PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

जब सन्ध्या हुन्छ झिझियामय बन्छ मिथिला



सुमित मिश्र

जब सन्ध्या हुन्छ झिझियामय बन्छ मिथिला

जनकपुरधाम : घटस्थापनाका दिनदेखि मिथिलाञ्चल क्षेत्रका महिलाहरु रातको समयमा महिलाहरू देवी दुर्गाको आह्वान गर्छन्, झिझिया नृत्य सहित। यस नृत्यमा बलिरहेको दियो भएको असंख्य प्वाल पारिएको घैंटो टाउकामा राखी नृत्य गर्ने गरिन्छ।

दशैं अवधिभर मिथिलाञ्चल क्षेत्रमा रहेका शहर देखी गाउँगाउँसम्म साँझ परेपछि झिझियाको गीत गुञ्जिन थाल्छ। मिथिला झिझियामय हुन्छ। 

घटस्थापनादेखि विजया दशमीसम्म देवी स्तुतिको रुपमा यो नृत्य गरिने गरिन्छ। तान्त्रिक विधि अनुसार गरिने झिझिया नृत्यको मिथिलामा आफ्नै महत्व रहेको छ। बोक्सीबाट आफ्ना सन्तान र समाजको सुरक्षाका लागि यो नृत्य गरिने गरेको जनविश्वास रहेको छ।  यस नृत्यको बनावट र स्वरुपभित्र जादु टुनामुना बोक्सी आदिको प्रभावलाई कम गर्न अनुष्ठान प्रारम्भ गरिएको मानिन्छ। बलिरहेको दियो तथा असंख्य प्वाल पारिएको घैँटो त्यसकै नमूना हो।

सामान्यतः झिझिया नृत्य गर्न एकदमै गाह्रो हुन्छ। घैंटो भने घुमेको घुम्यै हुने भएकाले अलिकति पनि त्रुटि भयो भने शरीर नै जल्न सक्ने खतरा समेत हुन्छ। टाउकोमा राखेर नृत्य गर्ने महिलाद्वारा टाउकोमाथि राखिएको घैंटो दायाँबायाँ हल्लाइरहने प्रवृत्तिले यसमा निहित विशेष अर्थलाई संकेत गर्दछ। महिलाको टाउकोमा राखिएको घैँटोको प्वाल कुनै बोक्सीले गन्न सफल भयो भने नाच्ने महिला ठहरै हुने जनविश्वास रहेको छ। त्यसैकारण सो घैँटो टाउकोमा राखी जादु टुनामुनाबाट मुक्ति पाउनका लागि परम्परागत रुपमै नृत्य गरिने गरिन्छ।

झिझिया नृत्यको आफ्नै सुर र ताल हुन्छ। विशेष सुर र तालमा तथा झिझियाको गीतमा झुमी टाउकामा घैँटो राख्ने महिला चारैतिर फन्को मार्दै नृत्य गर्दै जाँदा अदभूत  वातावरणको निर्माण हुन्छ। नृत्यसँगै गाइने सो गीतमा बोक्सीलाई गाली गरिनुका साथै धम्कीसमेत दिइने गरिन्छ। बोक्सीको अनैतिक शक्तिको प्रभाव सो गालीले कम हुने तथा सन्तानको सुरक्षा हुने जनविश्वास रहेको सांस्कृतिकविद् डा. रेवतीरमण लाल बताउँछन्। 

झिझिया लोकनृत्य धनुषा लगायत महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सासहितका जिल्लामा गरिने गरिन्छ। त्यस्तै भारतको मिथिला क्षेत्रमा पनि झिझिया लोकनृत्य गरिने गरिन्छ। झिझिया कुनै जाति विशेषको नभई सम्पूर्ण मैथिली समाजको लोकनृत्य हो।

झिझियाको सुरुवात

मिथिलामा झिझिया नृत्यको आफ्नै मौलिकता, पहिचान र इतिहास छ। घैँटोमाथि बल्दै गरेको आगोको डल्ला लिएर नृत्य गर्नु आफैंमा साहस र कलाको अलौकिक प्रदर्शनी हो झिझिया नृत्य।

समाज रुपान्तरणसँगै मिथिलाञ्चलका विभिन्न लोकनृत्यहरु हराउँदै गएका छन्। यद्यपि गाउँघर तथा शहर बजारमा झिझिया नृत्यको आयोजना गर्दै यसलाई जीवन्त राख्ने प्रयास भइरहेको छ।

केही वर्ष पहिलेसम्म तराई क्षेत्रमा बोक्सी सम्बन्धी घटना सार्वजनिक हुँदै आए पनि पछिल्लो समय कम हुँदै गएको छ। बोक्साबोक्सी जस्तो कुप्रथा समाजमा बढ्दै गएको जनचेतनाका कारण कमी हुँदै गएको हो। समाजमा बोक्सीको उपस्थिति रहेको भन्दै सातौं वा आठौं शताब्दीतिर बोक्सीविरुद्ध प्रतिकार गर्ने उद्देश्यले एउटा अनौठो नृत्यको प्रदर्शन गर्दै झिझिया नृत्यको सुरुवात् गरिएको इतिहासकारहरु बताउँछन्।

गाउँघरमा ती झिझिया नृत्यले निरन्तरता पाइरहँदा शहरबजार समेत झिझिया नृत्यबाट अछुतो रह्न सकेको छैन। जनकपुरमा दशैंको प्रत्येक रात समूह समूहमा महिलाहरु झिझिया नृत्य गरिरहेको त्यसै देख्न सकिन्छ।  दशैंको समयमा विभिन्न क्लबकै पहलमा झिझिया नृत्यको आयोजना गरिँदै आएको छ।

झिझिया लोकनृत्यको उदेश्य

समाजमा प्रचलित जनविश्वासअनुसार बोक्सी जादु मन्त्र सिकेर, त्यसको सिद्धीका लागि गाउँका जन्मजात बालबालिकालाई टुनामुनाद्वारा मारेर स्मशानमा त्यही मरेको बच्चालाई जिउँदो पारी नाङ्गै नृत्य गर्ने गर्छिन्। दशैंको समय बोक्सीको सिद्धी प्राप्त गर्नका लागि उचित समय भएको हुनाले बोक्सीका घटना बढी हुने गरेको कथन छ। घटनामा बृद्धि हुन थालेपछि महिलाले नै एउटा धार्मिक, सांस्कृतिक अनुष्ठानको सुरुवात् गरी भगवती दुर्गाको स्तुति र गुण प्रहार गर्ने बोक्सीको प्रहार शक्तिलाई निस्तेज पार्न झिझिया लोक नृत्यको प्रारम्भ गरेको पनि बताइन्छ।

आफ्ना सन्तान, परिवारको सुस्वास्थ्य र दीर्घजीवनको कामना यस नृत्यको मुख्य उद्देश्य रहेको छ। यसको अर्को उद्देश्य दशैंको समयमा देवीदुर्गालाई रिझाउनु पनि हो। झिझिया नृत्य गर्दै गाइने गीतमा बोक्सीलाई गाली गर्नुका साथै भगवती दुर्गाको स्तुति गरिएका अत्यन्त मोहक गीत पनि गाइन्छ। प्रत्येक दशैंमा आफ्ना खास सवारीसाथ आउने भगवतीको श्रृङ्गार डोलीमा सवारी र कामख्याको गन्तव्यको सजीव चित्रण गरिएका गीत गाइने गरिन्छ।

नृत्य अघिको तयारी

झिझिया नृत्य प्रारम्भ गर्न पूर्वतयारी गर्नुपर्छ। एउटा वा दुईटा स्वच्छ घैंटो किनेर त्यसलाई सफासुग्घर गरी घैंटोभरि प्वाल बनाइन्छ। घैंटोको मुखमा राखिएको ढकनामा आगो सल्काइन्छ। त्यसमा मट्टितेल हालेर बालिन्छ। त्यसपछि टाउकोमा राखेर नृत्य गर्नका लागि झिझिया तयार हुन्छ। तर, टाउकोमा राखी नृत्य गर्नुपूर्व झिझियालाई कुनै गुणी ओझाबाट मन्त्रद्वारा सिद्ध पारिन्छ। अर्थात् बोक्सीको आँखा नलागोस् भनेर धामीद्वारा छेकबार गरिन्छ।

यसरी मन्त्र गरिपछि ५ देखि १५ जनासम्मका महिला टोलीमध्ये एक वा दुई महिला टाउकोमा आगो बलिरहेको घैंटो राखेर विना हातको सहारा लिइ नाच्दैं ब्रह्मस्थानमा पुगेर सबभन्दा पहिले पूजा गरेर नृत्य गर्ने गर्दछन्। ब्रह्मस्थानमा नृत्य गरेलगत्तै झिझिया औपचारिकरुपमा सुरु हुन्छ। त्यसपछि घर–घरमा गएर नृत्य देखाउने परम्परा छ। प्रत्येक घरबाट पूर्णाहुतिका लागि अन्न रुपैयाँ चन्दा माग्ने गर्छन्। त्यही मागिएको रकम जोडेर विजयादशमीको दिन पूजापाठ, भोज र प्रसाद वितरण गरिन्छ र झिझिया लोकनृत्य बिसर्जन हुन्छ।

झिझियालाई बचाउने प्रयास 

झिझियालाई बचाउन मिथिलाञ्चलमा प्रयास भइरहेका छन्।

मिथिला नाट्य कला परिषदका वर्तमान अध्यक्ष परमेश झा नेपाल भारतको विभिन्न ठाउँमा गर्दै आएको सांस्कृतिक कार्यक्रममा झिझियालाई विशेष प्रस्तुतिको रुपमा राख्ने गरेको बताउँछन्। परिषद्ले केही वर्षयता झिझियाको ५ सयभन्दा बढी नृत्य प्रदर्शन गरेको छ।

जनकपुरकै राजदेवी युवा क्लबले हरेक वर्ष दशैंमा झिझिया नृत्य प्रतियोगिताको आयोजना गर्ने गर्छन। दशैंकै बेला जनकपुरको राम युवा कमिटी, महावीर युवा कमिटी र रामानन्द युवा क्लवको भजन सन्ध्यामा झिझियाको विशेष प्रस्तुति हुनेगर्छ।

यस लोककलालाई मिथिला कलाकारले बचाई राख्न सफल त भएका छन् नै साथसाथै यस नृत्यमा उनीहरुले आधुनिकतासमेत प्रदान गरिरहेका छन्। जसले गर्दा अहिलेका युवापिंढीमा यस नृत्यको लोकप्रियता बढ्दै गएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell