PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

कोभिड १९ र मौसमी फ्लूको 'ककटेल'ले ‘ट्वीनडेमिक’ : कसरी जोगिने यो कहरमा?



स्वेच्छा राउत

कोभिड १९ र मौसमी फ्लूको 'ककटेल'ले ‘ट्वीनडेमिक’ : कसरी जोगिने यो कहरमा?

काठमाडौं : गौशालाका उमेश कार्कीलाई एकाएक घाँटी दुख्न थाल्यो। पत्रकार पेशाका उनी नियमित फिल्डमा खटिएका थिए। सोचे धुलोको एलर्जी भयो। बिस्तारै रुघा खोकी थपिँदा, उनलाई लाग्यो – मौसम परिवर्तनको असर पर्‍यो। त्यसपछि उनलाई छाती पनि बेस्सरी दु:ख्न थाल्यो। खल्खल्ती पसिना बग्यो। शरीर गल्यो। थला परे।

त्यसपछि कोरोना भाइरसको संक्रमण आशंका नगर्ने ठाउँ रहेन। एक निजी ल्याबमा गएर उनले स्वाब परीक्षणका लागि दिए।

भोलिपल्ट रिपोर्ट आयो – नेगेटिभ। प्राय लक्षण कोभिड-१९ सँग मिल्दो भएर पनि नतिजा नेगेटिभ आउनु उनका लागि विश्वसनीय थिएन।

काठमाडौंमा संक्रमित संख्या धमाधम बढ्दो थिए। मृत्यु हुनेको संख्या पनि थपिँदो थियो। उनको डर ह्वात्तै बढ्यो। त्यसैले पुन: परीक्षण गराउनु पर्छ कि? परामर्शका लागि अस्पताल गए।

त्यहाँ डाक्टरले उनलाई टाइफाइड भएको बताए।

‘मेरो त होस नै उड्यो। कोरोना, कोरोना भन्दै परीक्षणका लागि कुदेँ। अन्त्यमा टाइफाइड भएको रहेछ,’ उमेशले आफ्नो अनुभव सुनाएँ, 'उपचारका लागि अबेर गरेको भए धेरै ढिला हुने रहेछ।'

एउटा भाइरसको संक्रमणबाट जोगिन सतर्क रहँदारहँदै अर्को संक्रामक रोगको मारमा परे उनी। ‘धन्न कोरोना रहेनछ भन्ने अवस्था नै थिएन। आवश्यक औषधी लिएर फर्किएँ,’ उमेशले भने।

बौद्धका विष्णु थापाको शरीरको तापक्रम एक सय दुई फोरेनहाइट पुग्यो। उनलाई रुघा खोकी पनि लागेको थियो। कोरोना संक्रमणको शंका लागेर गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आयो। नेपाल प्रहरीमा कार्यरत् उनी ७ दिनमा स्वस्थ भए। र, काममा फर्किए।

'लक्षण मिल्दो भएर एक साता त्रासमा बसें। आखिरमा संक्रमण होइन रहेछ,' उनले भने, 'अब अहिले सतर्क हुँदाहुँदै पनि कताबाट संक्रमण सल्कने हो भन्ने कुराको डर लागिरहन्छ।'

कोरोना भाइरस संक्रमण कि मौसमी रुघा/ खोकी?

‍हिउँद लाग्दैछ। वर्षेनी लाग्ने इन्फ्लूएन्जा (फ्लू)को मौसम आउँदैछ। सामान्यतया नोभेम्बरदेखि मार्चसम्म फ्लू सक्रिय देखिन्छ। फ्लूका कारण मानिसहरूलाई एक सातादेखि १० दिनसम्म ज्वरो आउँछ। त्यस्तै सुख्खा खोकी लाग्छ। घाँटी खसखसाउँछ। टाउको दुख्छ र शरीर गल्छ।

यो वर्ष फ्लूको जोखिमबीच कोरोना भाइरस संक्रमण पनि फैलिँदो छ। त्यसैले जोखिम दोहोरो छ।

फ्लू र कोभिड-१९ को संक्रमण दुवैले स्वास प्रस्वासमा समस्या निम्त्याउँछ। विश्व स्वास्थ्य संगठनले यी दुवैको संक्रमण एकसाथ फैलिएको अवस्थामा जन स्वास्थ्यसेवा प्रणाली कमजोर भएका देशका मानिसमा नकारात्मक असर पार्ने चेतावनी दिएको छ।

नेपालमा कोभिड-१९ संक्रमितको संख्या एक लाख नाघ्नु अघि आइसीयू तथा भेन्टिलेटरको अभाव सुरु भइसकेको थियो। अस्पतालबाहेक होटल एवं विभिन्न सामुदायिक भवनहरूलाई आइसोलेसनका रुपमा प्रयोग गर्दा पनि संक्रमितहरू बस्ने ठाउँको अभाव देखिएको छ।

यस्तो अवस्था संक्रमण अनियन्त्रित भएपछि सिर्जित भएको होइन। गत चैत महिनाको अन्तिम साता, दुई जना कोरोना भाइरस संक्रमितको उपचार गराइरहेको शुक्रराज ट्रपिकल एवं सरुवा रोग अस्पतालमा जम्मा तीनवटा आइसीयू र दुई वटा भेन्टिलेटर थिए।

बिस्तारै सीमित संख्यामा आइसियू/ भेन्टिलेटर थपिए। तर, संक्रमण दर बढ्दै जाँदा थपिएका आइसीयू कम भए।

‘सुरुदेखि नै संक्रमितका लागि कोभिड विशेष अस्पताल नै बनाएर अघि बढेको भए संक्रमण ह्वात्तै बढ्ने सम्भावना कम हुन्थ्यो। तर, सम्भव नभएर हुनसक्छ सरकारले त्यसो गरेन,’ संक्रामक रोग विशेषज्ञ जनक कोइरालाले भने, ‘अब त अवस्था यस्तो आयो सरकारी, निजी वा मेडिकल कलेज लगायत सबै अस्पतालमा संक्रमितको उपचार गर्दा पनि आइसीयू पर्याप्त छैन।’

कोभिड-१९ विरुद्धको खोप बन्नु अघिसम्म सरकारले अक्सिजन, आइसीयू र भेन्टिलेटर व्यापक रुपमा बढाउनुपर्ने उनको तर्क छ।

यस्तो अवस्थामा इन्फ्लूएन्जा फैलिए के होला?

कोरोना भाइरसमा फ्लू सामेल हुँदा मृत्युदर ह्वात्तै बढ्छ

‘फ्लू र कोभिड-१९ को सह संक्रमण फैलिएको खण्डमा मृत्युदर बढ्ने तथ्य अनुसन्धानले प्रमाणित गरेको छ,’ संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले पहिलोपोस्टसँगको कुराकानीमा भने।

फ्लू वा कोरोना भाइरस? रोग पहिचानको चरणदेखि जटिलता सुरु हुन्छ। कोही कोरोना भाइरस संक्रमणलाई फ्लू सम्झेर परीक्षण वा उपचार समयमा गर्दैनन्। कोही फ्लूलाई कोरोना भाइरसको संक्रमण ठानेर त्रासमा रहन्छन्। कारण – दुवै भाइरसको प्रारम्भिक लक्षण उस्तै देखिनु। र, समस्या पहिचानका लागि ल्याब रिपोर्ट नै आवश्यक पर्नु।

त्यसबाहेक परीक्षणबाट प्रमाणित हुनुअघि सुँघ्ने र स्वाद थाहा पाउने शक्तिमा ह्रास आउनुलाई कोरोना भाइरस संक्रमणमा देखिने फरक लक्षण मानिएको छ। डाक्टर पुनका अनुसार नेपालका केही संक्रमितमा आँखाको डिल दु:ख्ने समस्या देखिएको छ, जुन फ्लूका बिरामीमा हुँदैन।

हाल देशको जनस्वास्थ्य सेवा कोरोना भाइरस संक्रमण केन्द्रित छ। कोरोनासँगै फ्लू पनि सामेल हुँदा अवस्था भयावह बन्छ। त्यसैले फ्लूविरुद्ध खोप उपलब्ध भएकाले उक्त खोपको प्रयोगमा जोड दिनुपर्ने तर्क राख्छन् डाक्टर पुन। उनका अनुसार ६ महिनाभन्दा माथिका हरेक उमेर समूहले वर्षेनी फ्लूविरुद्धको खोप लगाउन आवश्यक छ। तर, नेपालमा डायलासिस गराइरहेका जा दीर्घरोगीहरू बाहेक निकै कम मानिसले मात्र उक्त खोप प्रयोग गर्दै आएका छन्।

‘दुई फरक भाइरस सामेल हुँदा ‘ट्वीन्डेमिक’ निम्तन सक्छ। अर्थात् दुई फरक भाइरसले एकसाथ निम्त्याउने महामारी,’ डाक्टर पुनले भने, 'फ्लूले यसै पनि बेला बखत् नेपालमा धेरैको ज्यान लिएकै छ। कोरोनाको नभए पनि फ्लूको त खोप छ। त्यसैले सम्भावित मृत्युदर कम गर्ने हो भने हामीले त्यो खोपको प्रयोग गर्नुपर्ने समय आयो। अन्य देशमा उक्त खोपको प्रयोग नौलो होइन।'

उनका अनुसार नेपालमा नोभेम्बर, डिसेम्बरबाट सुरु हुने मौसमी फ्लूले मार्चमा उचाई लिन्छ। त्यस समयसम्म कोरोना भाइरसको संक्रमण नरोकिएको खण्डमा अवस्था घातक हुनसक्ने पुनको भनाइ छ। त्यसैले फ्लूविरुद्ध उपलब्ध खोप लगाउन सुझाव दिन्छन्। फ्लूविरुद्ध फरक खालका खोपहरू निजी तथा प्राइभेट अस्पताल वा क्लिनिकहरूमा पाइन्छन्।

खोप लगाउँदा दुई वटा संक्रमणले एकसाथ निम्त्याउन सक्ने जटिलता कम हुने उनको कथन छ। विशेष गरी वृद्धवृद्धा, गर्भवती महिला र बालबालिका जोखिम समूहमा रहेको बताए।

चीनमा गरिएको अध्ययनले मौसमी फ्लू र कोरोना भाइरसको सह संक्रमणले धेरै मानिसलाई आइसीयूमा पुर्‍याएको देखाएको छ।

फ्लू हुनै नदिनका लागि यसविरुद्धको भ्याक्सिन प्रयोग गरिन्छ। जसले फ्लू लाग्नै दिँदैन भन्ने होइन। तर, सम्भावित जोखिम कम गर्छ। खोपले कोही मानिस भेन्टिलेटरमा वा आइसीयूमा राख्नु पर्ने स्थिति छ भने सामान्य उपचार र औषधीबाटै ठीक हुने वा सामान्य उपचारका लागि भर्ना हुनुपर्नेहरू घरमै रहन सक्ने हुने डाक्टर पुनको दावी छ।

‘कोरोना भाइरस संक्रमण त मौसमी फ्लूजस्तै रहेछ’ भन्ने तर्कको पक्षमा उनी छैनन्। बरु मौसमी फ्लूलाई सामान्य नआँक्न सुझाव दिए। भने, 'संक्रमितमध्ये करिब ३ देखि ४ प्रतिशत व्यक्ति आइसीयूसम्म पुग्ने वा मृत्युसम्म भइरहेको छ। त्यो व्यक्ति हामीमध्ये जो कोही पनि हुनसक्ने भएकाले यस विषयलाई नजरअन्दाज गर्नु भएन।'

सयमा तीनदेखि चारजना संक्रमितको मृत्यु हुने प्रमाणित तथ्य हो। यस्तैबीच फ्लूको चपेटाले मृत्युदर दुईदेखि तीन गुणा ह्वात्तै बढ्ने भएकाले सजकता अपनाउन उनको सुझाव छ।

विश्वभर ‘ट्वीनडेमिक’को त्रास

‘ट्वीनडेमिक’पहिलो पटक न्यूयोर्क टाइम्समा प्रयोग भएको शब्द हो। गत अगस्ट १६ मा प्रकाशित एक सामाग्रीमा इन्फ्लूएन्जा र कोरोनाको दोहोरो महामारीलाई जनाउन उक्त शब्द उल्लेख गरिएको थियो।

न्युयोर्क टाइम्सले विज्ञ एल.जे ट्यानलाई शब्दको प्रारम्भिक प्रवर्तक भएको जनाएको छ। उनी खोप दर बढाउन काम गर्ने एक गैरनाफामुखि समूहका प्रमुख रणनीतिकार हुन्।

मौसमी फ्लू र कोरोना भाइरसको सह संक्रमणले निम्त्याउन सक्ने ‘ट्वीनडेमिक’ विश्वव्यापी तनाव बनेको छ। यस तनावलाई कम गर्न संयुक्त राष्ट्रसंघीय स्वास्थ्य एजेन्सीले पनि इन्फ्लूएन्जा विरुद्धको खोप कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गरेको छ।

विशेषगरी गर्भवती महिला, वृद्धवृद्धा, बालबालिका एवं दीर्घकालीन स्वास्थ्य समस्यासहितका मानिसहरू जोखिममा छन्। उनीहरूलाई खोप लगाउन अत्यन्त महत्वपूर्ण भएको विज्ञहरू बताउँछन्। विश्व स्वास्थ्य संगठनको कोभिड-१९ नियन्त्रणका लागि जारी अन्तरिम निर्देशिकामा लेखिएको छ – फ्लूविरुद्धको खोप अभाव भएको खण्डमा स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई उच्च प्राथमिकतामा राखेर खोप लगाइनु पर्छ।

हालसम्म कोभिड-१९ विरुद्ध कुनै उपचार वा खोप उपलब्ध छैन। विभिन्न औषधी एवं विश्वभरका २ सयभन्दा बढी खोपहरू क्लिनिकल परीक्षणको चरणमा छन्।

‘खुशीको कुरा यो हो कि त्यहाँ खोपको माध्यमबाट फ्लूलाई रोक्न वा उपचार गर्न सकिने उपायहरू छन्। उपचारका लागि एन्टिभाइरलहरू छन्। जनस्वास्थ्य र सामाजिक उपायहरू मार्फत् कोभिड-१९ विरुद्ध काम गर्ने प्रयास भइरहेको छ। जसले यी दुवै भाइरस नियन्त्रणको उद्देश्य केही हदमा पूरा गर्छ, ’ डब्लूएचओकी इन्फ्लूएन्जा तत्परता र प्रतिक्रिया प्रमुख एन मोनले अल जाजिरासँग भनेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell