PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

‘डा केसी व्यक्ति होईन् आवाज हो’ भन्दै जनकपुरमा युवाले गरे प्रदर्शन



सुमित मिश्र

‘डा केसी व्यक्ति होईन् आवाज हो’ भन्दै जनकपुरमा युवाले गरे प्रदर्शन

जनकपुरधाम : विगत २४ दिनदेखि चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशनरत रहेका डा गोविन्द केसीको समर्थनमा जनकपुरधामको रामानन्द चौकमा विरोध प्रदर्शन गरिएको छ।

कोभिड-१९ क्विक रेस्पोन्स टिम र जनकपुरधामका युवाको संयुक्त आयोजनामा स्थानीय रामानन्दचोकमा बुधवार साँझ विरोध प्रदर्शन गरिएको हो। केसीका माग जायज हुँदाहुँदै सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका हुन्।

डा केसीको समर्थन एवं उनको जीवन रक्षा तथा जायज मागहरूप्रति ऐक्यबद्धता र संघीय सरकारको गैरजिम्मेवारीपनका विरूद्ध आफूहरुले शान्तिपूर्ण विरोध प्रदर्शन गरेको नेपाल तरुण दल धनुषाका उपाध्यक्ष राकेश बिक्रम साहले जानकारी दिए। उनले डाक्टर केसी पटकपटक अनशनमा बसेपनि उनको माग पूरा नहुनु दुःखद भएको बताए।

साहले भने, ‘डा केसीको कुनै व्यक्तिगत स्वार्थ छैन, उनी आम नागरिकको लागि लड्दै छन्। उनको समर्थनमा सम्पूर्ण नेपाली जनतालाई अगाडि बढ्नुपर्ने आवश्यकता छ।’

स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि डा केसीले १९ औँ सत्याग्रह शुरु गरेको आज २४ औं दिन भइसकेको छ। उनको स्वास्थ्य नाजुक बन्दै गइरहेको छ। तर, सरकारले भने अझैपनि उनको माग पूरा गर्न र जीवनरक्षाका लागि कुनै कदम चालेको छैन।

‘डा केसी व्यक्ति होईन् आवाज हो’, ‘केपी ओली सरकार मुर्दावाद’, ‘स्वास्थ्यमन्त्री मुर्दावाद’, ‘हाम्रो स्वास्थ्य हाम्रै हातमा’, ‘हामी डाक्टर केसीको साथमा’, ‘लुटतन्त्र बन्द गर, डा गोविन्द केसीको जीवन रक्षा गर’, ‘आवर रियल हिरो डा गोविन्द केसी’, ‘यहाँ राजदुतको चिन्ता छ हजुर, के तिमी सत्याग्रह सत्याग्रह कराउँछौ’, ‘नागरिक सरोकार विरोधी सरकार मुर्दावाद’, ‘मेडिकल माफियाको दादागिरी बन्द गर’, ‘डा गोविन्द केसीको माग पूरा गर’लगायतका नारा लेखिएको प्लेकार्ड सहित उनीहरूले प्रदर्शन गरेका छन्।

विरोध प्रदर्शनमा नेपाली कांग्रेसका नगरसभापति मनोज साह, जिवनाथ चौधरी, वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साह, क्विक रेस्पोन्स टिमका डा सज्जन ठाकुर, अनुष पाण्डेय, दिपक ठाकुर, बलराम गुप्ता, रमेश यादव, कांग्रेस नेतृ सम्झना वर्मा, मधेश अधिकार संघर्ष समितिका सरोज कुमार मिश्र, यानका राहुलराज साह, नेविसंघ महोत्तरीका जिल्ला नेता आशुतोष झालगायतका दर्जनौँ नेता कार्यकर्ताहरुको सहभागिता रहेको थिए।

डाक्टर केसीले चिकित्सा शिक्षा सुधारलगायतका मागसहित भदौ २९ गते जुम्लाबाट १९ औँ अनशन शुरु गरेका थिए। उनलाई असोज ६ गते काठमाडौं लगिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell