PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

कोरोना पुष्टि हुनासाथ सोचें : यात्रा अब अन्तिमतिर छ



कोरोना पुष्टि हुनासाथ सोचें : यात्रा अब अन्तिमतिर छ

  • सुरज भट्टराई

मलाई करिब एक महिनाअघि कोभिड-१९ को संक्रमण देखियो। म एक सामाजिक कार्यकर्ता हुँ। काठमाडौं वडा नम्बर २९ स्थित डिल्लीबजार हाइटको बासिन्दा। अरनिको टेलिभिजनमा 'समाज र कानुन' विषयक कार्यक्रम प्रस्तोता पनि।

सेप्टेम्बर २२ मा कोभिड-१९ संक्रमित हुनुअघि अनामनगरमा रक्तदान पनि गरेको थिएँ। मैले ५३ पटक रक्तदान गरिसकेको छु। लकडाउनमा रगतको अभाव भएको सूचना पाएपछि रक्तदान गर्न गएँ। त्यहाँबाट नै संक्रमण सर्‍यो भन्ने लाग्छ। तर ठ्याक्कै कहाँबाट सर्‍यो भन्ने ठम्याउन सकेको छैन। सामाजिक कार्यकर्ताका रुपमा आम जनतासँग काम परिरहन्छ। विभिन्न मान्छेसँग भेट भइरहेको हुन्छ। कहिले के कार्यक्रम, कहिले कुन सहयोग यस्ता गतिविधिमा सहभागी भइरहन्थे।

यसै क्रममा अनामनगरमा रक्तदान गरेको थिएँ। तीन/चार दिनपछि रुखाखोकी र हल्का ज्वरो आयो। शरीरको तापक्रम नाप्दा ९७ मात्रै थियो। वडा कार्यालयबाट आकस्मिक जाँच भइरहेको रहेछ। शंका मानेर परीक्षण गरें।

केही भाछैन, टेस्ट गरौं भनेर गरेको थिएँ। त्योभन्दा अगाडि लकडाउन अवधिदेखि तीनपटक परीक्षण गरेको थिएँ। सबै नेगेटिभ आएको थियो। त्यसबेला राहत वितरण तथा लकडाउनमा अफ्ठेरोमा परेकाहरुको सहयोगमा खटिएको हुनाले नियमित जसो परीक्षण गरिरहेको थिएँ। यसपाली पनि नेगेटिभै आउँछ भन्ने विश्वास थियो। तर कोरोनासँग मिल्दोजुल्दो रुघाखोकी र ज्वरो जस्ता लक्षण हुँदा मनमा डर पनि थियो।

वडाबाट स्वाब दिँदा रिपोर्टमा ढिलाई भयो। ४ दिनपछि रिपोर्ट पोजेटिभ आयो। रिपोर्ट आउञ्जेलसम्मको बेचैनी शब्दमा भन्न सक्दिनँ।

अरु बेलाको रिपोर्ट एक दिनमै आउँथ्यो। पोजेटिभ रिपोर्ट आउने बेलामा तीन दिन लाग्यो। त्यसले त मनमा पोजेटिभ भएछ, कोरोना लागेछ, परिवारलाई पनि लाग्यो। मलाई पक्कै लाग्यो भनेर बेचैनी भयो। मैले थप कमजोर भएको महसुस गरें। रिपोर्ट आएपछि चार घण्टा एकोहोरो भएँ। ज्वरो बढ्यो। श्वास फेर्न गाह्रो हुन्छ, अब आइसोलेसनमा बस्नुपर्छ, अस्पताल जानुपर्छ, आइसियू, भेन्टिलेटरमा बस्नुपर्छ भन्ने कुरा मनमा खेल्यो।

मेरो मृत्यु पनि हुन्छ भन्ने मनमा आयो। अब म अन्तिम यात्रातिर जाँदैछु भन्ने सोचें। कोरोनाका कारण मृत्यु भयो भनें चार जना सेनाले अन्त्येष्टिसम्म गर्छ भन्ने सम्म सोचाईमा पुगे। मेरो मरण चलचित्र जस्तै हुन्छ। परिवारले मेरो शव छुन पाउँदैन भन्ने पनि सोचें।

परिवार र आफन्त इष्टमित्रबाट टाढा एक्लै जाँदैछु भन्ने सोच्दासोच्दै परिवारको सम्झना पनि आयो। आफू अभिभावक र घरको मूली। पछि मैले यस्तो सोचेँ भनें परिवार हतोत्साहित हुन्छ। मैले नै हरेश खानु हुँदैन भन्ने पनि सोचेँ। त्यसपछि मैले मनबाट त्यो कुरा चटक्क निकाले। परिवार सम्झेपछि मलाई केही हुँदैन भन्ने फिल भयो। भेन्टिलेटरमा जान्छु भन्ने सोचाइ आउँदा परिवारलाई सम्झिन पाएको थिएन। ठ्याक्कै परिवारलाई सम्झेर मलाई उर्जा आयो। शरीरमा एक किसिमको फूर्ती आयो। आशा जाग्यो। केही पनि हुँदैन भन्ने भयो।

छेउमा बसिरहेकी मेडिकलको विद्यार्थी छोरीले आएर कोभिडको बारेमा विस्तृतमा के हुन्छ? कस्तो हुन्छ? रोगसँग लड्ने क्षमता कसरी वृद्धि हुन्छ भनेर दिएको काउन्सिलिङले ठूलो उर्जा दियो। साथै छोरीलाई मेडिकल पढाएकोमा गर्व महसुस भयो। छोरीले दिएको सुझाव अनुसार औषधिहरु सिटामोल, खोकीको औषधि सिरप, भिटामिन खाइयो।

श्रीमती पहाडको भएकाले घरायसी जडिबुटीबारे ज्ञान थियो। गुर्जो पानी, बेसार पानी, तुलसी पानी, तातो पानी ब्यापक खाइयो। हरेक दिन वाफ लिने, भिक्स लाउने गरियो।

रिपोर्ट आएको दिन मलाई निद्रा लागेन। छोरीले सबै जानकारी दिएर आत्मबल बढाए पनि अनेक कुरा मनमा खेलिरह्यो। त्यो रात राम्रो निद्रा परेन।

तीन/चार दिनसम्म परिवार सबैको परीक्षण गराउनुपर्छ, रिपोर्ट के आउँला भन्ने बेचैनी भयो। पाँच दिनपछि कन्ट्याक्स ट्रेसिङ अन्तर्गत वडाबाटै मेरो परिवारका सबै सदस्यको परीक्षण गरियो। रिपोर्ट नआउञ्जेलसम्म हामी सम्पूर्ण परिवार त्रसित थियौं। म उनीहरुको आँखामा एक किसिमको डर देख्थे। उनीहरुलाई डर लागेको छ भनेर सोध्न चाहि सकिनँ। तर डर देखें। जब सबैको रिपोर्ट एसएमएसबाट आयो, एक पछि अर्को खुसी छायो। मेरो पनि नेगेटिभ, मेरो पनि नेगेटिभ, मेरो पनि नेगेटिभ भनेर जब उनीहरु एकअर्कामा अँगालो हालेर खुसी साटासाट गरे। मलाई पनि औधी खुसी लाग्यो। त्यो क्षण कहिल्यै म भुल्न सक्दिनँ।

त्यो खुसी अगाडि पापाले, श्रीमानले हामीलाई पनि सार्‍या त छैन भन्ने त्रास थियो उनीहरुमा। परिवार यति खुसी भएपछि मैले स्वाब दिएर आएपछि रिपोर्ट आउने बेलासम्म एक्लै बसेको कारण उनीहरुमा कोरोना सरेन भन्ने लाग्यो। रिपोर्ट नआउँदासम्म परिवारमा घुलमिल भएको भए उनीहरुलाई सर्न सक्थ्यो होला।

शौचालय, भोजनालय, वाचनालय, पढ्ने एउटै ठाउँ थियो। सर्ने डर स्वभाविक हुन्छ। तर उनीहरुको रिपोर्ट नेगेटिभ आउँदा मलाई पनि खुसी लाग्यो। मेरो रिपोर्ट आएको ८ दिन भइसकेको थियो। उनीहरु अँगालो हालेर खुसी व्यक्त गर्दा म छुट्टै बसेर त्यो क्षण हेरिरहेको थिएँ। त्यतिखेर मलाई भीडभाडमा जाने काम बेकारमा गरेछु, सुरक्षा र सतर्कता नअपनाएर बेकारमा सामाजिक काममा हिँडेछु भन्ने आत्मग्लानी र पछुतो लाग्यो। त्यसपछि क्रमशः म आफूलाई स्वस्थ र तन्दुरुस्त महसुस गरेर फूर्तीफार्ती नै एकदमै छुट्टै थियो। १४/१५ दिनपछि त एकदम स्वस्थ भए।

समय अनुसार खाना, नास्ता, योगा, एक्सरसाइज, छतमा एक घण्टा हिँड्ने, धर्मकर्ममा रुचि भएका कारण पूजा गर्ने, अध्ययन गर्ने काम नियमित गरेँ। समयमै सुत्ने गरे। यसबाट जीउमा फूर्ती, सोचाईमा सकारात्मकता, छुट्टै तन्दुरुस्त महसुस गरे। १५ औँ दिनमा फेरि स्वाब दिए। नतिजा आयो, नेगेटिभ।

दुई हप्ताको एकान्तवासपछि म आफ्नो नियमित जीवनतर्फ फर्किए। मैले आफूलाई कोरोना पोजेटिभ भएको कुरा सबैतिर सार्वजनिक गरेको थिइनँ। कतिपय साथीभाईले परिवारबाट थाहा पाएछन्। थाहा पाएपछि सामाजिक सञ्जाल, फोन, म्यासेजबाट मलाई धेरै नै हौसला दिए।

एक कान दुई कान मैदान भयो। मैले सार्वजनिक नगर्दा पनि धेरैले थाहा पाए। धेरै जनाबाट सकारात्मक, उत्साहवर्द्धक अभिव्यक्ति, सन्देशहरु प्राप्त गरें। तर म सार्वजनिक जीवनमा फर्किएपछि मेरा साथीभाई, शुभचिन्तक भने मबाट टाढा टाढा भएको महसुस गरें। कोही कोही त मलाई 'अहिले ठीक भयो?' भन्दै मेरो स्वास्थ्यप्रति व्यंग्य हानेको महसुस गरें।

कोरोना जसलाई पनि लाग्न सक्छ भनेर मलाई थाहा थियो। अहिले हाम्रो देशमा एक लाख भन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ। सँगै धेरै मान्छे संक्रमण मुक्त भइसकेका छन्।  

संक्रमण मुक्त भएपछि मलाई धेरैले 'के के हुँदो रहेछ? अहिले ठीक भयो? केही पनि भाछ छैन? कसरी ठीक भयो?' भन्दै सोध्ने प्रश्नले घोच्थ्यो। किनकि उहाँहरुको प्रश्नमा मैले छुट्टै व्यवहार पाएँ। त्यसैगरी कोभिड लाग्नु भनेको अछुतजस्तो सम्झेको मैले महसुस गरेँ। बाहिर त यो केही होइन भन्ने देखेँ, देखावटी रुपमा। भित्र मनबाट अछुत व्यवहार गरिएको मलाई महसुस भयो।

नियमित जीवनमा फर्केपछि मैले न कोही साथीभाई भेटेको छु, न मेरो परिवारसँग, न सामाजिक काममा नै छु। छुट्टै किसिमले बसिराखेको छु। कसैलाई भेटेको छैन। यस अवधिमा मैले कोरोना भनेको कुरा सानोतिनो रोग होइन, यसलाई सामान्य रुपमा लिनुहुँदैन भन्ने बुझें। यो एउटा ज्यानै लिनसक्ने खालको रोग हो। यसमा सबैभन्दा पहिला रिपोर्ट आउनासाथ आत्मबल उँचो बनाउनुपर्छ जस्तो लाग्यो।

लागिसकेको मान्छेलाई फेरि लाग्दैन भन्ने पनि कुरा पनि रहेछ। संक्रमण मुक्त भएकाको प्लाज्माले अर्को बिरामी निको हुने भन्ने रहेछ।

सकभर कसैलाई लाग्दै नलागोस। हाम्रो जस्तो सहरी क्षेत्रमा बसेको सक्रिय सामाजिक कार्यकर्ता त सचेत हुनु अझै जरुरी छ। भीडभाड हुने ठाउँमा बढीभन्दा बढी सचेतना कार्यक्रम गर्दा यो भाइरसबाट हामी बच्न सक्छौं लाग्छ। त्यसको लागि तीनै तहको सरकारको नेतृत्व र मुख्य पार्टी, सामाजिक अभियन्ता सबै पक्ष लाग्नुपर्छ।

सरकारको मात्रै जिम्मेवारी हो भनेर बस्यो भने महामारी झन् बढ्छ। सबै मिलेर एकजुट भई लड्यो भने यो रोगसँग जित्न सक्छौं भन्ने मलाई लाग्छ। म यस्तै अभियानमा निरन्तर लागिरहन्छु।
प्रस्तुति: कमलराज भट्ट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell