PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

आफ्नै अस्तित्व खोजिरहेको रामायण भवनः अक्षय कोषको रकम हिनामिना, बजेट छुट्टाइन्छ काम हुँदैन



सुमित मिश्र

आफ्नै अस्तित्व खोजिरहेको रामायण भवनः अक्षय कोषको रकम हिनामिना, बजेट छुट्टाइन्छ काम हुँदैन

जनकपुरधाम: जनकपुरधामका अधिकांश स्थलको सम्बन्ध राम र सीतासँग जोडिएका छन्। सीता, राम र रामायणसँग सम्बन्धित विभिन्न मठ मन्दिर समेत यहाँ रहेका छन्। सोही मध्ये जनकपुरधामस्थित राम मन्दिरको ठिक अगाडि धनुष सागर पोखरीको डिलमा रहेको रामायण भवन समेत पर्छ।

शहरको प्रमुख क्षेत्रमा नै रहेको जनकपुरधामको ऐतिहासिक रामायण भवन अहिले आफ्नै अस्तित्व खोजिरहेको छ। रामचरित मानस आउने युवा पुस्तामा समेत हस्तान्तरण गर्ने उद्देश्यले निर्माण गरिएको रामायण भवन संरक्षण अभावमा जीर्ण हुँदै गइरहेको छ।

तुलसी दासद्वारा रचित रामचरित मानस लेखिएको सो भवनको संरक्षणतर्फ कुनै निकायले ध्यान दिन नसक्दा अस्तित्व नै मेटिने खतरा बढेको स्थानीय बताउँछन्।

धनुष सागर पोखरीको डिलमा रहेको रामायण भवनको भित्री भित्तामा रामचरित मानस लेखिएको छ। यस्तै, सीता-रामको विवाहसँग सम्बन्धित तस्बिर समेत भवनको भित्तामा कुँदिएका छन्। हाल भित्ता चर्किँदा कुँदिएका शब्द र तस्बिर नबुझिने भएका छन्।

केही वर्ष अगाडिसम्म रामायण भवन श्रद्धालु भक्तजनहरूको लागि आकर्षणको केन्द्र थियो। जनकपुरधाम आउने पर्यटक जानकी मन्दिर, राम मन्दिर, राजदेवी मन्दिरमा पूजा गरेपछि रामायण भवनमा समेत पूजा आराधनाका लागि पुग्ने गर्थे।

पछि सत्य साई केन्द्र नामक संस्थाले सो भवन कब्जा गरेपछि भक्तजन त्यहाँ जान छोडेको स्थानीय बताउँछन्। अहिले सो भवन सर्वसाधारणका लागि बन्द गरिएको छ।

सत्य साई केन्द्रले रामायण भवनमा कब्जामा लिएपछि गौ संरक्षण मञ्चका अध्यक्ष जगदीश महासेठले अभियान चलाएर भवन खाली गराउन सफल भएका थिए।

महासेठले भने ‘रामायण भवनमाथि गरिएको कब्जा हटाउन प्रशासनलाई सुरुमा गुहार्‍यौँ तर प्रशासनले चासो नलिएपछि पुनरावेदन अदालत पुगेका थियौँ। अदालतले सत्य साई केन्द्रलाई हट्न आदेश सुनायो। हाम्रो अभियान सफल भयो।’

केन्द्रको कब्जाबाट रामायण भवन मुक्त भए पनि सो भवन जीर्ण भइरहेकोमा महासेठले चिन्ता व्यक्त गरे।

भने ‘जनकपुरधामलाई धार्मिक पर्यटनको केन्द्र बनाउने कुरो बेला बेलामा उठ्छ तर यहाँका धरोहर संरक्षण हुन सकेको छैन। यस्तो तरिकाले कसरी धार्मिक पर्यटनको केन्द्र बनाउने? यहाँ दर्जनौँ युवा क्लब छन् तर पूजा मेला आदिको समयमा मात्रै सक्रिय रहेको देखिन्छन्। यी धरोहरहरूको संरक्षणतर्फ समेत युवा क्लबहरूको ध्यान केन्द्रित हुनुपुर्छ।’

अक्षय कोषको अत्तोपत्तो छैन

रामायण भवनको नाउँमा काठमाडौँमा अक्षय कोष पनि रहेको छ। सो कोषमा ३ करोड ३ लाख रुपैयाँ रहेको बताइन्छ। सो रुपैयाँकै ब्याजबाट पनि रामायण भवनको जीर्णोद्धार गर्न सकिने मञ्चका अध्यक्ष महासेठले बताउँछन्। तर अक्षय कोषमा रहेको रकमको विषयमा अहिलेसम्म जनकपुरधामबासी समक्ष सार्वजनिक नगर्नुले सो पैसामा समेत अनियमितता भएको हुन सक्ने उनले आशंका व्यक्त गरे।

रामायण भवनको नाउँमा रहेको ११ बिघा जग्गा बेचेर सो अक्षय कोष खडा गरिएको थियो। रामायण भवनको नाउँमा धनुषाको धारापानीमा रहेको ११ बिघा जग्गामा नेपाली सेनाले क्याम्प निर्माण गरेपछि सो जग्गा सेनाले नै खरिद गरेको थियो।

नेपाली सेनाले सो जग्गा ४ करोडमा खरिद गरेको थियो। सोही ४ करोड रुपैयाँको काठमाडौँमै अक्षय कोष खडा गरिएको थियो तर अहिले अक्षय कोषमा ३ करोड ३ लाख रुपैयाँ मात्रै रहेको जानकारी दिँदै महासेठले बाँकी ९७ लाख रुपैयाँको हिनामिना भइसकेको आरोप लगाए।

यता, अक्षयकोषको विषयमा गुठी संस्थान जनकपुरधामका प्रमुख वैकुण्ठ रेग्मीलाई सोध्दा उनले आफूलाई कुनै जानकारी नरहेको र काठमाडौँमा खाता रहेकोले केन्द्रीय गुठी कार्यालयकै संरक्षणमा त्यो अक्षय कोष भएको हुनसक्ने बताए।

गायब रहेको बाँकी ९७ लाख रुपैयाँको विषयमा समेत उनले अनभिज्ञता प्रकट गरे।

भने ‘अक्षय कोष र अक्षय कोषको बाँकी ९७ लाख रुपैयाँ कहाँ गएको विषयमा केही जानकारी छैन। त्यो समयका कुनै कर्मचारी पनि कार्यालयमा अब कार्यरत नरहेकाले यस विषयमा बिना जानकारी केही भन्न मिल्दैन।’

रामायण भवनको जीर्णोद्धारका लागि गुठी कार्यालय गम्भीर रहेको रेग्मीले बताए।

गुठी संस्थान जनकपुरधामका प्रमुख रेग्मीले रामायण भवनको जीर्णोद्धारका लागि गम्भीर रहेको प्रतिबद्धता जनाइरहँदा त्यसका लागि आएको रकमको सदुपयोग कार्यालयले गर्न नसकेको मञ्चका अध्यक्ष महासेठले आरोप लगाए।

उनका अनुसार २०७१ सालमा केन्द्रीय गुठी कार्यालयले रामायण भवनको जीर्णोद्धारका लागि २५ लाख रकम छुट्टाएको थियो। तर सो रकमको पनि अत्तोपत्तो छैन।

यता गुठी संस्थान जनकपुरधामका प्रमुख रेग्मीले जीर्णोद्धारका लागि २५ लाख रुपैयाँ बजेट छुट्टाइएको स्वीकार गर्दै सो रकम निकासा हुन नसकेकाले कार्य अगाडि बढाउन नसकिएको स्पष्ट पारे।

उनका अनुसार गत आर्थिक वर्षमा समेत रामायण भवनको जीर्णोद्धारका लागि ३० लाख रुपैयाँ बजेट छुट्टाइएको थियो। तर बजेट निकासा भएन। चालु आर्थिक वर्षमा समेत ३० लाख बजेट छुट्टाइएको छ। बजेट निकासा भएसँगै जीर्णोद्धारको काम अगाडि बढाइने प्रमुख रेग्मीले बताए ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell