PahiloPost

Sep 21, 2026 | ५ असोज २०८३

झिनो लक्ष्य पछ्याएको बेङ्ग्लोरको सहज जित



झिनो लक्ष्य पछ्याएको बेङ्ग्लोरको सहज जित
Photo: IPL/Twitter

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले कोलकता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको छ।

अबुधाबीस्थित शेख जायेद स्टेडियममा भएको खेलमा टस जितेर ब्याटिङमा उत्रिएको कोलकताको ब्याटिङलाइन शुरूबाटै जम्न सकेन। र, निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८४ रनमा सीमित भएको थियो। जारी सिजनमा यो सबैभन्दा सानो चुनौती हो।

कोलकताका लागि कप्तान इयोन मोर्गनले सर्वाधिक ३० रन बनाउँदा लोकिइ फ्रेगुसनले अभिजित १९ रन बनाए। त्यस्तै, टम बेन्टनले १० रन र कुलदीप यादवले १२ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

कोलकतालाई सस्तैमा समेट्न मोहम्मद सिराजले ३ विकेट लिँदा युजवेन्द्र चहलले २ विकेट लिए। त्यस्तै, नवदीप शैनीले र वासिङ्टन सुन्दरले १/१ विकेट लिए।

८५ रनको झिनो लक्ष्य पछ्याएको बेङ्गलोरले १३.३ ओभरमा २ विकेट गुमाउँदै चुनौती पार गयो।

बेङ्ग्लोरका लागि देवदत्त पार्डिकलले सर्वाधिक २५ रन बनाउँदा गुरकीरत सिंह २१ रनमा अभिजित रहे। त्यस्तै, कप्तान बिराट कोहलीले अभिजित १८ रन बनाउँदा आरोन फिन्चले १६ रन रन जोडे।

जितसँगै बेङ्ग्लोर अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। बेङ्गलोरले १० खेलमध्ये ७ मा जित निकाल्दै १४ अंक जोडेको छ। समान अंक जोडेको दिल्ली क्यापिटल्स नेट रनरेटका आधारमा तालिकाको शीर्ष स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell