
जनकपुरधाम : प्रदेश २ मा आइतवार थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
गौर अस्पताल रौतहट, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराज र नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा गरिएको परीक्षणमा २० महिला र ४९ पुरुष गरी कुल ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय झाले जानकारी दिए।
योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार १ सय ८९ पुगेको छ। आइतवार प्रदेशको सप्तरी जिल्लामा सबै भन्दा बढी ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै, सिरहामा ११ जना, बारामा ९ जना, रौतहटमा २, पर्सा र धनुषामा १/१ जना र अन्य प्रदेशका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशक झाले जानकारी दिए।
यस्तै, आइतवार प्रदेशका २४५ पुरुष र १७ महिला गरी कुल २६२ जना कोरोना जितेर घर फर्केका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या १२ हजार ४६ पुगेको छ। जसमा १० हजार ४ सय ३३ पुरुष र १ हजार ६ सय १३ महिला रहेका छन्।