
जनकपुरधाम : धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारीहरुको आन्दोलन जारी छ। उनीहरुले विगतमा गरेका सम्झौता कार्यान्वयन नभएको भन्दै आकस्मिक बाहेकका सबै सेवाहरु ठप्प पारेका छन्।
कर्मचारीहरुको निरन्तरको आन्दोलनका कारण मेडिकल कलेजको आकस्मिक बाहेकका सबै सेवाहरु विगत करिब दुई हप्तादेखि ठप्प भएको हो। कर्मचारीहरुले कलेज प्रशासनविरुद्ध धर्ना बसेपछि आकस्मिक बाहेकका सबै सेवाहरु ठप्प भएको कर्मचारी हकहित संरक्षण संघर्ष समितका संयोजक उमेश यादवले जानकारी दिए।
कलेज प्रशासनले विगतमा गरेका सम्झौताहरु अझै कार्यान्वयन नगरेको भन्दै कर्मचारीले आकस्मिक बाहेकका सबै सेवाहरु असोज १२ गतेदेखि नै ठप्प गरेका हुन्। कर्मचारीहरु कलेजले आफूहरुको विगत ६ वर्षदेखिको सञ्चय कोष, पाँच वर्षको दशैँ खर्च र नियमित तलब भत्ता दिनुपर्नेलगायतका मागहरु राख्दै धर्नामा बसेका छन्।
विगतमा पटकपटक गरिएका सहमतिहरु अस्पताल पक्षले कार्यान्वयन नगरी उल्टै प्रहरी प्रशासन लगाएर आफूहरुलाई धम्काउने गरेकाले बाध्य भएर आन्दोलनमा उत्रनु परेको संयोजक यादवको भनाइ छ।
यसअघि भदौ १५ गते उनीहरुले कलेजको शैक्षिक प्रशासनमा तालाबन्दी समेत गरेका थिए। भदौ २६ गते मेडिकल प्रशासनका बरिष्ठ अधिकृत दयानन्द झाले कर्मचारीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएपछि ३१ गते दुवै पक्षबीच छलफल भई ३ बुँदे सहमति भएको थियो।
सहमति अनुसार असोज १ गतेदेखि कलेजको ताला खोली सेवा सञ्चालन गर्ने, असोज ४ गते हरहिसाब गर्ने र असोज ३० गतेभित्र कर्मचारीको सबै समस्या समाधान गर्ने गरी कलेज प्रशासन र कर्मचारीले सहमति पत्रमा हस्ताक्षर गरेका थिए।
तर, सहमति अनुसार कार्यान्वयन गर्नुपर्नेमा कलेज प्रशासनले हरहिसाब नै नगरी उल्टै असोज ११ गते संघर्ष समितिका संयोजक यादवलाई पूर्वाग्रही तरिकाले स्पष्टीकरण सोधेपछि १२ गतेदेखि जानकी मेडिकल कलेज शिक्षण अस्पताल रमदैयाका १ सय १५ जना कर्मचारी आकस्मिक बाहेकका सबै सेवा बन्द गरी निरन्तर धर्नामा बस्दै आएका छन्।