PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सप्तरीमा एक महिलाको हत्या गरी फरार रहेका तीन जना पक्राउ 



सुमित मिश्र

सप्तरीमा एक महिलाको हत्या गरी फरार रहेका तीन जना पक्राउ 

जनकपुरधाम : सप्तरीमा एक महिलाको हत्या गरी फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको तिरहुत गाउँपालिका मैनाकडरिका २१ वर्षीय अजय कुमार यादव, ५२ वर्षीय राधे भन्ने ओमप्रकाश यादव र कञ्चनपुर नगरपालिका-११ ठेलिया बस्ने ५५ वर्षीय बमबहादुर साहलाई प्रहरीले पक्राउ गरेको हो।

असोज १० गते राति आफ्नो घरमा एक्लै बसिरहेको अवस्थामा तिरहुत गाउँपालिका मैनाकडरीकी ५० वर्षीय दाईमन देवी यादवको हत्या भएको थियो। हत्यापश्चात उनीहरु गाउँमै लुकीछिपी बस्दै आएका थिए। तीनै जनालाई २ नम्बर प्रदेश प्रहरी कार्यालयले सप्तरी प्रहरीको समन्वयमा पक्राउ गरेको हो।

बमबहादुर साह तत्कालिक मधेस मुक्ति टाइगर्स भन्ने भुमिगत समूहमा संलग्न रही शिक्षक रामनारायण साहको हत्या अभियोगमा अदालतबाट ८ वर्ष जेल सजाय पूरा गरेर २ वर्षअघि मात्र हिरासतमुक्त भएका थिए।

२ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) धीरजप्रताप सिंहका अनुसार बमबहादुरले महिलालाई भुइँमा लडाएर डोरीले घाँटीमा कसेर हत्या गरेको र ओमप्रकाश र अजयले बाहिर कोही आउँछ कि भनेर रेक्की गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

मृतक महिलाको देवरानीसँग ओमप्रकाश यादवले अनैतिक सम्बन्ध राखेको दाईमन देवी यादवले थाहा पाएपछि रिसिईबी राखी हत्याको योजना बनाएको हुन सक्ने डीआइजी  सिंहले बताए। त्यस्तै, अजय यादव र मृतकबीच जग्गा विवाद समेत रहेको अनुसन्धानमा खुलेको छ। २ बिघा जमिन अजय यादवका बुबाले २०४७ सालदेखि जोतभोग गर्दै आएको र सोही विवादका कारण बाली नबुझाएको पाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell