PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

प्रदेश २ को वर्तमान सरकार विघटन गर्न सत्तारुढ दलकै सांसदहरुको माग, भारतीय चलखेल कि अरु नै?



सुमित मिश्र

प्रदेश २ को वर्तमान सरकार विघटन गर्न सत्तारुढ दलकै सांसदहरुको माग, भारतीय चलखेल कि अरु नै?

जनकपुरधाम : सत्तारुढ दल जनता समाजवादी पार्टीका प्रदेश सभा सदस्यहरुले प्रदेश २ मा नयाँ मन्त्रिपरिषद् गठन गर्न माग गरेका छन्। प्रदेश सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाउँदै वर्तमान मन्त्रिपरिषद् विघटनको माग अघि सारेका हुन्।  

मधेश आन्दोलनको जगमा गठन भएको प्रदेश सरकार मधेशी शहीद र जनताको आवश्यकतालाई बेवास्ता गर्नुका साथै कामै नगरेको सत्तारुढ दलका सांसदहरुले आरोप लगाएका छन्। मन्त्रिमण्डलमा रहेकाहरु आआफ्ना निर्वाचन क्षेत्र बचाउनमात्र विकास निर्माणको कार्य गर्दै आएको उनीहरुको दाबी रहेको छ।

सरकार परिवर्तन गर्न जसपाका अधिकांश प्रदेश सभा सदस्यहरु लबिङमा जुटेका छन्। जसपाका प्रदेशसभा सदस्य उपेन्द्र महतो, परमेश्वर साह, विक्की यादव, मनिष सुमन, कौशल यादव, अशोक यादवहरु मन्त्रिमण्डल फेरबदलको माग गरिरहेका छन्।

नियमतः पार्टी एकीकरणपछि संसदीय दलको निर्वाचन १५ दिनभित्र सम्पन्न गरी नयाँ सरकार गठन गर्नुपर्ने थियो। तर केन्द्रीय तहमै समायोजन प्रक्रिया नसक्दा पार्टी नेतृत्व तहले पुरानै संसदीय दललाई थेग्दै आएको छ। तात्कालिन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकरण भई जसपा गठनको ६ महिना बित्न लाग्दा पनि संसदीय दलको निर्वाचन हुन सकेको छैन।

प्रदेश सांसद विंदेश्वर यादव (विक्की) ले कानून निर्माणतर्फ प्रदेश सरकार केही हदसम्म सफलता पाए पनि विकास निर्माणमा तात्कालिन जिल्ला विकास समितिको शैलीमा अघि बढेको बताउँछन्।

'गाउँटोलमा माटो पुर्ने र पिसिसी ढलानलगायतका स्थानीय तहका वडाध्यक्षले गर्नुपर्ने काम मन्त्रीहरुले गरिरहेका छन्। संघीयता कार्यान्वयनको मूल क्षेत्र प्रदेश २ सरकारलाई एउटा मोडलको रुपमा प्रस्तुत हुनुपर्थ्यो। तर संघीयता र मधेश आन्दोलनको मर्मविपरित कार्य गर्दै आएको देखिएको छ,' सांसद यादवले भने, 'बेरोजगारीको समस्या समाधान र प्रादेशिक योजना कार्यान्वयनमा ध्यान छैन। मन्दिर र अस्पतालको पर्खाल निर्माणजस्ता झिनामसिना योजनाहरुमा अल्झिए। तत्काल सरकार परिवर्तन गरी अनुभवी, योग्य र भिजन भएकाहरुको जिम्मा लगाउनुपर्छ।'

सांसद मनिष सुमन पनि यादवकै यादवकै मतका पक्षमा छन्। 'केन्द्र सरकारले असहयोग गरिरहेको छ। कुरा त्यो सत्य हो। तर प्रदेश सरकारले आफूबाट हुन सक्ने काम पनि नगरी भ्रष्टाचारमा चर्लुम्म डुबेको छ। आम जनताको रोजगार तथा समस्यासँग जोडिएका कुनै गौरवशाली प्रादेशिक योजना ल्याउनु न सक्नु सरकारको असफलता हो,' सुमनले भने, 'मधेशी जनताले आफ्नो सरकार बनेपछि विकास निर्माण हुन्छ, शहीदको सम्मान हुनेछ, प्रदेशमा सुशासन कायम हुने, काम निष्पक्ष हुनेछ भन्ने अपेक्षा गरेका थिए। केही काम हुन सकेन।'

सांसद अशोक यादव पनि प्रदेश सरकारबाट सन्तुष्टिजनक काम हुन नसकेको बताउँछन्। संघीयता बचाउन कुनै काम गर्न नसकेको कारण वर्तमान सरकारलाई परिवर्तन गरी नयाँ नेतृत्वलाई जिम्मेवारी दिनुपर्ने पर्ने उनको माग रहेको छ।

'सरकारले मधेशी जनताको पीडा, बेरोजगारी समस्या समाधान गर्न सक्ने, किसानका राहतको लागि कुनै योजनासहितको गौरवशाली योजना ल्याउन नसकेकोले सरकार परिवर्तनबाहेक अर्को विकल्प छैन,' उनले भने।

सांसद परमेश्वर साहले संघीय सरकारको असहयोग, कर्मचारी र अनुभव अभावकाबीच जेनतेन प्रदेश सरकारले आफ्नो कार्य गर्दै आएको बताए। यी समस्याका बावजूत गर्नसक्ने काम पनि नगरेको कारण जनतामा रहेको असन्तुष्टि र निराशा चिर्न अनुभवी तथा योग्य व्यक्तिसहितको सरकार गठन अहिलेको आवश्यकता भएको दाबी गरे।

'सम्पूर्ण रुपमा सरकार असफल नरहेपनि केही मन्त्रीहरुको गलत गतिविधिका कारण प्रदेश सरकारमाथि प्रश्न खडा भई बदनाम हुने अवस्था छ। यस कुरालाई पार्टी नेतृत्व तहले पनि मूल्यांकन गरिरहेका छन्, आशा छ चाँडै वर्तमान सरकारलाई विघटन र काम गर्न सक्ने क्षमतावान र योग्य व्यक्तिको नेतृत्वमा नयाँ सरकार हुनेछ,' उनले भने।

त्यस्तै सांसद कौशल यादव र उपेन्द्र महतोले पनि सरकारको कारवाहीप्रति असन्तुष्टि जनाए। प्रदेश २ का सत्तारुढ दलकै सांसदहरुले संवैधानिक व्यवस्थाअनुसार तत्काल संसदीय दलको निर्वाचन गरी योग्यलाई सरकारको जिम्मा दिनुपर्नेमा जोड दिए।

प्रदेश २ सरकार परिवर्तनमा भारतको चासो रहेको हल्ला चलिरहँदा सत्तारुढ दलका सांसदहरुले जोडतोडका साथ सरकार परिवर्तनको माग गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell