PahiloPost

Oct 26, 2020 | १० कात्तिक २०७७

कांग्रेसले माग्यो संसद्को विशेष अधिवेशन, देउवाको आरोप, 'कोरोनासँग लडिरहेका जनताबारे सरकार बेखबर'



कांग्रेसले माग्यो संसद्को विशेष अधिवेशन, देउवाको आरोप, 'कोरोनासँग लडिरहेका जनताबारे सरकार बेखबर'

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस संक्रमण नियन्त्रण बाहिर जान नदिनका लागि सो विषयमा गम्भीर छलफल गर्न संघीय संसदको विशेष अधिवेशन बोलाउन माग गरेको छ।

काँग्रेसको कोभिड—१९ अनुगमन समितिले कोरोना महामारीका कारण मुलुकमा मानवीय र आर्थिक संकट गहिरिँदै गएको र सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै यस विषयमा छलफल गर्न संसदको विशेष अधिवेशन बोलाउन माग गरेको हो।

समितिले अहिलेसम्म गरेका गतिविधि र अनुगमनका निष्कर्ष तथा सुझाव पार्टी सभापति शेरबहादुर देउवामार्फत केन्द्रीय कार्यसमितिलाई अवगत गराउन आज सभापति देउवालाई अनुगमन प्रतिवेदन हस्तान्तरण गरेको छ। सो अवसरमा सभापति शेरबहादुर देउवाले सरकार जनताको पिरमर्का प्रति बेखबर रहेको बताएको पार्टीका सहमहामन्त्री एवं समिति संयोजक डा. प्रकाशशरण महतले बताए।

सभापति देउवाले कोरोना महामारी फैलिरहेको भएपनि सरकारले भेन्टिलेटर, आइसोलेसन र औषधिको पर्याप्त व्यवस्था गर्न नसकेको भन्दै विशेष संसद बोलाएर उक्त विषयमा छलफल गराउनुपर्ने र कोरोना संक्रमण रोक्न विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन्।

समितिले कोरोना संक्रमणको जोखिमलाई व्यवस्थापन गर्न क्वारेन्टाइन, आइसोलेसन, अक्सिजन, भेन्टिलेटर, यथेष्ट संख्यामा अस्पताल बेड, अत्यावश्यक औषधिको आपूर्ति सहज गर्न तथा आवश्यक स्वास्थ्यकर्मीको अविलम्व व्यवस्था गर्न समेत माग गरेको छ।

यस्तै, आइसोलेसनमा बस्ने व्यवस्था नभएका संक्रमित नागरिकका लागि आवश्यक आइसोलेसनको व्यवस्था र अस्पतालको उपचार चाहिने संक्रमितको तत्काल सस्तो र सुलभ अस्पतालको व्यवस्था सुनिश्चित गर्न पनि माग गरिएको छ। कोरोनाबाट अति प्रभावित गरिब परिवारलाई चाड पर्वको समय समेतलाई दृष्टिगत गर्दै हरेक परिवारलाई निश्चित आर्थिक सहयोग रकम सिधै हस्तान्तरण गर्ने व्यवस्था मिलाउन समेत माग गरिएको सहमहामन्त्री डा. महतले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell