी दिएर बसेकी थिइन्।
जेठा दाइको भर्खरै विहे भएको थियो। उनकी श्रीमतीको परिवारलाई दिएको वचनकै कारण सानुलक्ष्मीले पढाई अघि बढाउन पाइनन्। काठमाडौं आएर पढ्ने योजना थियो उनको। गाउँठाउँको रित पूरा गर्नै उनको विवाह जुराइयो, राजीखुशी बेगर।
त्यसैले सानु चाहन्थिन् बहिनी निरुताले त्यो अवस्था भोग्न नपरोस्।
निरुता स्वयं पनि विवाहको योजनमा थिइनन्। भागेर विवाह गरेका वा भाउजु/बुहारीसँग साटिएका आफ्ना साथीहरू सुन्तली, सञ्चमाया, कविताको जिन्दगी उनलाई सुखद् लाग्दैन थियो। आफू स्कूल जान किताब काखी च्यापेर ओरालो लाग्दै गर्दा आफ्नै उमेरका साथीहरू छोराछोरी च्यापेर काम गर्दै गरेको दृश्य उनलाई कहिल्यै रहर लागेन।
आफ्ना कुरा राख्न समेत धकाउने उनले भनिन्, 'गाउँमा विहे गरेपछि सुख त सपनामा पनि पाइन्न। घाँस दाउरा र छोर्छोरी भनेरै जिन्दगी बित्छ।‘
निरुताले त डिग्रीसम्म पढ्ने र शहरको स्कूलमा पढाउने सपना देखेकी छिन्।
‘हुन त म्याथ मलाई मन पर्ने विषय हो। तर शहरका विद्यार्थीलाई नेपाली आउँदैन भन्छन्। त्यसैले म नेपाली पढाउने मिस बन्ने, ’ योजना सुनाइन् उनले। आफै कमाउने भएपछि मात्र विवाह गर्ने रहर छ उनमा। त्यो पनि पढेको केटासँग, जो जाँड रक्सी खाँदैनन्। जागिर खान्छन्। श्रीमती कुट्दैनन्। आफ्ना गाउँका धेरै केटाहरूले त केही गर्न नसके पनि श्रीमती कुट्ने जोश राख्ने देखेकी छिन् उनले।
आफूलाई बाटोमा अलपत्र छाड्ने कान्छो दाइको उदाहरण दिइन् उनले। उनको नम्बरमा हाल सम्पर्क हुन सक्दैन। एसइइ स्थगित भएपछि काठमाडौं झरेका हुन् उनका दाइ, कुक बन्न। कलंकीको कुनै रेस्टुरेन्टमा म:म, चाउमिन बनाउँछन् रे।
‘एक्लै आएकी बहिनीलाई त्यसरी झुक्काएर पनि कोही भाग्छ? एउटै कोखबाट जन्मेको दाइमाथि भर पर्न नहुने जमानामा म अर्काको छोरासँग कसरी जाउँ?’, उनी निकै मसिनो आवाजमा गम्भीर प्रश्न गरिन्।
हाल गाउँमा माइला दाइ जसरी पनि बहिनी अन्माउने अडानमा छन्। गाग्री, खुड्किलो र कोठाको सामान दिन तयार छन्। आमाबुवा कुटुम्बको अगाडि शिर निहुराउन चाहँदैनन्। ‘साटोत दिनै पर्छ’ भन्ने पक्षमा छन्।
जेठा दाजु र दिदी सानुलक्ष्मी भने बहिनीको उमेर नपुगी र इच्छा विपरित विवाह गराउन हुन्न भन्दै आमाबुवालाई सम्झाउँदै छन्।
‘फोनमा कुरा गर्छु। आमा, दशैंमा त घर आउ है भन्नुहुन्छ। रुन मन लाग्छ तर हस् भन्न सक्दिँन किनकि म गाउँ गएँ भने विहे हुनसक्छ। विहे भयो भने पढ्न पाउँदिन। मिस बन्न पाउँदिन,’ उनले चिन्ता व्यक्त गरिन्।
दिदीले भने आफूले आमाबुवालाई सम्झाउने आश्वासन दिएकी छिन्। बिरानो शहरमा लामो समय नबिताउन भनेकी छिन्।
निरुताको अडान देखेर केही आफन्तले ‘लभ परेको’ आशंका गरेका रहेछन्। ‘मैले मोबाइल नै बोक्दिँन। कसरी लभ पर्यो भन्न सकेको हेर्नुस् त,’ उनी निकै अवोध सुनिन्छिन्। आफूमाथि शंका गर्ने तिनै आफन्तलाई खुशी राख्न तयार परिवारले आफ्नो खुशीबारे किन नसोचिदिएको होला? उनलाई थाहा छैन। उनलाई यो पनि थाहा छैन – उनी आफ्नो गाउँ, समूदायको रितविरुद्ध उभिएकी छिन्। विद्रोह गरेकी छिन्।
निरुता त आफ्ना तर्कहरू अवोध बच्चालेजस्तै लजाउँदै राख्छिन्। स्थानीय लवज मिसिएको उनको बोलीमा डर, पीडा र निश्चलता मिसिएको छ। भनिन्, ’म पढेर मिस भएपछि त ठूलो मान्छे हुन्छु। त्यस पछि त मेरो कुरा सुन्लान् नि। म भन्छु, साटो दिने चलन ठीक होइन भनेर।‘
आफ्नो निर्णयमा अडिग निरुता न्यास्रिएकी छिन्। तर, हार मानेकी छैनन्।
निरुतालाई प्रहरीले बाटोबाट उद्धार गरी मानव सेवा आश्रम पुर्याएको थियो। ६ महिनादेखि उनी त्यहीँ छिन्, सेवामा खटिएकी। कहिले काहीँ एक्लै कोठामा बस्छिन् र गीत गुन्गुनाउँछिन्। उनको आवाज बाहिरसम्मै सुनिन्छ अनि मानिसहरू अनुमान गर्न सक्छन्, ठीक त्यस बेला उनी खुशी छन् कि दु:खी।