जनकपुरधाम : सर्लाहीका महेन्द्र रामको मृत्यु प्रकरणमा सत्यतथ्य छानबिनको माग गर्दै नेपाली कांग्रेसले मलंगवामा बुधवार प्रदर्शन गरेको छ। जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शनमा प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्यास प्रहार गरेपछि दर्जनौँ व्यक्ति घाइते भएका छन्।
रामनगर गाउँपालिका-७ बस्ने महेन्द्र रामको मृत्यु प्रकरणमा सत्यतथ्य छानबिनको माग गर्दै प्रदर्शन गरिएको हो। प्रदर्शनमा प्रतिनिधिसभा सांसद अमरेशनारायण सिंह, नागेन्द्रकुमार यादव, प्रदेश २ नेपाली कांग्रेसका प्रमुख सचेतक उपेन्द्र कुश्वाहा, प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंह लगायतका नेता सहभागी थिए।
महेन्द्र राम हत्याको छानबिन र उजुरी लिन माग गर्दै जिल्ला प्रहरी कार्यालयमा शान्तिपूर्ण प्रदर्शनका लागि पुगे लगत्तै अन्धाधुन्ध अश्रुग्यास र लाठीचार्ज गरेको प्रदेशसभा सदस्य सिंहले बताए।
प्रदेशसभा सदस्य सिंहका अनुसार प्रहरीले हवाइ फायरसमेत गरेका दाबी गरेका छन्। प्रहरीको लाठी चार्जबाट ५० जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएको उनले जानकारी दिए।
सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले प्रदर्शन नरोके प्रतिनिधिसभा सदस्य अमरेशनारायण सिंहलाई हतकडी लगाएर थुन्ने धम्की दिएको उनले आरोप लगाए। कांग्रेसले घटनाका दोषीलाई कारबाही तथा मृतक रामलाई सहिद घोषणा गर्न माग गर्दै आइरहेको छ।
प्रदेश प्रहरी प्रमुख धिरजप्रताप सिंहले कांग्रेस कार्यकर्ता र प्रहरीबीच भएको झडपमा नेपाल प्रहरीका १५ र सशस्त्र प्रहरीका ४ जना घाइते भएको जानकारी दिएका छन्। घटनामा संलग्न देखिएका विजय महरा, विलासी महरा र रामप्रदेश महरालाई पक्राउ गरिएको सिंहले बताए।
रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माले नेकपा कार्यकर्ताले रामको हत्या गरेको आरोप लगाएका छन्। शुरुदेखि नेपाली कांग्रेसमा रहेका राम नेकपामा जान नमानेपछि उनको हत्या भएको वर्माको दाबी छ।
नेपाली कांग्रेसबाट निर्वाचित बर्माले प्रहरीले बाहिरका तीन जनालाई पक्राउ गरेर वास्तविक दोषीलाई जोगाउन खोजेको आरोप लगाएका छन्। यसअघि राम मृत्यु प्रकरणको विषयमा सत्यतथ्य छनबिन गर्न सोमवार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएको थियो।
प्रहरीले घटनाको छानबिन नगरेर पीडित परिवारको तर्फबाट जाहेरीसमेत लिन नमानेका प्रदेशसभा सिंहले आरोप लगाए। रामनगर-७ सिसौट बस्ने राममाथि गत २१ गते बेलुका आफ्नो घर अगाडि नै अज्ञात समूहले धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए।
सो आक्रमणमा परी गम्भीर घाइते भएका रामको गत असोज २२ गते उपचारको क्रममा इन्डो अस्पताल वीरगंजमा मृत्यु भएको थियो।