PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

टीका (कथा)



टीका (कथा)

  • रमण पनेरू-

म अबेर साँझ भान्सामा पस्दा उसमा विहानको जस्तो उत्साह बाँकी थिएन। निकै लामो परदेश बसाइपछि श्रीमतीका साथ स्वदेश फर्किएको थिएँ। परदेश बसाइको उपलब्धिको नाममा त्यही एउटा विवाहमात्र थियो। त्यति हुँदाहुँदै पनि साथीभाइसँग भेट्ने हुटहुटीले दिनभर टोलछिमेकमा भौतारिएर घर पुगेको थिएँ। यसरी उसलाई केही कमजोर र उदास देख्ने बित्तिकै म सशंकित भएँ। उसैको करले यसपाली घर आउने साइत जुरेको हो। पारिवारिक अनुमति वेगर नै विवाह गरेपश्चात त्यसको सामाजिक मान्यताका लागि पनि उसले निकै समयसम्म घर जाने कुरा गरी रहन्थी। कहिले के त कहिले के भनेर टार्दै थिएँ। यसपाली जति भने पनि लागेन। दुई दिनको मौन व्रतपश्चात उसको अगाडि घुँडा टेकेको थिएँ। यति चाँडै उसको रंग उडेको देखेर म केही डराएँ। ऊ मलाई देख्ने बित्तिकै केही अपेक्षाका साथ एकोहोरो हेर्न थाली। उसको अनुहारमा चिन्ता र पीडाका धर्साहरु प्रस्ट देखिन्थ्यो।

भान्सामा कोही नहुँदो हो त म उसलाई अँगालोमा लिँदै उसको शीर छातीमा टाँसेर एक हातले उसको पिठ्युँ बेर्दै अर्को हातले कपाल चलाउँदै सोध्ने थिएँ, ‘के भयो प्यारी। सासुससुराको सेवा गरेर मन भरियो?’ मेरो प्रश्नको अर्थ बुझेर सायद ऊ मुड्कीले मेरो छातीमा बजार्दै लाडे स्वरमा प्रतिवाद गर्नेथिइ। तर ऊ भान्सामा एक्ली थिइन। त्यसैले हामी आँखाको भाकाले कुरा गर्नभन्दा बढी केही गर्न सक्दैनथ्यौँ। केहिबेर त्यसै गर्‍यौँ। त्योभन्दा बढी कुराकानीका लागि मैले अलि अबेर रातसम्म कुर्ने निधो गरेँ।

खाना खाने बेलामा पनि उसले बल गरेर अनुहारमा हाँसो कायम राखेकी थिइ। म खानपान सकेर कोठामा पस्दा उ आमालाई भान्सामा सघाउँदै थिइ। घर आएकाले मैले केही आराम पाएको थिएँ। नभए उसले खाना बनाउँदा मैले भाँडा माझ्ने र मैले खाना बनाउँदा पनि मैले नै भाँडा माझ्ने नियम हुन्थ्यो। खासमा उसलाई सघाउन मनपर्थ्‍यो मलाई। आफूले जानेका नजानेका परिकार बनाएर उसलाई खुवाउने एक प्रकारको सौख नै पालेको थिएँ। घर आउँदा उसले त्यो परम्परा तोडी। म पनि एक किसिमले उसको परम्परागत पति बनेर रमाइ रहेँ। खाएको थालीसम्म चाहिँ धुन्थेँ। त्यसभन्दा बढी गर्न खोज्दा ऊ आफै प्रतिवाद गर्थी।

भान्साको काम सकेपछि ऊ लामो निश्वास छोड्दै कोठामा पुगी। आउने बित्तिकै ढोकाको चुक्कुल थुनी र ओछ्यानमा लडिरहेको मेरो छातीमा टाउको गाडेर मेरो टि–सर्ट तान्दै रुन थाली। उसँगको संवाद बेलाबेला निकै कठिन हुनेगर्छ। मानव सभ्यताको विकाससँगै लेख्ने, बोल्ने सीपको यत्रो विकास र अभ्यास हुँदा पनि ऊ आँशु र मौनताको भाषा बोल्न कहिल्यै छोड्दैन। अनि त्यो भाषा बुझ्न निकै मिहिनेत गर्नुपर्छ। उसले मबाट मन पढ्न सक्ने क्षमताको अपेक्षा गरेकी हो या उसका कुरा सुन्ने चासो देखाओस् भन्न खोजेकी हो, त्यो मैले बुझेको छैन। तर बेलाबेला ऊ यसै गरिरहन्छे। नबोली छातीमा टाउको गाडेर एकछिन रुन्छे र मेरो खुसामत पछिमात्र विस्तारै कुराहरु खोल्न थाल्छे।

कहिलेकाहीँ त लाग्छ किन उसले यसरी हाम्रो आपसी संवादलाई जटिल बनाउँछे होला? उसको उद्देश्य मसम्म कुरा पुर्‍याउनु भए सोझो शब्दमा मलाई कुरा भन्नुको साटो यसरी आँशु र मौनताको भाषामा किन बोल्छे? सीधासीधा कुरा राख्दा बरु म उसलाई बढी बुझ्न सक्थेँ होला र उसलाई चाँडै सान्त्वनाका शब्दहरु सुनाउन सक्थेँ होला। तर सँधै ऊ यो प्रकृयालाई घुमाउरो बनाउन चाहन्छे। मलाई थाहा छैन यो उसको मात्रै स्वभाव हो या सबै स्वास्नी मान्छे यस्तै हुन्छन्। जे होस् म उसको यो स्वभावसँग अभ्यस्त भइसकेको थिएँ। त्यसैले सदाझैँ उसको मन बुझ्न प्रश्नहरु गर्न थालेँ।

‘के भयो प्यारु?’

‘सुँक्क सुँक्क’

‘मम्मीले केही भन्नुभो?’

‘...’

यस्ता खाले संवाद जटिल हुनुको अर्को कारण भनेको सही प्रश्न नगर्दासम्म भक्कानो छुट्दैन। भक्कानो नछुटेसम्म बोली फुट्दैन। त्यति नभएसम्म कुरोको चुरोसम्म पुगिँदैन। यो मौन संवादमा हरेक गतिविधिको अर्थ हुन्छ। जस्तो कि सुँक्क सुँक्कको अर्थ गलत प्रश्न भन्ने हुन्छ। निकै कर गरेपछि छातीमा गाडिएको टाउको चलमलाउँछ। त्यसैले प्रतिकृयाअनुसार प्रश्न फेर्दै जानुपर्छ। प्रतिकृयाहरुको सँधै एउटै अर्थ हुनुपर्छ भन्ने चाहिँ हुँदैन। त्यो बेलाबेला फेरिन पनि सक्छ। त्यसका लागि प्रतिकृयासम्बन्धी आफ्नो जानकारी बेलाबेलामा मोबाइलको सफ्टवेयरको जस्तै अध्यावधिक गराइ रहनुपर्छ।

प्रश्नहरु कति सोधिए र कस्ता सोधिए भन्ने कुरालेसमेत मायाको नापोको काम गर्छ। जति धेरै प्रश्नहरु सोधियो त्यति कम माया गरेको भन्ने हुन्छ। किनभने माया गर्नेहरुले नबोलिकनै मनको कुरा थाहा पाउँछन् भन्ने कुरा हिन्दी सिरियल र प्रेम कथाहरुले सामजमा स्थापित गरेका छन्। त्यसैले म उसको प्रतिकृयाअनुरुप प्रश्नहरु सोध्दै जान थालेँ।

सासु–बुहारीको बदनाम सम्बन्धका धेरै कथा सुनेको हुनाले न आमाले पो केही भनिन् कि भनेर पहिलो प्रश्नमै त्यसलाई ठाउँ दिएको थिएँ। उसको सुँक्क सुँक्कले गलत प्रश्न सोधिएको संकेत गरेकाले मैले फेरि केही बोलिनँ। दोस्रोपटक सोध्दा भने छातीमा गाडिएकै टाउको हल्लाइ।

‘अनि के भयो त मेरो प्यालुलाई?’

‘सुँक्क सुँक्क’

‘बुवाले केही भन्नुभयो?’

‘सुँक्क सुँक्क’

‘मम्मी बुबाले भनेको कुरामा दुःख नमान्नु है प्यारु।’

‘सुँक्क सुँक्क ...उँऽऽ’

उसले नाकका पोराबाट एक गुजुल्टो स्वास फाल्दै छातीमा मुड्की बजारी। यसको अर्थ मेरा प्रश्नहरु गलत दिशामा गइरहेको भन्ने हुन्थ्यो। त्यसबेलासम्म त्यसको त्यही अर्थ थियो। त्यसैले अलिअलि आजित हुँदै फेरि मैले केही झर्केर प्रश्न गरेँ।

‘यो नि हैन त्यो नि हैन ... हो चाहिँ के नि?’

‘....’

‘मैले केही नराम्रो गरेको हो?’

‘....’

‘अरे बाबा बोल न केही त अनि पो थाहा हुन्छ त मलाई।’

छातीमा टाउको गाडेर सुँक्क सुँक्क गरिरहेकी उसलाई मेरो स्वर केही चर्को लागेछ। सायद आमाबाको निद्राको पनि ख्याल गरिछ। त्यसैले छातीबाट टाउको झिक्दै राता भएका आँशुले भिजेका आँखाका साथ मलाई हेर्दै केही झर्केर भनी, ‘अलि सुस्त बोल्न सक्दैनौ? सबैलाई बिउझाउँने मन छ कि के हो?’

‘सुस्त बोले जवाफ पनि त आउनु पर्‍यो नि!’

‘त्यै त... जसरी हुन्छ मलाई ममीबुबाको अगाडि नराम्रो बनाउ न त जानेका छौ।’

‘ल... तिमीसँग त कुरा गरेर कहिल्यै जित्न सकिन्न।’ मैले झर्केर जवाफ दिएँ। एक छिनपछि मलाई मेरो गल्तीको अनुभूति भयो। ऊ केही रिसाएका आँखाले मलाई एकटक हेरी रहन्छे। लगत्तै ओठको नक्सा फेर्दै, आँखा चिम्स्याउँदै आँसु झार्ने प्रयत्नमा लागि।

‘ल फेरी ...अनि भन न त के भएको हो? तिमीले नभनी मैले कसरी बुझ्छु त?’

उसको रुवाइमा परिवर्तन नआएपछि मैले उसलाई आफूतिर तानेर छातीमा टाँस्दै उसको केश सुम्सुम्याएँ र उसको रुवाइ कम हुनुको प्रतीक्षा गरिरहेँ। उसलाई मेरो स्पर्शले थोरै भए पनि हल्का महशुस गराएको हुनुपर्छ, उसको सुँक्क सुँक्कपन विस्तारै घट्दै गयो।

‘म कस्तो अभागी छु है।’ उसले एकाएक बोली फुटाइ।

‘छैनौ। यस्तो माया गर्ने बुढो पाउने पनि अभागी हुन्छ त!’ मैले हाँसो थप्ने कोसिस गरेँ। ‍

‘अँ... दिनभरी मलाई एक्लै छोडेर कताकता डुल्न जान्छौ। गर्‍यौ तिम्ले माया’ उसले मन्द आवाजमा आफ्ना गुनासो पोखी।

‘यतिका वर्ष पछि आएको। साथीभाइ के कस्तो छन् भनेर भेट्नलाई गएको हो। फेरि घरमा केही कामै हुँदैन। छटपटीले बस्नै सकिदैन।’ मैले आफ्नो सफाइ पेश गरेँ।

‘मलाई काममा सघाए त खेर जान्थ्यो क्यारे!’ उसले मतिर हेर्दै मलाई गिज्याउन खोजी।

‘सघाउन खोज्दा तिम्लाई पनि खुबै प्यारी बुहारी बन्नुपर्छ। नगर भन्छौ। अहिले चाहिँ यस्तो।’ मैले पनि उसलाई हाँस्दै जवाफ फर्काएँ।

‘अँ खुबै!’ उसले फेरि मेरो मुहारबाट नजर हटाउँदै जवाफ दिइ।

‘अनि तिमी रोएको चाहिँ मैले तिमीलाई नसघाएकाले हो?’ मैले जिज्ञासा राखेँ।

‘हैन ... त्यो पनि हो। त्यो मात्रै होइन।’ उसले केही हतार गर्दै जवाफ दिइ।

उसको कुरा सुनेर म एक छिन रोकिएँ। एकाएक बोली हरायो र धैर्यता पनि मेटिँदै गयो। म उसको दुखेको मन फेरि दुखाउन चाहन्न थिएँ। त्यसैले लामो निश्वासका साथ मौनता मै उसको सामना गरेँ। एक छिन केही नबोली नचली बसेँ।

‘के भो?’ उसले मेरो अनुहार जाँच्न मतिर फर्कँदै सोधी।

मलाई मेरो मौनताले काम गरेजस्तो लाग्यो। अब उसको बोल्ने पालो अनि मेरो सुन्ने पालो थियो। उसँगका यस्ता संवादमा उसलाई फकाइमात्र राख्दा प्रगति नहुने पक्का थियो। त्यसैले बेलाबेला आफै रिसाए जस्तो गरेर उसलाई फकाउने भूमिकामा उतार्नु नै यस्तो अप्ठ्यारा स्थितिको निकासको एकमात्रै उपाय हुन्थ्यो। यसपटक पनि त्यही उपाय काम लाग्दै थियो। म नबोली उसको खुल्नुको प्रतिक्षा गरी रहेँ।

उसले केहीबेरसम्म मलाई हेरेर फेरि आफ्नै पूर्ववत मुद्रामा फर्किइ। म मेरो उपाय काम गर्न लागेकोमा उसले नथाहा पाउने गरी मुस्कुराएँ। केही लामो समयको मौनता तोड्दै उसले मुख फोरी।

‘म यो पाली टीका लाउन नपाउने भएँ।’

‘किन?’ मैले अनभिज्ञता प्रकट गरेँ।

‘यसपाली समयभन्दा अलि अगाडि भयो।’ उसले कारण खोली।

‘मतलब?’ मैले कुरोको चुरो नबुझेर प्रश्न गरेँ।

‘हेर है मलाई रीस नउठाऊ!’ उसले केही चर्को स्वरमा जवाफ फर्काइ।

एक छिनमा उसले आफ्ना हात पेटतिर लगेर अँठ्याउन थाली। मुखबाट पीडाको स्वर निस्कन थाल्यो। अनि बल्ल मलाई उसको अवस्थाको जानकारी भयो।

‘कहिले भएको?’

‘अय्या ....आज दिउँसो।’ उसले मेरो हात समाएर पेटसम्म पुर्‍याइ। म उसको पेट मसार्दै उसलाई केही आराम दिने कोसिसमा लागेँ।

‘आमालाई भन्यौ?’

‘भनेको छैन। भनेको भए भान्सामा त्यसरी बसी रहन पाउँथे र?’

बल्ल उसको पीडाले भरिएको अनुहारको रहस्य खुल्यो। म पुरा चार वर्षपछि घर फर्केको थिएँ। ऊ पहिलो पटक घर पसेकी थिइ। हाम्रो दशैँको टीका आमाबाबाबाट थापेर पछि उसको घरमा टिकोटालो गर्ने योजना थियो। त्यसरी हामीले प्रवासमा गाँसेको सम्बन्धले स्वदेशमा पनि पारिवारिक र सामाजिक रुपमा वैधता पाउँथ्यो। परिवारले एक किसिमले चित्त त बुझाइ सकेका थिए। तर पनि परिवारको अनुमोदनद्वारा सम्बन्धलाई अझै बलियो बनाउने उसको ढिपी पुरा हुन बाँकी थियो। त्यसो त लामो समयसम्म विवाह नै पनि स्वदेशमै गरौँ भनेर उसले ढिपी कसेकी थिइ। अर्थ र समयले साथ नदिएपछि पछि स्वदेशमा दोस्रोपटक विवाह गर्ने भनेर फकाएर कागजी रुपमा विवाहको औपचारिकता निभाएको थिएँ। त्यही वाचा दशैंको टिकोटालोबाट पुरा गर्न यसपाली स्वदेश फर्केका थियौँ। त्यसो गर्दा हाम्रो सम्बन्धलाई पारिवारिक स्वीकृति दिने उसको ढिपी पनि पुरा हुने र देश फर्कने वर्षौदेखिको चाहना पनि पुरा हुन्थ्यो। त्यो योजनामा अहिले संकट आइलागेको थियो।

‘अनि? अब के सोचेको छौ त?’ लामो मौनता तोड्न मैले प्रश्न गरेँ।

‘तिमीलाई त के फरक पर्छ र?’ एकछिन भक्कानिएर हिक्का छोड्दै उसले जवाफ दिइ।

‘फरक नपर्ने भए सब काम छोडेर तिम्रो पछि लाग्दै नेपाल आउने नै थिइँन नि।’

हो यो यात्राका बारेमा हामी दुईको निकै फरक मत रहेको थियो। म विवाहलाई हामी दुईको व्यक्तिगत निर्णय मान्थे। मेरा लागि हामी राजी भएसम्म अरु कसैलाई मनाउनु पर्ने या सहमतिमा ल्याउनु पर्ने जरुरी थिएन। आखिर लामो समयसम्म हामी बाँचेको समाजमा हाम्रो सम्बन्ध स्वीकार्य नै थियो। खासमा त त्यो समाजमा हाम्रो सम्बन्धको बारेमा हामीबाहेक अरु कसैलाई चासोसमेत थिएन। सबै आ–आफ्नै जिन्दगीमा व्यस्त थिए। अरुको जीवनका निर्णयहरुका बारेमा चासो लिने र टीका–टिप्पणी गर्ने फुर्सत त्यहाँ कसैलाई थिएन। तर हामी जुन समाजमा जन्मेका थियौँ र जहाँ हुर्केका थियौँ, त्यहाँको संस्कारअनुसार हाम्रो सम्बन्ध आफन्तको बीच चर्चाको विषय बनेको थियो। मेरो लागि भन्दा उसको लागि स्थिति अझै जटिल थियो। आमाबाबाले उसको निर्णयलाई पढेलेखेकी छोरीको निर्णय भनेर सकारे पनि कागजी विवाहलाई उति सहज लिएका थिएनन्। हामी पो फरक समाजमा थियौँ। वहाँहरु त त्यही फुर्सदिला मान्छेहरु बस्ने समाजमा थिए जहाँका मान्छेहरुलाई आफ्ना बारेमा भन्दा अरुका बारेमा सोच्ने फुर्सद बढी हुन्छ। लोकलाजकै कारण पनि कतिपय कर्मकाण्डहरु निभाइनु पर्थ्यो। त्यसैका लागि उसले मलाई नेपाल आउन राजी गराएकी थिइ।

‘अब के गर्छौ?’ मलाई विस्मृतिमा हराउन दिएर ऊ घुक्क घुक्क गर्दै रोइ नै रहेकी थिइ। मैले उसका लागि नरम स्वरमा थप प्रश्न गरेँ। मलाई थाहा छ उत्तर त उसँग पनि छैन।

प्रवासमा हुँदा यी सब कुरा सोच्नै पर्दैनथ्यो। ऊ पर सर्नु खुशीको कुरा हुने गर्थ्यो। बरु कहिले काहिँ ढिलो हुँदा ऊ नराम्ररी आँत्तिन्थी। अन्य बेला त्यसको खासै असर हुँदैन थियो। खासमा ऊ कहिल्यै पर सर्दैन थिई। सदाझैँ साथमै हुन्थी। उसले गर्ने कृयाकपालमा केही अन्तर आउँदैन थियो। बरु महिनावारीका सुरुका दिनमा पेट दुख्दा मबाट थप माया र साथ पाउँथी। उसलाई पेट दुखाइ कम हुने कसरतहरु गराउँथे। पिठ्युँमा मालिस पाउँथी, पोषिलो खानेकुरा पाउँथी अलि त्यस्तै सुर चलेको बेला उसको प्याडसमेत फेरि दिन्थे। ती सब गरी रहँदा उसको खुशीको सिमा रहँदैनथ्यो। ऊ आँखाभरी आँशु बनाएर छातीमा टाउको गाडेर एकछिन रुन्थी र पछि दुई हातले टाउको समाएर निधारमा चुम्थी। मलाई पनि उसको सही अर्थमा जीवनसाथी बन्न पाएकोमा गर्व महसुस हुन्थ्यो। 

महिनावारीका बारेमा उसैले मलाई नजिकैबाट जान्न मद्दत गराएकी थिइ। त्यसअघि त त्यसका बारेमा भन्ने वा जिज्ञासा मेटाउने कोही हुन्थेन। विद्यालयमा नाममात्रको प्रजनन शिक्षा पढाइन्थ्यो। पढाउने सर पनि लजाउँथे पढ्ने विद्यार्थीको त कुरै छोडौँ। आँखिर हामीसँगै बेन्चमा बस्दा झोलाको पर्खाल लाउने पुस्ताका थियौँ। छोरीमान्छेहरुसँगको हाम्रो सामीप्यता थिएनै भन्दा पनि हुन्छ। उनीहरुको त्यस्ता नितान्त व्यक्तिगत समस्यासँग जानकार हुने कुरा त धेरै परको हो। घरमा पनि दिदीबहिनीहरु पर सर्दा छुनु हुँदैन भन्ने सिकाइन्थ्यो। उनीहरुलाई प्यास लाग्दासमेत हामीले माथिबाट उनीहरुका भाँडामा पानी हाली दिनुपर्थ्यो। पानीको धारले हामी दुबैलाई छुन्थ्यो अनि हामीले टेकेको धर्ती पनि उही हुन्थ्यो। त्यसको कसैलाई पर्वाह हुन्थेन। पहाडमा छुट्टै छाउगोठमा सुतेका कुराहरु सुनिए पनि सहरमा अलग ओछ्यानसम्म ओछ्याइन्थ्यो तर छाउगोठ बनाउने न जग्गा हुन्थ्यो न त्यति धेरै पाखण्ड खोज्ने समाज हुन्थ्यो। त्यति हुँदाहुँदै पनि छाउ बार्नुपर्थ्यो।

‘कसैलाई नभन न टन्टै साफ।’ निकै लामो मौनतापछि धेरै सोचेर मैले निस्कर्ष बोलेँ।

‘अनि ममीले थाहा पाउनु भयो भने?’ उसले तुरन्तै आफ्नो शंका जाहेर गरी।

‘त्यत्रो ट्याम्पुनदेखि प्याडहरु छन्। अलि चनाखो भयौ भने कसरी थाहा पाउँछन्।’ मैले आफूले बुझेको उपाय सुझाएँ।

‘अनि यस्तै टीका लगाउने?’ उसले थप सन्देह व्यक्त गरी।

‘नलगाउने भए नलगाऊ। तर फेरि दशैंमा आउन दुई तीन वर्ष कुर्नुपर्छ।’ उसका अघिको विकल्प तेर्स्याएँ।

‘अँ त्यसो त काँ हुन्छ?’ उसले असहमति जनाई।

‘देवीको प्रसाद हो लाउँदा के बिग्रन्छ। देवीले त कम से कम आइमाइको व्यथा बुझ्लिन्।’ मैले उल्याउन खोजेँ।

‘जे पायो त्यै।’ उसले ओठ लेब्रयाउँदै जवाफ दिइ।

‘हेर तिमीलाई र मलाई दुबैलाई थाहा छ यो सबै वाहियात हो। अनि यो नाटकमा हामी पनि किन सामेल हुने?’ मैले उसलाई सम्झाउन खोज्दै भनेँ।

‘हैन अरु त केही होइन। टीका लाउनमात्रै अप्ठेरो लागेको हो। यस्तो कडा मान्ने ठाउँमा, मान्छेलाई नै नछुनु पर्ने बेलामा भगवानकै टीका कसरी लाउनु?’ उसलाई खासमा मेरो परिवारको संकीर्णताको चिन्ता थियो। छाउपडी प्रथा भएको समाजका रुपमा चिनिने ठाउँमा ऊ त्यति ठूलो कदम उठाउन असहज महसुस गर्दै थिइ। भलै त्यो प्रथा ग्रामीण भेगमा सीमित भए पनि सहरमा पनि त्यसका अवशेषहरु ग्रामीण भेगबाट आएका परिवारसँगै पसेको थियो। मेरो परिवारमा पनि त्यसका अवशेषहरु बाँकी थिए। दिदीबहिनीभन्दा पनि आमाबा अलि कट्टर थिए।

‘भगवान त यसै छोइन्छन् त्यसै छोइन्छन्। ‘तोमे मोमे खड्ग खम्ब मे व्यापक विश्व पधारा है,’ भनेको हैन। यदि सबै चीजमा इश्वरको वास छ भने इश्वरलाई नछोइन पनि सकिन्छ? यदि ईश्वरलाई छोइन्छ नै भने टीका लाउन किन हुँदैन’ मैले तर्कद्वारा सम्झाउने कोशिस गरेँ।

‘अँ तिमीलाई भन्न जति सजिलो छ हामीलाई चित्त बुझाउन त्यति नै गाह्रो छ।’ उ त्यतिमै चित्त बुझाउन चाहँदैन थिइ। उसका लागि त्यो सहज पनि थिएन।

‘हेर हाम्रो धर्म भनेको सबैभन्दा अनौठो धर्म हो। हामी देवीको मलद्वारदेखि यौनीसम्म पूजा गर्छौ। गुह्येश्वरी र कामाख्या देवीको उपासना गर्ने हामीहरु घरका स्वास्नीमान्छेहरु पर सर्दा भने अनेक नाटक गर्छौ। मलाई त यी सब पाखण्ड सिवाय अरु केही लाग्दैन। तिमी कसरी यो सब कुरा स्वीकार गर्न सक्छौ?’ मैले केही गम्भीर भएर उसलाई प्रश्न गरेँ।

‘त्यो त हो है। कसले बनायो होला यो सब नियम?’ ऊ अघिसम्मको पिडा सबै भुलेर बहसमा तल्लीन भइसकेकी थिइ।

‘जसले बनाए पनि अहिले बनेको नियम यो पक्कै होइन। अथवा तिमीजस्तो आधुनिक समाजमा हुर्केकी नारीको लागि बनेको नियम पक्कै होइन। यो त त्यतिबेलाका नियम हुन् जतिवेला महिनावारीका क्रममा सरसफाइ राख्नका लागि पर्याप्त साधान श्रोतहरु नै उपलब्ध थिएनन्। अझै पनि हेर न, त्यही समाज बढी कठोर छ जहाँ महिनावारीका क्रममा प्रयोग हुने सामग्रीहरुको कुनै उपलब्धता नै छैन।’ मैले समाजका नियम र तिनको सम्भावित कारण खोतल्ने प्रयास गरेँ।

‘अँ त है! दूर दराजका पहाडका स्वास्नी मान्छेहरु यस्तो बेलामा के गर्दा हुन्?’ उसले आफ्ना थप जिज्ञासा मेरा सामु पस्किइ।

‘के गर्नु घरका फाटाटुटा कपडाहरुको प्रयोग गर्नेबाहेक उनीहरुका सामु के नै विकल्प हुन्छ र? शरीर ढाक्ने कपडा त मुस्किलले जुट्ने समाजमा यस्ता बेलाका लागि दिनदिनै फेर्ने कपडा हुने कुरै आएन। त्यही पुराना टाला बारम्बार प्रयोग गर्‍यो, घाम नलाग्ने ठाउँमा सुकायो, घरका अन्य सदस्यसँग साट्यो, त्यस्तै त हो नि।’ मैले मेरो जीवनका सारा भोगाइ र आफ्नो अध्ययनबाट बुझेका कुराहरुका आधारमा उसलाई जानकारी गराएँ।

‘अनि त्यसा गर्दा संक्रमणको खतरा हुन्न?’ उसले मलाई हेर्दै निधार खुम्च्याएर प्रश्न गरी।

‘नहसाउन! ह्वाँ मान्छे छाउ गोठमा बस्दा साँपले टोकेर, बाघले खाएर ज्यान गएका समाचार आउँछ, संक्रमणले केही भइ नै हाल्यो भने पनि कसले चाल पाउँछ?’ मैले उसलाई अखबारमा बेलाबेला आइरहने खबरहरुको निश्कर्ष सुनाएँ।

‘यो देशमा त छोरी भएर जन्मनु त कालै हो है।’ ऊ एकाएक विषादयुक्त स्वरमा बोली।

‘अब समयअनुसारका नियम हुन्। जतिबेला भित्री वस्त्र भन्ने नै थिएन, परिवारका सदस्य सबै टाँसिएको ओछ्यानमा सुत्थे त्यतिबेला केही जटिल संस्कृति भएकाहरुले आइमाइलाई महिनावारीका बेला अलग सुत्ने चलन चलाए होलान्। रक्तश्रावका बेला सबैसँग उठबस गर्न नै पनि त गाह्रो हुँदो हो। अब त्यो बाध्यता छैन। अब ती चलनहरु रहिरहन पनि जरुरी छैन।’ मैले पुराना चलनहरु पछाडिको तर्क अनुमान गर्दै उसलाई सुनाएँ।

‘लोग्नेमान्छे हौ, तिमीसँग आइमाइमाथि भएका सबै अत्याचारको जायज कारण नहुने कुरै भएन। बरु मान्छे जंगली अवस्थामा हुँदा र कपडाहरुको विकास नै नहुँदा आइमाइहरुले के गर्दा हुन्?’ उसले बहसलाई अझ पछिल्लो समयमा पुर्‍याइ।

‘त्यो बुझ्न त कि अफ्रिकाको कालाहारी मरुभूमीमा गएर वनमान्छेको जीवन बाँची रहेकाहरु कहाँ जानुपर्छ कि अझै पनि हाम्रो देशका वनजंगलमा घुमन्ते जीवन बाँची रहेका राउटेहरुको समाजमा जानुपर्छ।’ मैले उसको अघिल्लो आरोपको वेवास्ता गर्दै पछिल्लो कुराको मात्रै उत्तर दिएँ।

‘तिम्रो जति कुरा गर्न त कसले जानोस्।’ ऊ केहि मुस्कुराउँदै फेरी मेरो छातीमा गुजुल्टिइ।

मैले प्रतिवाद गरिनँ बरु उसँगै मुस्कुराएँ। उसको केश सुम्सुम्याउँदै उसलाई सुताउने प्रयास गरेँ। सायद दिनभरीको बुहार्तनको अभ्यासले ऊ थाकेकी थिइ। केहि बेरमै ऊ निदाइ। मैले बिस्तारै सिरान तल सारेर उसको तिर फर्केर एकछिन उसलाई हेरेँ। उसको धप्प बलेको अनुहारले मलाई भूपी शेरचनको मैनवत्तिको शिखा कविताको हरफ सम्झना आयो।

शुभ्र, शान्त र स्निग्ध

शिखा मैनबत्तीको।

मानौ,

प्रथम रजस्वलापछि

स्नान गरेर

शारदीय घाममा

आफ्नो कौमार्य छरेर

थकित–थकित झैँ

चकित–चकित झैँ

एक्लै–एक्लै मुस्कुराइरहेको

अनुहार हो यो कुनै

सुन्दरी नवयुवतीको।

म उसको त्यहि मैनवत्तीको शिखा सरी धप्प बलेको मुहार हेर्दै कतिबेला निदाएँ पत्तै भएन।

टीकाको दिन ऊ विहानै उठेर नुहाइधुवाइ गरी आमालाई पूजाको तयारी गर्ने जिम्मा दिँदै आफू भान्सा ठीक गर्नमा लागि। अघिल्लो दिन समाचारमा ९ बजेर सन्ताउन्न मिनेटको साइतको जानकारी गराइएको थियो। त्यसैका लागि बुबा पूजामा तल्लीन थिएँ। म अल्छी मान्दै ओछ्यानमा कोल्टे फेर्दै थिएँ। बुबाले बेला बेला घण्टी बजाएको र दुर्गा सप्तशतीको पाठ पढेको कानमा पुग्दै थियो।

वसुधेव विशाला सा सुमेरुयुगलस्तनी।

दीर्घौ लम्बावति स्थूलौ तावतीव मनोहरौ।। ७।।

कर्कशावतिकान्तौ तौ सर्वानन्दपयोनिधी।

भक्तान् सम्पाययेद्देवी सर्वकामदुघौ स्तनौ।। ८।।

..........

रातो दाँत भएकी देवीको आकार धरतीको जस्तै विशाल छ। उनको दुबै स्तन सुमेरु पहाड जस्तै छन्। ती लामा, चौडा र अत्यन्त मोटा र मनै हर्ने छन्। साह्रा हुँदाहुँदै पनि अत्यन्त कामुक र पूर्ण आनन्दको सागर छन्। सबै कामनाहरु पुरा गर्ने देवीले यी दुवै स्तन आफ्ना भक्तहरुलाई पिलाउँछिन्।। ७–८।।

घरभरी जौँतिल, कपुर र घिउ पोलेको गन्ध फैलिएको थियो। माहोल नै अर्कै थियो। मलाई देख्ने वित्तिकै आमाले नुहाउन अहराइन्।

बैठकमा ठूलो दन ओछ्याइएको छ। एकातिर गेरु वस्त्रमा बुबा बस्नु भएको थियो। अर्कोतिर हामी सबै बसेका थियौँ। बुवाले पालै पालो सबैका निधारमा टीका र हवनको तिलक लगाउनु भयो। हामी पालैपालो बुबालाई ढोग्दै गयौँ। बुबा प्रसादका रुपमा नरिवलका टुक्राहरु र छोहरा हातमा राख्नु भयो। एक छिनलाई भए पनि म बाल्यकालको सम्झनामा हराएँ। सालको नयाँ लुगा लगाउने दिन, विद्यालयबाट लामो विदाका दिनहरु, खुलामञ्चमा रावणको पुतला दहन गरिने दिन, आदिआदिको यादले मनमा अर्कै खुशी ल्यायो। वर्षौपछि छुटेका चाडहरुको एकमुष्ट आनन्द मिल्यो। बुबाआमाको टीका थापेर ऊ पनि निकै प्रसन्न देखिन्थी। अघिल्लो दिनका विषादका रेखाहरु उसको मुहारबाट बिलाएका थिए। म ऊ त्यसरी खुशी भएको देख्दा मनमनै गदगद हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell