यस पटक दशैं आउनुअघि नै खबर आइसकेको थियो - चाडपर्वमा कसैलाई छुट्टी छैन।
महामारीबीच सीमा सुरक्षाको जिम्मेवारी सम्हालेर बसेका दीपक कोइरालाका लागि खबर अपेक्षित थियो। परिवारले पनि उनको कर्तव्य बुझिसकेका छन् अब त। त्यसैले चाहेकै समयमा छुट्टी पाइँदैन भन्ने स्वीकारे। स्वीकारे – यो पटक दशैंमा उनी घर आउँदैनन्।
तर, केही मानिस छन् जसका लागि दीपकको बिदा हरेक वर्ष चासोको विषय बन्छ। उनीहरूकै कारण दीपक सामाजिक सञ्जाल छाउँछन्। मिम बनेर।
यो वर्ष पनि त्यस्तै भयो। फेसबुक, ट्वीटर, इन्स्टाग्राममार्फत् प्रयोगकर्ताहरूले सोध्न थाले : यो पटक यी दाइले बिदा पाए कि पाएनन्?
ती मिममा देखिएको आफ्नै फोटो र मानिसले लेख्ने क्याप्सनले निकै राहत दिलायो दीपकलाई। 'कामको तनाव हुन्छ। त्यसमाथि महामारीको समयमा पनि सेवामै खट्नु पर्ने जिम्मेवारी छ। यस्तो अवस्थामा सामाजिक सञ्जालमा आफ्नैबारे बनेका सकारात्मक ट्रोलहरू देख्दा खुशी लाग्छ', उनी भन्छन्,'लाग्छ, मेरा कारण कोही रमाएका छन्। उनीहरूका कारण मैले दु:ख बिर्सने मौका पाएको छु।'
दीपक आफूले गर्ने हरेक काममा रमाउँछन्। त्यसैले त आपत्को घडीमा परिवारसँग हुन नपाउनुले पनि दु:खी बनाएको छैन। दशैंको समय आफ्नाहरूलाई भेट्न नपाउनुले पनि खिन्न बनाएको छैन। संसारले भोग्नु परेको महामारीको असर नियन्त्रणका लागि दिनरात नभनी खट्नु पर्ने आफ्नो कर्तव्यलाई सहर्ष स्वीकारेका छन्। काममा रमाएका छन्।
जुन काममा रमाउन सक्दैनन् त्यसलाई सर्लक्क छाड्छन्। त्यसरी नै छाडे एउटा काम जसले जोड्यो उनलाई बर्दी र बन्दुकसँग। सशस्त्र प्रहरी बलसँग। त्यहाँ भर्ती हुनुलाई सुखद् संयोग मान्छन् उनी।
पत्रकारिता छाडेर प्रहरीमा
२०६० सालतिर दोलखाका दीपक काठमाडौंमा पत्रकारिता गर्थे। पत्रकारिता गर्न रत्नराज्य क्याम्पसमा पत्रकारिता पढे।
बुबा देवीप्रसाद कोइराला भने नेपाली सेनाका अवकाश प्राप्त प्रमुख सुबेदार थिए। उनी छोरालाई पनि फौजी नै बनाउन चाहन्थे। बुवाको चाहनामा दीपकको पनि रहर मिसियो। त्यसैले बुबाले देखाएको बाटो पच्छ्याउने निर्णय लिए दीपकले। पत्रकारिता छाडे। र, सशस्त्र प्रहरी बलमा भर्ती भए।
कलम समाउनमा रमाएका दीपक बन्दुक समाउन पुगे।
तर, उनीभित्रको कलम र कलाको भोकले उनलाई छाडेन। घण्टौं लामो थकाइपूर्ण तालिमहरू बीच पनि लेख्न छाडेनन्। तालिम गर्दागर्दैका ती केही रोचक अनि केही पीडादायी भोगाइहरुलाई कापीमा कोर्थे। शारीरिक थकाइ, परिवारबाट टाढा हुनुको पीडा, याद र आफ्नो कर्मप्रतिको सन्तुष्टिलाई कहिले गीतमा उतार्थे त कहिले कवितामा।
उनको लेखाइप्रतिको लगाव र पत्रकारिताको अनुभवका कारण सशस्त्र प्रहरीमा पनि मिडिया सम्बन्धित काम गर्ने श्रव्यदृश्य शाखामा अनुबन्धित भए। शाखाले गीति भिडियो, टेलिश्रृङ्खला, फिल्म उत्पादन गर्थ्यो। त्यहाँ उनले अभिनय सिक्ने मौकासमेत पाए।
रेडियोमा छाएको गीतदेखि सामाजिक सञ्जालका ट्रोलसम्म
२०६२ सालमा दशैं विशेष टेलिश्रृङ्खला 'खसी' बन्ने भयो जसको क्लाइमेक्सका लागि आवश्यक पर्यो एउटा गीत। गीत लेख्ने जिम्मेवारी पाए कोइरालाले। उनले गीत तयार पारे जोसिएरै जसमा लय जयनन्द लामाको 'धानकै बाला झुलाउँला' भन्ने गीतको थियो। तर, भोगाइ र शब्द भने उनकै।
गीतमात्र होइन टेलिश्रृङ्खलाको मुख्य कलाकार पनि उनी नै हुने भए। उक्त टेलिश्रृङ्खला दशैंको फूलपातीको दिन प्रसारण भयो, नेपाल टेलिभिजनमार्फत्। श्रृङ्खलामा प्रयोग गीत त एकाएक हिट भयो। सशस्त्र प्रहरीको श्रव्य दृश्य शाखामा सो गीतमात्र काटेर बजाउने अनुरोध टेलिभिजनहरुबाट आए।
जुन गीत आजसम्म पनि हरेक वर्ष दशैं आसपास बज्छ-
'वर्षमा दिनको यो बडा दशैं कमेरो लाइएन
देश र जनता भन्दामा भन्दै घर जान पाइएन
धानकै बाला झुलाउँला, मायालाई बोलाउँला…'
२०६४ सालमा खुल्ला प्रतियोगितामार्फत् निरीक्षकमा नाम निकाले दीपकले। त्यसपछि त श्रव्यदृश्य शाखाको प्रमुख नै उनी। त्यहाँ रहेर उनले कलाकार उद्घोषणदेखि वृत्तचित्र लेखक तथा निर्देशनसम्मको काम गरे। श्रव्यदृश्य शाखामा रहँदा उनले सशस्त्र प्रहरीका १०० भन्दा बढी टेलिश्रृङ्खला एवं १५० वटा वृत्तचित्र लेखे। लेखन साथै निर्देशन र अभिनय कलाको भरपुर प्रयोग गरे।
त्यो कलाको साक्षी सशस्त्र प्रहरी बलमात्र भने बनेन।
एकपछि अर्को गर्दै उनको लेखन, स्वर, अभिनय वा निर्देशन रहेका सामाग्रीहरु सार्वजनिक हुँदै गए।
उनका 'चाहिँदैन सुन चाँदी हिरा नि, सुख दु:ख राइफलको सिरानी', 'फौजीलाई कुन हो दशैं कुन हो चाड तिहार', 'घरदेश परदेश' गीतहरु चर्चित् छन्। सबै गीतले फौजी जीवनको व्यस्तता, चाडपर्वमा घर जान नपाउनुको पीडा, परिवारको सम्झना आदि बारे भाव समेट्छन्।
यी गीतहरु हरेक वर्ष रेडियो, टेलिभिजनमा त बज्छन् नै साथै आजभोलि सामाजिक सञ्जालमा पनि गीतका क्लिप तथा ट्रोलहरु छाउन थालेका छन्।
२०७६ को दशैं नजिकिँदै गर्दा गीतको भिडियोमा देखिएका दीपक कोइरालाको फोटोसहित मिम देखिन थालेको छ- 'यो वर्ष पनि यी दाइले बिदा पाएनन् भने म पनि घर जान्न।'
'यो पालि दशैंमा मलाई केही चाहिंँदैन। यो दाइले छुट्टी पाए पुग्छ।'
दीपक यस्ता ट्रोलहरु हेर्दै एकोहोरो मुस्कुराउँछन्।
अहिले दीपक बर्दिबासमा खटिएका छन्। गीतले भनेजस्तै चाहेको बेलामा बिदा पाउँदैनन्। बुबा, आमा, श्रीमती र तीन छन् उनको बाटो हेर्ने। अघिल्ला वर्षहरूमा त प्रश्न गर्थे,'कहिले आउने?'
दीपक भन्थे,'छुट्टी मिलेपछि।'
यो पटक परिवारले बुझे – सहजै छुट्टी मिल्दैन। छोराछोरी पनि बुझ्ने भए - बुबा बोलाउन साथ आउन पाउँदैनन्। त्यसैले बुबाको फोटो राखेर बनाइएका ट्रोलहरु उनलाई नै पठाएर जिस्काउँछन्।
पहिलोपोस्टसँगको संवादमा भने,'दशैं आउन थाल्दा मेरो बिदाको पीर धेरैलाई पर्छ। मेरा शुभचिन्तकहरुको साथले झन् उर्जाका साथ सेवामा खटिने जोश बढ्छ।'
यो वर्ष शुभचिन्तकहरूको कामना कोभिड-१९ बाट जोगिनका लागिसमेत आवश्यक भएको बताउँछन् उनी। भन्छन्, 'माया, प्रेम र स्नेह सधैं पाइरहुँ। यो पटक सुरक्षित र स्वस्थ रहन सकें भने अर्को पटक त दशैंमा कसो गाउँ, दोलखा नजाउँला।'
नयाँ गीत कहिले?
गीत संगीतकै कारण चर्चमा रहेका उनलाई नयाँ गीत ननिकाल्ने? भनेर गरिएको प्रश्नमा उनले भने, 'म देशको सिपाही हुँ। संगठनले स्थान दिँदा मैले आफ्नो रहर पनि पूरा गर्ने मौका पाएँ। अब देशको सेवा पनि त गर्नु पर्यो।'
उनी हाल छोरालाई अधिकृत रहेर ठाउँ ठाउँमा खटिएको हेर्न चाहने बुबाको सपना पूरा गर्न लागि परेको बताउँछन्। भने, 'मभित्रको कलाकार त उस्तै छ। त्यो कलाकारले श्वास फेर्न बिर्सिएला तर कला र साधना छोड्दैन। म मेरा प्रशंसकहरुका लागि नयाँ कोशेली लिएर फेरि आउनेछु।'
-प्रसङ्ग विशेष जानकारी थप गरी पुन: प्रकाशित गरिएको सामाग्री। सं.