PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

हाजिर नहुँदै जनकपुरधामका प्रमुख प्रशासकीय अधिकृतले गराए आफ्नो सरुवा, किन टिक्दैनन् उपमहानगरमा अधिकृत?



सुमित मिश्र

हाजिर नहुँदै जनकपुरधामका प्रमुख प्रशासकीय अधिकृतले गराए आफ्नो सरुवा, किन टिक्दैनन् उपमहानगरमा अधिकृत?

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकामा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत हाजिर नहुँदै आफ्नो सरुवा गराएका छन्। असोज १ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ उपसचिवको सरुवा गरेको विनोद कुमार खड्कालाई जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मा दिएको थियोे। यद्यपि खड्का हाजिर नहुँदै यहाँबाट सरुवा भएका हुन्।

यता जनकपुरधाम उपमहानगरकी उपप्रमुख रिता कुमारी मिश्रले यहाँ सरुवा भएर आएका प्रमुख प्रशासकिय अधिकृत हाजिरै नभएको बताइन्।

‘यहाँ सरुवा भएर प्रमुख प्रशासकीय अधिकृत आएको मैले जानकारी पाएको थिएँ तर उहाँसँग मेरो भेट पनि भएन्, उहाँ कार्यालय समेत आउनु भएन’, उपप्रमुख मिश्रले भनिन्, ‘सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत निमित्त प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादवसँग फोनमा कुरा गरेर एक/दुई दिनमै हाजिर हुने बताउनु भएको थियो तर हाजिर नै  हुन भएन।’

उपप्रमुख मिश्रका अनुसार खड्काको हाजिर हुने बाटोको म्याद पनि गुज्रेको एक महिनाभन्दा बढी भइसकेको छ।

टिक्दैनन् उपमहानगरमा प्रशासकिय अधिकृत

खड्का स्थानीय सरकार गठन भएको ३ वर्षमा जनकपुर उपमहानगरपालिकाका ८ औँ प्रशासकिय अधिकृतको रुपमा आउन लागेका थिए। तर, उनी हाजिर नहुँदै सरुवा भएका छन्।

यसअघि जनकपुरधाम उपमहानगरपालिकामा पछिल्लो तीन वर्षमा आठ जना प्रमुख प्रशासकीय अधिकृत फेरिई सकेका छन्। उपमहानगरपालिकाको चुनाव ताका अर्जुन सुवेदी यहाँका प्रमुख प्रशासकीय अधिकृत थिए। त्यसपछि मदन घिमिरे, उमेश ढुंगाना, प्रदीप साह, सीता परियार, धर्मानन्द जोशी, गोपालप्रसाद रेग्मी र अहिले आएर विनोद कुमार खडका सरुवा गराएका छन्।

जनकपुरधाम उपमहानगरमा आएका सबै प्रमुख प्रशासकीय अधिकृतहरू बढीमा ७  महिनासम्म मात्र काम गरेका छन्। उपमहानगरमा आएका प्रमुख प्रशासकिय अधिकृतहरु काम गर्न नसकेको भन्दै सरूवा मागेर गए भने कतिलाई सरूवा गरियो। उपमहानगरमा चार महिना पनि नटिकेका पछिल्ला प्रमुख प्रशासकीय अधिकृत हुन्, गोपालप्रसाद रेग्मी। उनी झन्डै ७ महिनाअघि उपमहानगरको कार्यालयमा हाजिर भएका थिए।

उनले चैत, बैशाख, जेठ र असार पूरै महिना कार्यालयमा काम गरे। साउन ७ गते बिदामा बसे। असार मसान्त सकिएलगत्तै बिदामा गएका रेग्मी पुनः कार्यालयमा हाजिर हुन नै आएनन्, उतैबाट सरुवा गराए।

अहिले उनी मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनेर गएका छन्। रेग्मी साउनमा सरूवा गराएर गएपछि जनकपुरधाम उपमहानगरमा नयाँ प्रमुख प्रशासकीय अधिकृत कोही आएका छैनन्।

रेग्मीअघि प्रमुख कार्यकारी अधिकृत थिए, धर्मानन्द जोशी। उनी आज भन्दा करिब एक वर्षअघि जनकपुर आएका थिए।

सामान्य प्रशासन मन्त्रालयलाई आग्रह नै गरेर उनी सरूवा गराएर जनकपुरधाम उपमहानगरपालिकामा हाजिर भएका थिए। उपमहानगरमा हाजिर हुँदा स्थानीय सरकारसँग मिलेर काम गर्ने सोचेका जोशीले दुई–चार दिन मेयरलगायत जनप्रतिनिधिको राम्रो सहयोग पाए।

उनी हाजिर भएको १०/१५ दिन भएपछि नगरप्रमुख लालकिशोर साहसँग खटपट सुरू भयो। सामान्य दर्ता चलानीको काम गर्दा पनि आफूलाई नराम्रो व्यवहार गरेको जोशी बताउँछन्।

जोशीले भने, ‘सामान्य दर्ता चलानीको काम गर्दा पनि अभद्र शब्द प्रयोग गरी बिना मेरो स्वीकृति दर्ता चलानीसमेत नगर्नु भन्दै चेतावनी दिनुहुन्थ्यो मेयरसाहेबले।’ 

नगरप्रमुख साहले प्रमुख प्रशासकीय अधिकृतको गाडी आफ्नो निजी कामका लागि प्रयोग गर्न लैजाने गरेको पनि जोशी बताउँछन्।

‘मेयर साबको निर्देशनमा मेरो आवासबाट बिहान ५ बजे नै गाडी लगिन्थ्यो’, जोशीले भने, ‘मेरो कार्यालय जाने बेलासम्म गाडी आउँदैन्थ्यो। पछि यहि रबैया हेरेर गाडी छोडेर हिँडेरै कार्यालय जान थालेँ।’

चार महिना पनि काम गर्न नपाउँदै उनलाई जनकपुरधाम उपमहानगरबाट सरूवा गरी उदयपुरको बेलाका नगरपालिका पठाइयो। जोशी अहिले महोत्तरीको भंगहा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन्।

जोशी आउनुभन्दा अघि जनकपुरधामको प्रमुख प्रशासकीय अधिकृतको रूपमा सीता परियार थिइन्। उनी २०७५ सालको पुसतिर जनकपुर आएकी थिइन्। ०७६ असार सकिए लगत्तै उनले आफ्नो अन्तै सरूवा गराइन्।

उनी पनि करिब ७ महिना प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेर सरूवा भएकी थिइन्। नगरप्रमुख साहको अनावश्यक दखल अन्दाजीकै कारण बाध्य भई उनले पनि सरूवा गराएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell