PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

किर्गिजस्तानमा राजनीतिक संकट : राष्ट्रपतिले राजीनामा दिएपछि प्रधानमन्त्रीलाई बनाइयो कार्यवाहक राष्ट्रपति



किर्गिजस्तानमा राजनीतिक संकट : राष्ट्रपतिले राजीनामा दिएपछि प्रधानमन्त्रीलाई बनाइयो कार्यवाहक राष्ट्रपति
प्रधानमन्त्री सादिर जापारोभ | Photo : AP Photo/Vladimir Voronin

किर्गिजस्तानका प्रधानमन्त्री सादिर जापारोभलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी दिइएको छ। राष्ट्रपति सूरोनबे जीन्बेकोभले राजीनामा दिएपछि बुधवारमात्रै प्रधानमन्त्रीमा नियुक्त भएका जापारोभलाई नयाँ जिम्मेवारी दिइएको हो।

किर्गिजस्तानमा हालै सम्पन्न संसदको निर्वाचनमा धाँधली भएको भन्दै देशव्यापी विरोध प्रदर्शन भइरहेको छ। प्रदर्शनका क्रममा विपक्षी दलका नेता र प्रदर्शनकारीले राष्ट्रपतिविरुद्ध पनि विरोध गरेका थिए। उनीहरुले जीन्बेकोभले राजीनामा दिनुपर्ने माग समेत राखेका थिए।

जापारोभका समर्थकहरुले प्रदर्शनले उग्र बनाउँदै लगेपछि हिंसा रोक्न भन्दै राष्ट्रपति जीन्बेकोभले बिहीवार राजीनामा दिने घोषणा गरेका थिए।

किर्गिजस्तानको संविधान अनुसार राष्ट्रपतिपछि देशको राष्ट्रप्रमुख बन्ने लाइनमा संसदको सभामुख छन्। तर प्रदर्शनकारीहरुको दबाबका कारण सभामुख कनट इसाएभले कार्यवाहक राष्ट्रपति बन्न अस्वीकार गरेपछि जापारोभलाई कार्यवाहक राष्ट्रपति बन्ने बाटो खुलेको हो।

जापारोभ जेलमा ११ वर्षको सजाय काटिरहेका थिए। संसदीय निर्वाचनको परिणाम अस्वीकार गर्दै भएको प्रदर्शनका क्रममा जापारोभका समर्थकले विभिन्न सरकारी कार्यालयहरुमा तोडफोड गरेका थिए। त्यसैक्रममा प्रदर्शनकारीहरुले जेलमा रहेका जापारोभका साथै अन्य विपक्षी नेताहरुलाई रिहा गरेका थिए।

कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी पाएका जापारोभले छिट्टै अर्को संसदीय निर्वाचनका साथै राष्ट्रपति निर्वाचन गर्ने घोषणा गरेका छन्। तर उनले निर्वाचन मिति भने सार्वजनिक गरेका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell