जनकपुरधाम : प्रदेश २ मा शनिवार थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गौर अस्पताल रौतहट, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा गरिएको परीक्षणमा १० महिला र ५३ पुरुष गरी कुल ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय झाले जानकारी दिए।
योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार १ सय २० पुगेको छ। शनिवार प्रदेशको पर्सा जिल्लामा सबै भन्दा बढी ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै सिरहामा ७ जना रौतहट र सर्लाहीमा ६÷६ जना, धनुषामा ५ जना, बारामा ४ जना र महोत्तरीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशक झाले जानकारी दिए।
यस्तै शनिवार प्रदेशका ८१ पुरुष र ३ महिला गरी कुल ८४ जना कोरोना जितेर घर फर्केका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या ११ हजार ७ सय ८४ पुगेको छ। जसमा १० हजार १ सय ८८ पुरुष र १ हजार ५ सय ९६ महिला रहेका छन्।