PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

मैथिली लोकगीतलाई नयाँ स्वरुप प्रदान गर्दै प्रवेश



सुमित मिश्र

मैथिली लोकगीतलाई नयाँ स्वरुप प्रदान गर्दै प्रवेश

जनकपुरधाम : प्रवेश मल्लिक मैथिली गीत संगीतको चर्चित नाम हो। जनकपुरधाममा जन्मेका मल्लिक छोटो समयमै बलिउडमा स्थापित हुन सफल भएका छन्। हिन्दी संगीत क्षेत्रमा समेत उनी स्थापित हुँदै गएका छन्। प्रवेश कामको सिलसिलामा हाल भारतको मुम्बई शहरमा बस्दै आएका छन्। उनी मुम्बईमा बसेपनि आफ्नो जन्मभूमिप्रति सदैव समर्पित रहेका छन्।

मैथिली गीत संगीतलाई अन्तर्राष्ट्रिय जगतमा स्थापित गराउन लागेका प्रवेशको घर नेपालमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ क्याम्पस चाैकमामा रहेको छ।

प्रवेशलाई संगीत विरासतमै मिलेको भन्दा फरक पर्दैन। उनका ठूलो दाइ सुनिल मल्लिक मैथिलीको प्रसिद्ध संगीतकार एवं गायक हुन्। प्रवेशको घरायसी वातावरण नै संगीतमय रहेको हुनाले प्रवेश बाल्यकालदेखि नै घरको संगीतमय माहौलमा हुर्किए र संगीत विधामा नै नाम बनाउने सपना देख्न थाले। तर, उनका बुवा कामेश्वर मल्लिकको इच्छा भने छोरा डाक्टर वा इन्जिनियर बनोस् भन्ने थियो।

वभनगामा विद्यालयबाट विद्यालय शिक्षा हासिल गरेका प्रवेश जनकपुरको मोनाष्टिक विद्यालयबाट उच्च माध्यमिक तहको पढाइ पूरा गरेका थिए। बुवाकै इच्छा अनुरुप कक्षा १२ को पढाइपछि डाक्टर बन्न एमबीबीएस अध्ययनका लागि बंगलादेशसम्म पुगेका थिए उनी।

प्रवेश परीक्षाका लागि बंगलादेश पुगेपनि सांगीतिक नशाले पछ्याउन छोडेन। संगीतको लगावले प्रवेशलाई पढाइतर्फ आकर्षित नै हुन दिएन। अन्तत: उनले फेरी बुवाको ‘डाँट’का बावजुद संगीतकै छायामा रह्ने निर्णय गरे। उनले निर्णय गरेपनि बुवाको दवाब भने कायमै थियो। त्यसपछि उनका बुवालाई मनाउन साहित्यकार अशोक दत्त अघि आए। त्यसपछि मात्र प्रवेशले औपचारिक रुपमा सांगीतिक यात्रामा सुरुवात गर्ने मौका पाए।

संगीतमा रुची घरबाटै शुरु भएपनि प्रवेशको सांगीतिक यात्रा इष्टमित्रहरुको संगतमै सुरुवात भयो। उनका मित्रहरु कृष्णा सिंह, घनश्याम मिश्र, ललित कामत लगायतले गीत लेख्थे। त्यसमा प्रवेशले संगीत भर्ने काम गर्थे। त्यसबखत नै सांगीतिक पुजारी प्रवेशले हालसम्म नै मैथिली भाषामा लोकप्रिय रहेको गीत ‘छौरा तोरा बज्जर खसतौ’, ‘मैयाँ भवानी बिन्ती सुनु’, ‘हम्मर ध्क्क धक्की बढैया’का साथै नेपाली गीति एल्बम ‘मुटुभरी माया’सहित दर्जनौं एल्बममा संगीत तथा आवाज दिइसकेका थिए।

सन् २००० मा मल्लिक संगीतबारे थप अध्ययन गर्न दिल्ली पुगे उनी। सन् २०१३ सम्म उनीले दिल्लीस्थित गन्धर्व विश्वविद्यालयमा संगीत सिके। विश्वबिद्यालयबाट संगीत शिरोमणी र स्नातकोत्तर समेत गरे।

दिल्लीमा अध्ययनरत रहेका बेला प्रवेश खर्च जुटाउन धार्मिक जागरणमा लाग्थे। जागरणबाट ५०० रुपैयाँ पाउँथे। १०० रुपैयाँ किबोर्ड किन्न जम्मा गर्थे। यद्यपि किबोर्ड पछि उनका बुवाले नै किनिदिए। जम्मा गरेको रकम आफैलाई काम लाग्यो।

दिल्लीमै रहँदा उनले सानिध्य बैण्ड स्थापना गरे। सानिध्य बैण्डकै माध्यमबाटै प्रवेशले देश विदेशमा कार्यक्रम,कन्सर्टहरु गर्न थाले। संगीतसँगै प्रवेशको आवाजले समेत धेरैलाई आकर्षित गर्न थाल्यो। यससँगै उनी थप आय आर्जनका लागि दिल्लीको स्टेप बाइ स्टेप स्कुलमा संगीत शिक्षकको रुपमा काम समेत काम गरे। 

आफूलाई संगीत जगतमा स्थापित गर्ने प्रयास गरिहेकै समयमा उनको बिहे भयो अमृता मल्लिकसंग। बिहेपछि श्रीमती अमृतासंग पुनः दिल्ली फर्के प्रवेश। प्रवेशको संगीतको धेरै ठूलो प्रशंसक अमृताले सांगीतिक यात्रामा थप उडान भर्न मुम्बई जान सुझाव दिइन्। प्रवेश सपनाको नगरी मुम्बई पुगे।

केहीसमय अघि नेपाल आएका प्रवेशले भने, ‘दिल्लीमा स्थापित जीवन र काम भएपछि बिहे गरें। त्यो कसरी छोडेर मुम्बई जाउँ भन्ने कुराले पनि सताइरहेको थियो। यसै कनफ्युजनको बीच अमृताको कुरा मानेर मुम्बई प्रस्थान गरें।’

शुरुमा मुम्बई बस्न प्रवेशलाई निकै कठिनाइ भयो। चिनजानको कोही थिएन। यसबीच उनको भेट बलिउडका स्थापित निर्देशक प्रकाश झाको नजिकका सन्तोष मण्डलसँग भयो। त्यस समयमा प्रकाश झा गंगाजल फिल्मको दोस्रो भाग ‘जय गंगाजल’ बनाउँदै थिए। सन्तोषले प्रवेशलाई निर्देशक प्रकाश झासँग भेटाए।

भेटघाटपछि झाले प्रवेशलाई ३ दिनको समय दिई ६ वटा गीत बनाउन दिए। प्रवेशले भने १८ वटा गीत बनाइ दिए। १८ वटा गीतमध्ये १२ वटा गीत छनौट भयो। प्रवेशले दिएका गीत ‘डन्का उसका बाजेगा’, ‘सैया धिरे धिरे’ लगायतका गीत बलिउडको पर्दामा हिट भयो। त्यो गीतसंगै प्रवेशको बलिउड यात्रा आरम्भ भयो। त्यसपछि प्रवेशले ‘बरेलिकी बर्फी’, ‘जावरिया जोडि’, ‘तानाशाह’, ‘तकलेश्वर’मा काम गरे। नेपाली फिल्ममा समेत उनको गीत ‘आइ एम भेरी सरि’ लगायतले धमाल मचायो।

मैथिलीमा आधुनिक्ता खोज्दै 

मैथिली गीत संगीत समृद्ध रहेपनि यसले बजार भने अहिलेसम्म आशा गरे अनुरुप पाउन सकेको छैन। त्यसैले मैथिली गीत संगितलाई देश बाहिर र भित्रै पनि प्रचार प्रसार गर्ने उद्देश्य राखेका छन् मल्लिकले। आफ्नो माटोको संगीतमा आधुनिकता थप्ने जिम्मेवारी सहित। उनले पछिल्लो समय मैथिलीका लोकगीतहरुलाई नयाँ धुनमा ढालेर श्रोता एवं दर्शक समक्ष ल्याउँने जमर्को गरिरहेका छन्।

बिहीवार मात्रै मैथिलीको लोक नृत्य एवं गीत ‘जटजटिन’लाई मल्लिकले नयाँ धूनमा ढालेर आफ्नो संगीत र स्वर दिँदै सार्वजनिक गरेका थिए। जटजटिन नृत्य एवं गीत पहिल्यैदेखि नै मिथिला समाजमा प्रसिद्ध भएपनि सो गीतलाई जीवन्त बनाउने उद्देश्यले निर्माण गरिएको नयाँ गीत युवा पुस्ताले समेत रुचाई रहेका छन्।

नयाँ धूनमा तयार पारिएको सो गीतमा प्रवेश मल्लिक एवं नेहा प्रियदर्शनीले स्वर दिएका छन्। यस अघि तयार पारिएको जटजटिन गीतमा मैथिलीका प्रसिद्ध गायक सुनिल मल्लिक, आभाष लाभ र रश्मी झाले स्वर दिएका थिए। सो गीत पनि उत्तिकै हिट भएको थियो।

यसअघि मल्लिकले परदेशिया, जुलुम करे ना लगायतका मैथिलीका लोकगीतहरुलाई नयाँ धून दिएर युट्युवमा सार्वजनिक गरिसकेका छन्। ‘ई छै जनकपुर’ भन्ने बोलको भिडियो गीत तराई मधेशमा निकै चर्चा पाएको थियो । 

मैथिली गीत संगीतलाई विश्वस्तरमा नै स्थापित गर्ने उद्देश्यसहित लोकगीतहरुलाई नयाँ धून दिएर आफूले सजाउने कार्य गरिररहेको मल्लिकको भनाइ छ।

उनले भने, ‘युवाहरु अहिले वेस्टर्न संगीतमा रमाई रहेका छन्। यस अवस्था मैथिली गीतप्रति पनि युवाहरुको झुकाव बढाउन आफूले यी गीतहरुलाई नयाँ स्वरुप दिएको हुँ।’

यद्यपि, आफ्नो नयाँ प्रयासलाई ‘रिमिक्स’को संज्ञा नदिन उनको आग्रह छ। 

मैथिली लोकगीतहरु युवा पुस्ताहरुबाट टाढिँदै गइरहेको समयमा युवा पुस्तालाई मैथिली लोक गीतसँग जोड्नका आफ्ना अधिकांश गीतहरु लोक गीतमै केन्द्रित रहेको उनको भनाइ छ। उनले आफ्नो माटो पानीको आभाष दिलाउन तथा अपनत्व महसुस गराउनका लागि लोकभाकाहरु मै केन्द्रित हुने स्पष्ट पारे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell