PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

कर्णाली प्रदेशकाे विवादकाे छाया केन्द्रमा, बालुवाटार र खुमलटारकाे छुट्टाछुट्टै विज्ञप्ति



कर्णाली प्रदेशकाे विवादकाे छाया केन्द्रमा, बालुवाटार र खुमलटारकाे छुट्टाछुट्टै विज्ञप्ति

काठमाडौँ: कर्णाली प्रदेशको विवाद नेपाल कम्युनिस्ट पार्टी  (नेकपा) को केन्द्रमा पनि देखिएको छ। कर्णाली विवाद समाधान गर्न नेताहरुलाई काठमाडौँ बोलाएका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नै चरम  विवाद देखिएको हो।

प्रधानमन्त्री निवास बालुवाटारले मंगलबारको भेटमा विवाद समाधान गर्ने सहमति भएको भन्दै विज्ञप्ति जारी गरेको छ भने खुमलटारले भने सहमति भइनसकेको दाबी गरेको छ।

मंगलबार बालुवाटारमा चार बुँदे सहमति भएको भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विज्ञप्ति सार्वजनिक गरेका थिए। लगत्तै प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटा ‘जुगल’ले विज्ञप्ति निकालेर सहमति नभएको बताएका हुन्।

थापाले कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने, प्रमुख सचेतकमा उहाँद्वारा नियुक्त सीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने, मुख्यमन्त्रीविरूद्ध दर्ता भएकाे अविश्वास प्रस्ताव फिर्ता लिने र अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने सहमति भएको दाबी गरेका छन्।

तर, जुगलले प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कर्णाली प्रदेशको बिषयमा छलफल भएको तर उक्त छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी विषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी मात्र भएको दाबी गरेका छन्।

मुख्यमन्त्री शाहीविरुद्ध १८ सांसदहरुले अविश्वासको प्रस्ताव संसदीय दलमा पेस गरेपछि सुरु भएको विवाद साम्य हुन सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell