PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

संघीय प्रहरी ऐनसँग बाझिने गरी प्रदेश २ सरकारले छठपछि प्रहरी भर्ना लिने



सुमित मिश्र

संघीय प्रहरी ऐनसँग बाझिने गरी प्रदेश २ सरकारले छठपछि प्रहरी भर्ना लिने

जनकपुरधाम : संघीय प्रहरी ऐनसँग बाझिने गरी प्रदेश २ सरकारले प्रहरी भर्ना लिने तयारी थालेको छ। प्रदेश प्रहरी ऐन पारित भएको झण्डै डेढ वर्षपछि प्रदेश २ सरकारले प्रहरी भर्ना लिने तयारी थालेको हो।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश सरकारले प्रहरी भर्ना लिने प्रकृया चाँडै नै शुरु गर्ने बताए।

आइतवार बसेको मन्त्रिपरिषद् बैठकमा आफूले प्रहरी भर्ना सम्बन्धी प्रस्ताव लगेको र छठपछि प्रहरी भर्ना लिने प्रकृया शुरु हुने मन्त्री यादवले जानकारी दिए।

मन्त्री यादवले भने, ‘अहिले चाडपर्वको समय रहेकोले छठ पर्व सके लगत्तै प्रहरी भर्नाका लागि आवेदन आह्वान गर्नेछौँ।’

यादवका अनुसार प्रदेश सरकारले प्रहरी जवान, असई र इन्सपेक्टर पदका लागि आवेदन आह्वान गर्ने छ।

यस्तै, आइतवार बसेको प्रदेश २ को मन्त्रिपरिषद् बैठकमा प्रदेशसभाको चौथो अधिवेशन अन्त्य गर्ने सहमति भएको मन्त्री यादवले जानकारी दिए। यसका अतिरिक्त प्रदेश सरकारको कर्मचारीहरुको सरुवा तथा काज सम्बन्धी कार्यविधि २०७७ स्वीकृत गर्ने, प्रदेशको राजपत्र निर्देशिका २०७७ को मस्यौदा स्वीकृत गर्ने निर्णय समेत गरिएको छ।

प्रदेश विपद् व्यवस्थापन सम्बन्धी प्रदेशको मस्यौदा निर्माणका लागि सैद्धान्तिक सहमति र दलित विकास समितिको उपाध्यक्ष पदको नियुक्ति गर्ने निर्णय समेत गरिएको मन्त्री यादवले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell