PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

प्रदेश २ मा अनुसन्धान ब्युरोसम्बन्धी विधेयक सर्वसम्मतले पारित, प्रदेशलाई आफ्नै ब्युरो गठन गर्ने बाटो खुल्यो



सुमित मिश्र

प्रदेश २ मा अनुसन्धान ब्युरोसम्बन्धी विधेयक सर्वसम्मतले पारित, प्रदेशलाई आफ्नै ब्युरो गठन गर्ने बाटो खुल्यो

जनकपुरधाम : लामो समयपछि बसेको प्रदेश २ को प्रदेश सभा बैठकले प्रदेश अनुसन्धान ब्युरोको स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतले पारित भएको छ। गत असार ३१ गतेपछि बसेको प्रदेशसभा बैठकले सदनमा २०७६ चैत ६ गते पेश भएको विद्येयक सर्वसम्मतले पारित गरेको हो।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले २०७६ चैत ६ गते प्रदेश सभामा पेश गरेको उक्त विद्येयक २०७७ असार २२ गते  सैद्धान्तिक छलफलका लागि प्रस्तुत गरिएको थियो। विधेयक पारित भएसँगै प्रदेश २ सरकारले आफ्नो अनुसन्धान ब्युरो गठन गर्न सक्नेछ।

सो विधेयकले प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि कानुनको रुप लिने छ। प्रदेश सरकारले आफ्नै अनुसन्धान ब्युरो गठन गर्नका लागि यो विधेयक ल्याएको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए।

प्रदेशभित्र शान्ति सुरक्षा तथा सुव्यवस्था कायम राख्नुका साथै आवश्यक सूचना संकलन गर्ने उद्देश्यका साथ आफ्नै अनुसन्धान ब्युरो गठन गरिने प्रदेश सरकारले जनाएको छ। विधेयकमा प्रदेशभित्र शान्ति सुरक्षा तथा सुव्यवस्था कायम राखी प्रदेशको हित तथा विकास, औद्योगिकरण, व्यापार व्यवसाय प्रवर्द्धन गर्न ब्युरोले सूचना संकलन गरी प्रशोधन गर्ने भनिएको छ।

यसका साथै विधेयकमा प्रदेशका मन्त्रिपरिषद्ले कुनै खास विषयमा अनुसन्धान गर्न निर्देशन दिएमा ब्युरोले अनुसन्धान गरी प्रतिवेदन पेश गर्ने व्यवस्था गरिएको छ। प्रदेशभित्र शान्ति सुरक्षा कायम तथा आपराधिक गतिविधि नियन्त्रण गर्न ब्युरोले मद्दत गर्ने मन्त्री यादवले बताए।

ब्युरो गठन भइसकेपछि अपराध नियन्त्रण तथा पूर्वसूचना संकलनमा सहयोग हुने मन्त्री यादवको भनाइ छ। प्रदेश २ को प्रदेश सभा बैठक भोलि सोमवार १ बजे सम्मका लागि स्थगित गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell