जनकपुरधाम : प्रदेश २ मा शुक्रवार थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, शुक्रवार प्रदेशमा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ।
गौर अस्पताल रौतहट, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा ६ महिला र ३७ पुरुष गरी कुल ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय झाले जानकारी दिए।
योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ५७ पुगेको छ। शुक्रवार प्रदेशको पर्सा जिल्लामा सबै भन्दा बढी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, सप्तरी, बारा, रौतहटमा ७/७ जना, महोत्तरीमा ५ जना, धनुषामा ३ जना र सिरहामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशक झाले जानकारी दिए।
यस्तै, शुक्रवार प्रदेशका १ सय ३९ पुरुष र ३१ महिला गरी कुल १ सय ७० जना कोरोना जितेर घर फर्केका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या ११ हजार ७ सय पुगेको छ। जसमा १० हजार १ सय ७ पुरुष र १ हजार ५ सय ९३ महिला रहेका छन्।
थप तीन जनाको मृत्यु, मृतकको संख्या १४७ पुग्यो
पछिल्लो २४ घण्टामा प्रदेशमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ। शुक्रवार मृत्यु हुनेहरुमा सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ६ राजगढका ७० वर्षीय पुरुष, सप्तरीकै रुपनी गाउँपालिका घर भई काठमाडौंमा गराएका ३६ वर्षीय पुरुष र सिरहाको लहान नगरपालिका वडा नम्बर ६ घर भई पाटन अस्पताल ललितपुरमा उपचार गराएका ४८ वर्षीया महिला रहेको निर्देशक झाले जानकारी दिए।
योसँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४७ पुगेको छ। जसमा १ सय २२ पुरुष र २५ महिला रहेका छन्।
हालसम्म सबै भन्दा बढी प्रदेशको पर्सा जिल्लामा ४५ जना कोरोना संत्रमितको मृत्यु भएको छ। यस्तै, सप्तरीमा १९ जना, बारा र धनुषामा १८/१८ जना, सिरहा र महोत्तरीमा १५/१५, सर्लाहीमा ९ जना, रौतहटमा ७ जना र १ जना भारतीय नागरिकको कोरोना संक्रमणका कारण प्रदेश २ मा मृत्यु भएको छ।