जनकपुरधाम : सिरहामा ‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जबर्जस्ती करणीको अभियोगमा पुर्पक्षका लागि कारागारमा रहेका अभियुक्तलाई रिहा गराइदिने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको हो।
जिल्लाको बरियारपट्टी गाउँपालिका वडा नम्बर ४ का २३ वर्षीय शिव कुमार साह जबर्जस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेकोमा आफू प्रहरी रहेको र मुद्दा फाँटमा रहेकोले शिवलाई रिहा गराई दिने भन्दै ३५ हजार ठगी गर्ने सिरहाकै अर्नामा गाउँपालिकाका ३० वर्षीय मो जाबिरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।
जाबिरले शिवका भाई मुकेश कुमार साहसँग शिवलाई कारागारबाट रिहा गराइदिने प्रलोभन देखाई ३५ हजार रुपैयाँ ठगी गरेका थिए। अहिले जाबिरलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।