पसिनाले छपक्कै भिजेको ओछ्यान छोड्न मानिरहेको थिएन शरीर। दिमाग भने घरी घरसम्मै पुग्थ्यो, घरी बरण्डामा सुकाएको लुगा उठाएर फर्कन्थ्यो। ओठ सुकेर कक्रक्क भएका थिए। तर, छेउमै राखेको पानीको बोतल समेत तान्ने हुती थिएन। आँखा भने पटकपटक पर टेबलमा राखेको लोसनको बट्टामा पुगेर टक्क अडिन्थ्यो।
मैले आफैलाई जाँच्नु थियो। अल्छीपन हो भने भगाउनु थियो। आफैँ भगाउन नसक्ने केही थियो भने, जसले सक्छ उसम्म खबर पुर्याउनु थियो। त्यसैले शरीरलाई घिसारेँ। कुर्सीसम्म पुर्याएँ। थचक्क बसेर त्यहीँबाट टेबलसम्म हात लम्काएँ। लोसनको बट्टा समाएँ - ‘फ्र्याग्नेन्स लोसन।’
बिर्को खोलेर सुँघ्दा– नो फ्र्याग्नेन्स एट अल।
नाकको एउटा प्वाल बेस्सरी थुनेँ। अर्कोबाट लामो सास तानेँ। बास्ना आएन। दोस्रो प्वाल थुनेर त्यही प्रक्रिया दोहोर्याएँ। अँह! फिटिक्कै बास्ना आएन।
परिणाम सोचेजस्तो नहुँदा दु:ख लाग्छ, कम्तिमा मलाई चाहिँ। आफ्नो नाकले काम गर्न नसकेको सत्य स्वीकार्न पनि गाह्रो भयो।
उल्टै बहाना खोजेँ।
केही दिन लगातार पानी परेपछि चिसो बढेको थियो। चिसो बढेसँगै घाँटीमा केही अड्के जसरी दु:खेको थियो। खसखस भएको थियो। रुघा लागेको थियो।
रुघाले नै पो हो कि?
भिक्सको बट्टा खोलेँ। नाक भित्रसम्मै औंला पुर्याएर लगाएँ। नाकले त भिक्सलाई पनि पत्याएन।
उसो त केहीबेर अघि कफसँगै निस्किएको रातो रङ पनि रगत हो जस्तो लागेको थिएन। खोक्दाखोक्दै छाती रित्तो भाँडो बजे जसरी बज्न थालेको थियो। त्यो खोक्रो आवाज पनि महसुस नभएजस्तो गरेकी हुँ।
अनुभूतिहरू, चाहे सुखद् हुन् या दु:खद् आफूमै सीमित राख्न नसक्ने खालको मान्छे हुँ म। तर, समय यस्तो आयो, अनुभूती साट्दा मान्छे डराउँछन्। केही सुनाएर कसैलाई अत्याउनु मेरो रहर हुनै सक्दैन। त्यसैले चुप बसेँ।
बास्ना गुमेपछि भने मसँग बहाना बाँकी रहेन।
सँगै कन्ट्याक्ट ट्रेसिङमा परेका साथीहरूसँगको ग्रुप च्याटमा लेखेँ : मलाई त बास्ना पनि आउन छाड्यो।
‘तिमीले धेरै सोच्यौ’- नआत्तियोस् भनेर हुनसक्छ, हरेक पटक साथीहरूको उही जवाफ। रुघा खोकीले सतायो भन्दा – मौसमी फ्लू।
पखाला चल्यो भन्दा– चिसोले गर्दा।
घाँटी दुख्दा -‘दु:खेको होइन सोचेको’, छाती दुख्दा पनि उही जवाफ।
यस पटक म फतक्कै गल्नुको कारण खोज्दै थिइँन। वा, मैल गन्ध चाल नपाएको प्रमाणिकरण पनि माग्दै थिइँन। आफ्नो कुरा राखेँ। मेसेन्जर बन्द गरेर मोबाइलको क्यामेरा अन गरेँ। सेल्फी मोडमा राखेर आफैसँग भनेँ – अब त पक्का कोरोना नै हो।
+++
चार दिन लगातार रुघा, ज्यान गलाउने खोकी, घाँटी दु:खाई र छिनछिनमा रनक्क तताएर भाग्ने ज्वरो। अनि थपियो पखला पनि। समस्याहरू बीच पाँचौ दिन स्वाब परीक्षण गराउनुको खुशी थियो। कम्तिमा भोलिपल्ट रिपोर्ट हात पर्ने आशासहित।
घर फर्कनुको हतारो थियो। त्यसैले स्वाब दिनु घर जाने टिकट काट्नु सरह बन्यो। किनकि करिव दुई साता भइसकेको थियो घर छाडेर। घरबाट आठ किलोमिटरमात्र पर होटलमा छु।
सोचेको थिइँन – स्वाब दिएकै दिनदेखि मैले बितेका चार दिनमा भन्दा अझ बढी दु:खाई सहनुपर्छ।
सास तान्दा नाक पोल्नुको बानी पार्दै थिएँ। एक्कासी सासको गतिकै तालमेल मिल्न छाड्यो। सँगसँगै आउने सुख्खा खोकीले तर्साउन थाल्यो। सास धिमा हुँदा डर लाग्दो रहेछ। डर लाग्दा ढुकढुकीले भने निकै गति लिँदो रहेछ। मलाई थाहा भएकै कुराहरू पनि नौलो लाग्दै थिए।
दु:खाई बीचको पर्खाइ साह्रै लामो बन्यो। पट्यार लाग्दो।
म रिपोर्ट पर्खदै थिएँ। पीसीआर रिपोर्टको पर्खाइ मलाईमात्र थिएन। होटलको एउटै छतमुनि भएर पनि पर्खाल र पोर्टोकलले टाढा बनाएका नजिकका साथीहरुहरूका लागि पनि थियो। सँगै खाजा खान पर्खिरहेकाहरूलाई थियो। सबैभन्दा बढी, घरमा मेरो बाटो हेरिरहेको परिवारलाई थियो।
पीडा र पर्खाइबीच बढेको तनाव आमाबाबा, बहिनी वा भाइलाई कसरी देखाउनु?
मैले स्वाब दिएको भोलिपल्टदेखि घरका कसैसँग भिडियो कल नै गर्न छाडिदिएँ। भ्वाइस कलमा पनि एउटै कुरा – सबैकुरा ठीकै छ। रिपोर्ट चाहिँ आएको छैन।
‘सबैकुरा ठीक छैन’ भन्ने सत्यको प्रमाण मेरो भाँसिएको स्वर थियो। त्यसैले आफ्नाहरूको चिन्ता बढ्नु स्वभाविक थियो। पालैपालो फोन गर्थे। भन्थे– खानाले पेल है खानाले। आमा, ठूलीआमा, सानीआमा, बहिनी, मामा, माइजु हरेकको सुझाव उही – टन्न खानु।
ज्यान लागेर केही हुँदैन, कोरोना लाग्नु भएन।
जे भेटिन्छ त्यही खानु…
अफिसबाट आउने फोनहरूमा पनि उही चिन्ता – अरु बेलाजस्तो खानमा किचकिच गरेर हुँदैन है?
यी वाक्यहरू मप्रतिको स्नेह थियो। त्यसैले सुझाव शिरोपर। तर, बास्ना हराएको दिनको घटना– कसैले खाना ल्याएर ढोकामा छाडेको घण्टौं बित्दा पनि लिन जाने ह्याउ थिएन।
भोक लाग्नु, खाना पनि हुनु तर खान नसक्नु। न सपना थियो न सबैले सहजै स्वीकार्न सक्ने यथार्थ।
बहिनीले मेसेन्जरमा निरन्तर फोन गरेपछि उठाएँ। भनेँ – खाना खाएर सुतिसकेँ। भोलि कुरा गर्छु।
‘तेरो खाना अझै ढोकामा छ रे। खुरुक्क खा त। नखाइ नखाइ बेक्कार मम्मीलाई टेन्सन दिन्छस्?’
बोली फुट्नुअघि पिल्पिलाउन थालेँ। फोन काटेँ। सक्दो छिटो गर्दा पनि ज्यान ढिला चलिरहेको थियो। बिस्तारै ढोका खोलेँ। भात, तरकारी र दालको पोको बेवारिसे भएछन्। जसबारे घरसम्म खबर पुर्याउने साथीसँग चित्त दुख्यो।
कुरा लगाउनेले ढोका बाहिरैबाट पनि सोधेन – किन नखाएको? वा कस्तो छ अहिले? सबैकुरा ठीक त छ नि?
मनमा कुरा खेलिरहेको थियो। उता बहिनीले मेसेन्जरमा घण्टी बजाउन छाडेकी थिइन। झिँजो लाग्नुपर्ने प्रशस्त कारणहरू थिए मसँग। त्यसैले फोन उठाइँन। भातको पोका खोलेँ। बेग्लाबेग्लै प्लास्टिकबाट तरकारी र दाल भातमै खन्याएँ र फोटो खिचेर पठाएँ।
‘देखाउने मात्र होइन खाने पनि।’
एक चम्चा भात दाल र अचार मिसाएर मुखमा हालेँ। बहिनीको निर्देशन मान्न होइन आफ्नो गलेको शरीरलाई केही राहत होला कि भनेर। अचम्मै भयो। मैले सर्लक्कै निलेँ। किनकि मैले मीठो, नमीठोको भेउ पाइँन। केही गाँस गमगम खाएँ। दातँ माझेँ। दाँतसँगै गाला र जिब्रो पनि रगेटे। कताकता मञ्जनको स्वाद पाएँजस्तो लाग्दै थियो। पाएँजस्तो मात्रै।
त्यसपछि चिनी फाँको मारेँ। स्वाद आएन। निश्चित भयो – कोरोना भाइरस नै हो।
रिपोर्ट आएपछि घर जान नहुने टुंगो लाग्यो। कारण, संक्रमण पुष्टि हुनु मात्र होइन। घरमा ‘होम आइसोलेसन’मा बस्ने वातावरण नहुनु।
कहाँ जाने त?
स्वाब परीक्षणका लागि दिएको तेस्रो रात म पीडा बाहेक अर्को छट्पटाहट्सहित पल्टिएँ।
पसिनाले निथ्रुक्क पार्ने क्रम जारी रह्यो। सास सम्हाल्न नसक्दा लाग्यो – अब बाँच्दिन। उठेर झ्यालको जालीसमेत खोलेँ।
केही भइहाले सबैले सजिलै थाहा पाउन् भन्ने सोचेरै ढोकाको चुकुल लगाइँन।
डर लाग्दा झ्याल, ढोकाढपक्क पार्नुको अनुभवहरू थिए। डर लाग्दा झ्याल ढोका उदाङ्गो राख्नुको अनुभूती पनि सँगालेँ।
+++
हतार मलाईमात्र थिएन। हतार मेरालाई मात्र थिएन। चौथो दिन बिहान रिपोर्ट नेगेटिभ आएका साथीहरू कोही आफै घर फर्किए। केहीलाई आफन्त लिन आए। अनि सुरु भयो सकस।
आफू संक्रमित भएको स्वीकार्दा स्वीकार्दै, दिउँसो ढिलागरी आएको पोजेटिभ रिपोर्टले एक पटक झस्कायो। डर थियो – हिजो वा अस्तिको जस्तै कतिवटा सकसपूर्ण रात कटाउनु पर्ला?
सोचेजस्तो भएन। पीडाको ग्राफ रिपोर्ट आउनुअघि नै ओरालो लाग्न थालेछ। त्यसपछिको समय त शारीरिक पीडाभन्दा बढी मानसिक हिसाबमा तनावग्रस्त रह्यो।
संक्रमितको तक्मा लागेको थियो। त्यसपछि न साथीभाइसँग दूरी कायम गरेर बस्ने वा गफ गर्ने छुट थियो। न बरण्डामा निस्किएर चिसो हावा खाँदै टहल्ने छुट। कसैलाई भेट्नु कल्पना बाहिरको कुरा।
घरको औंधी याद आयो। अफिस जान मन लाग्यो। कुद्न मन लाग्यो। घुम्न मन लाग्यो। तर, अवस्था यस्तो थियो – खाजा खान उठ्नका लागि दिमागलाई घण्टौं लगाएर तयार पार्नुपर्थ्यो। शरीरको पसिना पुछ्न त्यही पसिनाको चिसोले सिकसिक लगाउनु पर्थ्यो। अथवा पल्लो कोठाको संक्रमित साथीले फोन गरेर सोध्नुपर्थ्यो, खाना किन अझै बाहिर?
मनमा बारबार खेलेको एउटै कुरा – यो अवस्थामा म घरमा भएको भए के हुन्थ्यो? यस्तो बेला टाढा भइस् भनेर गुनासो गर्नेहरू मेरो कति नजिक पर्थे होलान्?
नजिक रहँदैमा कोरोना भाइरसको संक्रमण सरिहाल्दैन भन्ने त मैले प्रष्टै बुझेकी थिएँ, अनुभवका आधारमा। कन्ट्र्याक्ट ट्रेसिङमा परेपछि मन खिन्न थियो, फेरि होटलमा बस्नु पर्ला भन्ने पीरले। घर गएर डर वा संक्रमण सार्ने जोखिम मोल्न पनि तयार थिइँन। साथी सुजाता खत्रीले आँट र प्रेम गरेर भन्नुभयो – मेरोमा जाऔं। परिवारबाट टाढै बसौंला। यत्रो दिनदेखिसँगै छौं। संक्रमण रहेछ भने दुवैलाई हुन्छ।
धन्य ममा कोरोना भाइरसको लक्षणहरू देखिँदा उनी स्वस्थ रहिन्। सावधानी अपनाउँदै मलाई नजिकै राखिन्। टाउको फुट्लाजस्तो हुँदा मालिस गरिदिइन्। गालीसँगै प्रेम मिसाएर गुर्जो पानी खुवाइन्। सँगै रह्यौं तर उनामा संक्रमण देखिएन। हामीले दुई पटकसँगै परीक्षण गराएका थियौं।
छक्क पर्यौं। छुनासाथ वा सँगै सुत्दा कोरोना सरिहाल्छ भन्ने भ्रम टुट्यो।
बिस्तारै मैले चराहरूलाई साथी बनाएँ। बिहान झ्यालैमा आउने परेवा र सारौंलाई कर्नफ्लेक्स र ओट्स दिएर फकाएँ। कागलाई अण्डा र मासु। झ्यालबाहिर झुण्डिएका एसीका डब्बाहरूले मेरो एक्लोपनको श्रृङ्खला तोडिदियो।
ती चराहरू डराइ डराइ आउँथे।
यतिन्जेल म पनि मन नलागी नलागी भए पनि निकै खाने भइसकेकी थिएँ। स्वाद र बास्ना नहुनुले पनि मलाई धेरै खानेकुरा सर्लक्क निल्न मद्दत गरेको थियो।
दूधको निक्खर स्वाद कस्तो हुन्छ? सम्झन कोसिस गरेँ।
पहेँलो दाल वा काउलीको स्वाद? आफैलाई प्रश्न गरेँ।
तर, हरेक प्रश्नको जवाफ आफूले चाहेको समयमा पाइँदैन रहेछ। जसरी मैले चाहँदैमा मेरो जिब्रोमा स्वाद फर्किएन। नाकले सुगन्ध वा दुर्गन्धको भेउ पाएन। समयले दिने जवाफहरू पनि सायदै मैले चाहेजस्तै रङ, स्वाद वा सुवास बोकेर आउँलान्। ती प्रश्नहरूको जवाफ जुन मेरा योजना वा अन्यौलताहरूसँग जोडिएका छन्। जसबारे मैले एक्लो नहुँदा सोचेकै थिइँन। वा नसोच्न कोसिस गरेकी थिएँ।
आइसोलेसन कोठाको एउटा भित्तादेखि अर्को भित्तासम्म हिँड्दै मोबाइलको स्क्रिनमा पाइला गन्नु। घण्टाघरको घडीले दिने आवाजसँगै बाहिर निस्किने दिन गन्नु दैनिकी बन्यो। कहीँ नपुग्नका लागि हिँड्नुले पनि कहीँ न कहीँ त पुर्याउँदो रहेछ। एउटा समयदेखि अर्को समयसम्म।
बिस्तारै टाउको फुट्ला जसरी दुख्ने, फोक्सो निस्केला जसरी खोकी लाग्ने, बास नै ट्वाइलेटमा होला जसरी पखाला लाग्ने क्रम कम भयो। एकै आइसोलेसनमा भएकाहरू भेटघाट गर्न थाल्यौं। कोही नजिकै हुनु भनेको एउटाको उर्जा अर्कोसम्म पुग्नुरहेछ। नत्र एक्लै हुँदा कसैको फोन उठाउन मन नलाग्ने गरी थाकेको ज्यान, साथीसँगै हुँदा प्र्याङ्क गर्न, टिकटक बनाउन किन जोसिन्थ्यो?
एकसाथ पोजेटिभ रिपोर्ट र घोसेमुन्टो लिएर आइसोलेसनमा पसेको हामी सँगसँगै जस्तो तङ्ग्रियौं। हाम्रो नेगेटिभ रिपोर्ट पनि सँगै आयो। बाहिर पनि एकसाथ निस्कियौं- ‘एन्टी बडी इलिट’ हुनुको खुशी बोकेर।
तर, हामीमध्ये कोही कोरोना भाइरसविरुद्धको लडाई जित्यौं भन्ने पक्षमा थिएनौं। किनकि हाम्रा भोगाइ, बुझाइ, देखाइ र दु:खाईले बुझायो – भाइरससँग होइन जुँध्न त आफ्नै शरीरसँग पर्ने रहेछ।
आफ्नै शरीरका अङ्गहरू पनि नियन्त्रण बाहिर हुने रहेछन्। आफ्नै स्वादे जिब्रोसँग हार्नपर्ने रहेछ।
आफ्ना वरपरकाहरू त्यो लडाइमा होमिन नपरोस् त्यसका लागि रहेछ सतर्क हुनुपर्ने। होमिए अनि आफ्नै शरीरसँग लड्ने ताकत् राखेनन् भने? अवस्था पक्कै आफूले भोगेभन्दा पीडादायी हुनसक्छ। त्यसैले घर आइपुग्दा खुशीभन्दा बढी डर छ- मेरा कारण कोही, कसैलाई असर पर्ला भन्ने। त्यसैले केही दिन परै रहेँ।
टाढा भएरै टाढा हुनु कष्टकर थियो। नजिक रहेर पनि आफैलाई टाढा बनाउनु पनि कहाँ सहज हुनु? ढोकामा उभिएर आफूले बनाएको चित्र देखाउने भाइलाई काखमा लिएर माया जताउन नपाउनुको पीडा छ। घर छाड्दा – छिट्टै आउ है बा भनेर बिदा गर्नु भएकी हजुरआमा म घर फर्कँदा सिकिस्त। परैबाट सोध्छु – आमा अहिले कस्तो छ? हरेपटक प्रतिप्रश्न गर्नुहुन्छ – नानी तिमीलाई चिनिनँ नि?
म अहिले यहीँ कामना गरिरहेकी छु, हजुरआमाको याद फर्कियोस्। जसरी मेरो नाकको संवेदना फर्कियो।
अहिले म खुशी चाहिँ – घरको भान्सामा पाकेको खानामा खोजिरहेकी छु। थाहा छैन स्वाद खानाको फर्कियो या जिब्रोको। खाना टन्न रुच्ने यो अनुभूती निकै सुखद् छ।