इटालीमा पछिल्लो २४ घण्टामा हालसम्म कै धेरै कोरोना भाइरसबाट संक्रमित व्यक्ति पहिचान भएका छन्। इटालीको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रवार १ लाख ८२ हजार स्वाब परीक्षण गर्दा १९ हजार १४३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको हो।
यससँगै इटालीमा कोरोना संक्रमितको संख्या १ लाख ८६ हजार पुगेको छ।
शुक्रवारमात्रै ९१ कोभिड १९ संक्रमितको मृत्यु भएको छ। यससँगै ३७ हजार ५९ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।
कोरोना संक्रमण युरोपमा फैलिँदा भाइरसको इपिसेन्टर बनेको इटालीमा फेरि संक्रमणको गति बढेको हो।
संक्रमण बढेसँगै इटाली सरकारले गत हप्ता रात्रिकालिन कर्फयु सहितको नयाँ प्रतिबन्ध लागू गरेको थियो। तर ती प्रयासहरु संक्रमण रोक्न असफल भएको भन्दै आलोचना समेत भइरहेको छ।
इटालीका प्रधानमन्त्री गुसेप्पे कोन्टेले भाइरस नियन्त्रण गर्न अर्को लकडाउनमा जान नसकिने भन्दै सबैले मिलेर काम कोभिड १९ फैलिनबाट रोक्न प्रयास गर्नुपर्ने बताएका छन्।
