PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

छिमेकी पत्रकारिता, ठूलो स्वरको सर्कस!



छिमेकी पत्रकारिता, ठूलो स्वरको सर्कस!
Photo : clarionindia.net

  • शिखा न्यौपाने

युट्युब खोलेको मात्र के थिएँ एउटा भिडियोले आकर्षित गर्‍यो। भिडियो भारतीय च्यानलको थियो। जसमा ठूला क्यामरा र दर्जनौ मानिसले एक युवती घेरेका थिए। झट्ट हेर्दा त्यो दृश्य कुनै रङमन्च को जस्तो देखिन्थ्यो। तर त्यो दृश्य समाचारकर्मीहरुको थियो। उनीहरु एक महिलामाथि खनिएका थिए। कोरोना महामारीको बेला त्यस्तो भीड गरेर भारतीय पत्रकार २४ घण्टा उनको जीवन शैलीमा यति आबद्ध भए कि उनी कुन गाडीमा हिँड्छिन्, उनी को सँग बोल्थिन्, उनका पूर्व प्रेमी कोको थिएदेखि लिएर उनको आन्तरिक जीवन सबै भताभुङ पार्न लागि परे।

केही महिनाअघि बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरे भनेर समाचार आयो। टेलिसिरियल देखि उनलाई मन पराउने जमात सबैले सामाजिक सन्जालमार्फत शोक व्यक्त गरे। सानो हुँदै ठूलो पर्दामा उदाइरहेको एक व्यक्ति यसरी अस्ताउनु साच्चिकै अचम्म र अप्रत्यासित घटना थियो। उनीसँग के भयो? यो कुरा सायद उनीलाई मात्रै थाहा थियो होला। तर, गणितको फर्मुला जस्तो सबै आफ्नो टिप्पणी दिन लागि परेका छन्। जुन हामी सामाजिक सञ्जाल र न्युज च्यानलमा अझै देख्न सक्छौं। यही टिकाटिप्पणी बीच सुशान्तका पिताले अभिनेत्री रिया चक्रवर्ती विरुद्ध मुद्दा हाले। पिताका अनुसार सुशान्तकी प्रेमिका रिया उनको मृत्युको निम्ति जिम्मेदार छिन्।

त्यसपछि भारतीय मिडियाले मन्त्र जपेजस्तो रियाको नाम जप्न थाले। सायद एक जुगपछि पाकिस्तानको नाम भारतीय न्युजले रिया भन्ने बिषय पाएपछि बिर्सिएको होला। रियाको नाम बिहानको ९ बजेदेखि रातिको ११ बजेसम्म न्युजमा आउन थाल्यो र उनको घर बाहिर पत्रकारहरु २४ घण्टा हुन थाले। उनी बहसको मुद्दा बनिन् र अरु अभिनेत्री बोलाई उनको बिषयमा चर्चा गरियो। अदालतको छानविन प्रकृया चलिरहेको बेला केही न्युज च्यानलले उनलाई दोषी ठहराइ सजायसम्म माग्न थाले। जुन अहिले त उनीहरुको नित्यकर्म जस्तो बनेको छ।

भारतीय सरकार, रिपब्लिक मिडिया र सुशान्त

आखिर किन भारतीय मिडिया सुशान्तको बिषयमा यती लागि परेका छन् त? भारतीय न्यूज च्यानल प्रेस स्वतन्त्रताको सूचकांक २०२० मा १८० देशमध्ये १४२ स्थानमा पर्छ। प्राय भारतीय न्युज च्यानललाई ‘ग्रुप अफ टकिङ हेड’ अर्थात बोल्ने टाउकोको जमात पनि भनिन्छ। इन्फर्मेसनलाई कमोडिटी बनाएर बेची दर्शकले गर्ने गणनामा अगाडि ल्याउन खप्पिस मिडियाले त तिललाई पहाड सम्म बनाइदिन्छन्। यसमा अघिल्लो नम्बरमा पर्ने पत्रकार अर्नब गोस्वामी हुन्।

अर्नब रिपब्लिक न्युज च्यानलका होस्ट मात्र नभई त्यस च्यानलका मालिक पनि हुन्, टाउको खाने गरी चिच्याइ बोल्ने यिनी पत्रकार पत्रकारिताको नाममा विपक्षी दलका सबैलाई गाली गर्दै, बोलाइएका अथितिलाई बीच बीचमा रोक्दै भारतीय सरकार पक्षको गुणगान गाउँछन्। उनलाई मोदी सरकारले सहयोग गर्ने गरेको आरोप लागिरहन्छ। जसलाई उनी ‘निहायति अफ्वहा’ भनेर नकारि रहन्छ्न्।

तर, यी आरोप जसलाई उनी अफ्वहा र नाजायज भन्छन् यही कुराको प्रमाण त उनले सबै सन्दर्भमा प्रस्तुति दिने शैलीले नै दिन्छ। भारतीय जनता पार्टी अर्थात सरकार पक्षका सदस्य र मन्त्रीसँग अर्नबले लिने अन्तर्वार्ता र विपक्षी दलसँग लिने अन्तर्वार्ता नै हेर्नुहोस् न! आकाश जमिनको फरक हुन्छ। प्रश्न सोध्ने ढाँचा, विषयवस्तु र आवाजले नै थाहा पाइहाल्नुहुन्छ।

के यी पत्रकार जो छिमेकी मुलुकको प्रधानमन्त्रीको चरित्र हत्या गर्न पछि पर्दैनन, जो आफ्नो अथितिलाई एक बोलीबचन् राम्ररी स्पष्टिकरण दिने मौका पनि दिँदैनन्, पत्रकारिताको मान मर्यादा केही पालन गर्दैनन, उनी एक अभिनेताको निम्ति यति लगनशील् होलान?

यो प्रश्न कुनै अस्वभाविक प्रश्न होइन। बाघचालको खेल र राजनीतिको खेलमा निकै छल हुन्छन् र केही यस्ता पात्र सिकार हुनलाई नै अघि सारिन्छन, हो त्यही बली बनेकी हुन् रिया।

अर्नब जस्ता पत्रकारले भारतीय जनतालाई घुमाइरहेका छन्,कहिले बलिउडमा आफन्तवादको बिषयमा त कहिले अभिनेत्री कंगना जसले सुशान्तसँग काम नै गरेकी छैनन् सुशान्तका बिषयमा उनले बोलेको सबै सत्य जसरी अर्नबले प्रस्तुत गरे। कहिले बलिउड ड्रगको बिषयमा, कहिले रियाका शोख आदतको बिषयमा, बिषय छैन त केवल कोरोनाको।

कोरोना संक्रमित स्थानमा दोस्रो अंकमा भारत छ। जहाँ ६० लाख भन्दा बेसी मानिस संक्रमित छन् भने ९६ हजार भन्दा बढिले त्यसको नतिजा स्वरुप ज्यान गुमाइ सकेको तथ्यांकले बताउँछ। आखिर सरकार के गर्दै छ त? त्यो यी आफूलाई स्वतन्त्र पत्रकार दाबी गर्ने पत्रकारको बिट परेनछ जस्तो छ। फेरि च्यानल त उनकै हो, कहिले त अरु बिषयले महत्व पाएका देखिँदैन।

सुशान्त आज सबैको स्वार्थ पूरा गर्ने नाम बनेका छन्। कसैलाई आरोप लगाउन, स्थान दिन, कसैलाई असली मुद्दाबाट भड्काउन, भारतीय जनतालाई अलमल पार्न, नाम र फोटो कमलको फूलमाथि प्रयोग गरी बिहार चुनावमा भोट माग्न, कोरोनाको बेला संक्रमितबाट ध्यान हटाउन।

भारत सरकारको यो असली मुद्दा र बिषयलाई लुकाउने प्रयासमा मिडियाले भरपुर सहयोग गरिरहेको छ। भारतको अर्थतन्त्र खस्किरहेको बेला स्वास्थ्य जस्ता बिषय हटाइ प्रमुख समाचारमा रियाले ठाउँ पाउनुले स्वत: राजनीतिक चलखेल हो भन्ने बुझन कठिन छैन। यसबीचमा भारतमा किसानले ‘मन्डी बचाओ, किसान बाचाओ’ भनेर १०० ट्याक्टर लिएर कोरोनाको मारमा पनि प्रदर्शन गरे। तर त्यो मुलत: धेरै मिडियाले देखाएन।राज्यसभामा किसान बिल् पास भयो तर आश्चर्यचकित कुरा त यो हो कि त्यस बिषयमा दीपिका पादुकोणको छनबिनको कभरेजले जति स्थान पाएन। 

त्यही दिन एउटा भिडियो क्लिप देखें। जहाँ एक पत्रकार गाडीबाट कराउँदै ‘क्या आप ड्रग्स लेती है, देखिये वोह रहा दीपिकाका गाडी देखिए’ भन्दै हतारिदै ड्राइभरलाई दीपिकाको गाडीसँग लग्न भन्दै थिइन्, त्यो हेरेर छिमेकी पत्रकारिता एक सर्कश हो जस्तो लाग्यो।

म रिया सही हुन् वा गलत भन्दिन्। त्यो काम अदालतको हो। तर मेरो प्रतिप्रश्न के हो भने एक महिलाको चरित्र हत्या गरी अन्य बिषय जुन जनतालाई सिधै प्रभाव पार्छ त्यस्ता बिषयलाई नकार्नु कतिको उचित कुरा होला त?

तर फेरि त्यही देशमा यस्ता दृढ पत्रकार पनि छन् जसले मुल मिडियामा स्थान पाएका छैनन। तीमध्ये एक हुन् राणा अय्यब, जो आफ्नो किताब गुजरात फाइल्सका कारण चर्चित छिन। तर उनलाई सरकारको विपक्षमा बोलेको भएर देशद्रोही भन्ने आरोप लाग्छ। बलत्कार जस्ता डरलाग्दो धम्की सामाजिक सन्जालमा प्राय देखिरहन्छन्। उनी यो कोरोनाको बीचमा विभिन्न मठ मन्दिर मस्जिदमा गएर आफै खटेर सामाजिक संजालमार्फत निम्न वर्गलाई आर्थिक र मानसिक सहयोग गरिरहेकी छिन। बस उनी ठूलो स्वरका पत्रकार जस्तो न्याय दिन्छु भन्दै कराउँदिनन्। अर्का त्यस्तै युटुबर छन् ध्रुब राथी। जो आफ्नो युट्युबको माध्यमबाट दर्शकलाई सत्य तथ्यमा आधारित सामाजिक र राजनीतिक बिषयमा बिश्लेषण दिन्छन्। उनी सधै फ्याक्ट र फिगरमा आधारित गफ गर्छन्।

सुशान्तकै केसबीच धेरै पत्रकारले रिपब्लिक मिडिया छाडे। उनीहरुले कसरी आफू पत्रकारिता भन्दा बढी हिट म्यान शो बनाइरहेको महसूस भएको जानकारी दिए। एक पत्रकारले सामाजिक संजाल मार्फत आएर च्यानलले उनीहरुलाई कसरी रियाको जीवन खोटलेर उनको चरित्र हत्या गरी अनैतिक पत्रकारिता गर्न बाध्य बनाएको खुलासा गरिन्।

छिमेकी हावा देशमा?

केही दिनअघि मलाई एक पत्रकारले लेख्न बोल्न कतिको जागर लाग्छ भनेर सोध्नुभयो, मैले भने, 'म एथिकल जर्नालिजममा विश्वास राख्छु।' उहाँले प्रतिकृया स्वरूप मलाई अहिले चल्ने भनेको सेन्सेसनल समाचार हो भन्नुभयो।

कोही व्यक्ति सजिलै पत्रकारिता नि पढ्ने बिषय हो भनेर खित्खित् हाँस्नुहुन्छ। मन कटक्कै खान्छ। त्योभन्दा बढी त समावेशीका कुरा गर्ने पत्रकारदेखि अचम्म लाग्छ। जो महिला नेतृ र नायिकालाई गर्ने सम्बोधन र प्रश्न भिन्न रूपमा लिनुहुन्छ, कठै पत्रकारिता त तब लाग्छ, जब कोही अन्तर्वार्ता लिँदा कालो खरानी दलेर एक पात्र बनी त्यो समुदायको मानिसलाई खिसी उडाउँदै मनोरन्जन दिएको भान गर्नुहुन्छ।

महिलाको बिषयमा बोल्ने यहाँ महिलाको स्थानमा महिलाभन्दा पुरुष बेसी हुनुहुन्छ। हरेक दिन महिला जति अघि बढे पनि पत्रकारले सम्बोधन चाहि नेपाली चेली भनेर गर्नुहुन्छ। तर ओहो त्यही ठाउँमा पुरुषलाई उर्जावान युवाजस्तो दर्जा दिइन्छ। न्यूजमा संस्कारजस्ता हम्मे हुने शब्द त महिलाका लागि न हुन महोदय। बिहे पछि कुन नायिका संस्कारी बनिन भनेर लेख्ने पत्रिकालाई त झन के भन्नु र खै?

तपाईं टिप्पणीकार कि पत्रकार? तपाईले दिने तथ्य सत्य र बहसबाट थाहा हुन्छ। मूलत: तपाईंले उठाउने बिषय र बिषयलाई दिने संवेदनशीलता र त्यसको बारे ज्ञान, अध्ययन र प्रश्नहरु जाच्ने माध्यमद्वारा थाहा पाउनुहुन्छ। जहाँ निडर भई प्रश्न गरिन्छ तर मर्यादित ढंगबाट।

हामीसँग दुइटै तहका पत्रकार हुनुहुन्छ। कति जना अध्ययनशील विषयवस्तुप्रति गम्भीर, विषयको सम्बेदनशीलता बुझ्नुभएको हुन्छ भने कति जना भने चर्को स्वरले प्रश्न गर्ने, निजी जीवनबारे खोतली, गाली गरी, टिप्पणी गर्नुहुन्छ। त्यहीँ छिमेकी सर्कश जस्तो।

कहिलेकाहीँ त ठूलो चर्को स्वरले बिषयबस्तु गम्भीर बनाउने उपाय र उदारहण नि छिमेकीबाट सिक्नु भयो कि जस्तो लाग्छ हाम्रा पत्रकारले! हिन्दी चलचित्र नायकमा जस्तै अनिल कपूर बन्न खोज्या होला के नेपाली पत्रकार भनेर मेरी एक साथीले हाँस्दै भनिन्। तर पत्रकारिता त कलाकारिता एउटै पक्कै हैन, हैन र?

पत्रकारिता मैदान हैन जहाँ चर्को स्वरले जे जे नि भन्न पाइन्छ। न अमर्यादित प्रश्नहरुको लिस्ट हो, न जनतालाई अन्योलमा पार्ने प्रयास गरिन्छ।

कहिलेकाहीँ त लाग्छ उहाँजस्ता चर्को स्वर र ठाडो प्रश्न गर्ने पत्रकारसँग प्रश्न गरुँ, त्यो पनि उहाँहरुकै शैलीमा, ‘ल मलाई भनिदिहाल्नुहोस् त पत्रकारिताको मान मर्यादा अब कहिले पालना गर्ने? १ बर्षमा, ५ बर्षमा, १० बर्षमा?’

 

(मिडिया अध्ययनमा स्नातक गरेकी न्यौपाने मिडिया भिजन नेपाल नामक संस्थामा आवद्ध छन्।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell