PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कोरोना कहरबीच जनकपुरधाममा दशैंको रमझम, सिंगारिए शक्तिपीठ, मन्दिरमा भक्तजनको घुइँचो

कोरोना कहरबीच जनकपुरधाममा दशैंको रमझम, सिंगारिए शक्तिपीठ, मन्दिरमा भक्तजनको घुइँचो

सुमित मिश्र/पहिलोपोस्ट


जनकपुरधाम : दशैं आजबाट शुरु भएको छ। दशैंको पहिलो दिन जनकपुरधामको राजदेवी मन्दिर सहित  विभिन्न स्थानमा रहेका शक्ति पीठहरुहरुमा घटस्थापना गरिँदैछ।

जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिर, बौधी माई मन्दिर, मुरली चोकस्थित दुर्गा मन्दिर, रामानन्द चोकमा दशैंका लागि सिंगारिएको छ।

कोरोना संक्रमणको त्रासका कारण मन्दिर पुग्न छाडेका भक्तजनहरु दशैं शुरु भए लगत्तै मन्दिरमा पूजाका लागि पुगेका छन्। राजदेवी मन्दिरमा बिहानैदेखि भक्तजनहरु पूजा अराधनाका लागि पुगेका छन्। यद्यपि पछिल्लो वर्ष झैँ ययस वर्ष भीड भने देखिएको छैन।

राजदेवी मन्दिरमा नवरात्री पूजाका लागि सम्पूर्ण तयारी पूरा भएको छ। प्रत्येक वर्ष दशैंमा हजारौँको संख्यामा भीड हुने राजदेवी मन्दिरमा सजावटको काम पूरा भएको महाविर युवा कमिटीका अध्यक्ष सन्तोष कुमार साहले बताए।

कोरोना महामारीबीच हुन लागेको दशैंमा सरसजावट तथा पूजामा कुनै किसिमको कमी नआउने अध्यक्ष साहले दावी गरे। उनले कोरोना महामारीका कारण स्थानीय प्रशासनले भीडभाड नगर्न निर्देशन जारी गरेकाले स्वास्थ्य सुरक्षाको अपनाउँदै पूजाको व्यवस्था मिलाइएको बताए।

राजदेवी मन्दिरको सजावट देखि पूजा तथा त्यसको व्यवस्थापनका लागि यस वर्ष करिब २५ लाख खर्च हुने अनुमान महावीर युवा कमिटीका अध्यक्ष साहको छ। यस वर्ष आम्दानी ठप्प रहेकोले दशैंमा खर्च व्यवस्थापन गर्न कठिनाई हुने उनले बताए।

दशैंमा महावीर युवा कमिटीको मुख्य अर्थ आर्जनको श्रोत बोका बली रहँदै आएको छ। राजदेवी मन्दिरमा अष्टमीको एक रातमा मात्रै १४ हजारभन्दा बढी बोका बली हुँदै आएको थियो। तर स्थानीय प्रशासनले बोका बलीमा यस वर्ष कोरोना संक्रमणका कारण रोक लगाएको छ।

साहले भने, ‘पहिला बलिप्रदान हुँदा त्यसबाट पैसा आउँथ्यो र हाम्रो कमिटीमा पनि अधिकांश व्यापारी रहेकाले आफैबाट खर्चको व्यवस्थापन गर्थे। तर यस पटक कोरोना महामारीका कारण व्यवसायीहरु आफै समस्यामा छन् र बलिप्रदान समेत नहुने भएकाले यस वर्ष स्थानीय र प्रदेश सरकारसँग सहयोग माग्छौँ।’

भीड बढे अष्टमीदेखि सर्वसाधारणका लागि मन्दिर बन्द गरिने

जनकपुरधामको राजदेवी मन्दिरमा प्रत्येक वर्ष नवरात्रीको समयमा दैनिक हजारौँको भीड हुन्छ। दर्शनार्थीहरुलाई व्यवस्थापन गर्न समेत कठिनाई हुन्छ। तर यस पटक सीमित संख्यामा भक्तजनहरुलाई पूजा अर्चनाका लागि भगवती राजदेवीको दर्शन गर्न आउन भनिएको छ।

प्रत्येक वर्ष राजदेवी मन्दिरमा सप्तमीदेखि अष्टमी दिनसम्म प्रसाद चढाउनेहरुको घुइँचो हुन्छ। तर यस पटक भीड कम गर्नका लागि घटस्थापनादेखि सप्तमी सम्म प्रसाद चढाउन सकिने व्यवस्था मिलाइएको छ। त्यस्तै खोँइछ भरीका लागि समेत महिलाहरुलाई घटस्थापनादेखि नै गर्न भनिएको छ।

अष्टमीदेखि भीडको अवस्थालाई हेरेर मन्दिर व्यवस्थापनले थप निर्णय गर्ने महावीरका अध्यक्ष साहले बताए।

भने, ‘भीड बढी भएन भने भक्तजनका लागि सबैदिन मन्दिर खुल्ला रह्ने छ। तर भीड बढ्यो भने अष्टमी देखि भक्तजनका लागि मन्दिर बन्द गर्छौँ।’



ट्रेन्डिङ पोस्ट

Ncell