PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रदेश २ कोरोना अपडेट : थपिए ४३ संक्रमित, १२६ जना डिस्चार्ज, २ जनाको मृत्यु



सुमित मिश्र

प्रदेश २ कोरोना अपडेट : थपिए ४३ संक्रमित, १२६ जना डिस्चार्ज, २ जनाको मृत्यु

जनकपुरधाम : प्रदेश २ मा सोमवार थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गौर अस्पताल रौतहट, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, र नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा गरिएको परीक्षणमा ११ महिला र ३२ पुरुष गरी कुल ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय झाले जानकारी दिए।

योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार २ सय ३२ पुगेको छ। सोमवार प्रदेशको धनुषा जिल्लामा सबै भन्दा बढी १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, पर्सामा १० जना रौतहटमा ८ जना, बारामा ६ जना, सप्तरीमा २ जना, सर्लाही र सिरहामा १/१ जना र अन्य प्रदेशका १ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशक झाले जानकारी दिए।

यस्तै, सोमवार प्रदेशका १ सय १८ पुरुष र ८ महिला गरी कुल १२६ जना कोरोना जितेर घर फर्केका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या १२ हजार १ सय ७२ पुगेको छ जसमा १० हजार ५ सय ५१ पुरुष र १ हजार ६ सय २१ महिला रहेका छन्।

थप २ जनाको मृत्यु, मृतकको संख्या १४९ पुग्यो

सोमवार प्रदेशमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ। सोमवार प्रदेशको रौतहट जिल्लाको गजुरा नगरपालिका वडा नम्बर १ की ९५ वर्षीय महिला र पर्साको वीरगंज महानगरपालिका वडा नम्बर २० हरपतगंजका ६७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

योसँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४९ पुगेको छ। हालसम्म सबैभन्दा बढी प्रदेशको पर्सा जिल्लामा कोरोना संक्रमणबाट ४६ जनाको मृत्यु भएको छ। यस्तै, सप्तरीमा १९ जना, धनुषा र बारामा १८/१८ जना, महोत्तरी र सिरहामा १५/१५ जना, सर्लाहीमा ९ जना, रौतहटमा ८ जना र एक भारतीय नागरिकको कोरोना संक्रमणबाट मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell