वीरगंज: आज दशैंको पहिलो दिन घटस्थापना। वीरगंजका शक्ति पीठहरुमा बिहानैदेखि भक्तजनहरुको घुँइचो लाग्यो। मन्दिरहरुमा कोरोना संक्रमणको कुनै त्रास देखिएन। अव्यवस्थित तरिकाले भीड बढ्दै गयो। न भौतिक दूरी न त मास्कको उचित प्रयोग।
यसलाई मध्यनजर गर्दै दशैंमा मन्दिरमा भीड बढ्ने र त्यसले संक्रमणलाई बढाउन सक्ने भन्दै जिल्ला प्रशसन कार्यालय पर्साले पर्साको तीन वटा शक्ति पीठहरुमा कार्तिक १ देखि १६ गते सम्म प्रवेश निषेध गरेको छ।
जिल्ला सुरक्षा समितिले कोरोना महामारी नियन्त्रण गर्न संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ बमोजिम कार्तिक १ देखि १६ सम्म निषेधाज्ञा लगाइएको जनाएको छ।
पर्साको वीरगंजको माइस्थानमा पर्ने गहवामाई मन्दिर क्षेत्र, विर्तामाई मन्दिर क्षेत्र र विन्ध्यावासिनी माई मन्दिर परिसरमा निषेधाज्ञा लगाइएको पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए।
घटस्थापनाको पहिलो दिन यी शक्ति पीठमा भक्तजनको उल्लेख्य भीडभाड देखिएपछि जिल्ला सुरक्षा समितिले तत्कालै बैठक बसेर निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो।