PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

मदनदासलाई 'महिषासुर' बनाउने दशैँ रेडियो नाटकको त्यो हाँसो



स्वेच्छा राउत

मदनदासलाई 'महिषासुर' बनाउने दशैँ रेडियो नाटकको त्यो हाँसो

'भक्त महिषासुर, म तिम्रो हजारौं वर्षदेखिको तपस्याबाट धेरै प्रसन्न छु। जो इच्छा छ वरदान माग।'

-'हे जगतपिता, हे श्रृष्टिकर्ता मलाई मृत्युदेखि ज्यादै डर लाग्छ। यदि हजुर मदेखि साँच्चै प्रसन्न होइबक्सन्छ भने मलाई अमर बनाइ बक्सियोस् प्रभु।'

'बालक महिषासुर, संसारमा जन्म लिएपछि मर्नैपर्छ। जन्मपछि मृत्यु र मृत्युपछि जन्म धुव्र सत्य छ, त्यसैले अमर भन्दाबाहेक अरु केही माग बाबु।'

- 'त्यसो हो भने हे ब्रह्मदेव मलाई कुनै देवताले मार्न नसकून्। दैत्यले मार्न नसकून्, मानवले पनि मार्न नसकून्। यदि सक्दछे भने कुनै स्त्रीको हातबाट मेरो मृत्यु होस्। नभए मेरो मृत्यु नहोस्। 

'तथास्तु !'

लगत्तै राक्षस हाँस्छ-'हुहाहाहाहाहा… हुहाहाहाहाहाहा….'


यसरी रेडियो नाटक 'महिषासुर वध' सुरु हुन्छ। घटस्थापनाको दिनदेखि प्रसारण हुने दशैं विशेष रेडियो नाटकको एउटा अङ्क हो यो। दिउँसो १ बजेपछि रेडियो नेपालमा मालश्री धुन बज्थ्यो र प्रस्तोताले उद्घोष गर्थे- अब प्रस्तुत छ नाटक…
लेखक- गोपालप्रसाद ज्ञवाली
निर्देशक- मदनदास श्रेष्ठ 

कहिले देउताहरु बोलेको त कहिले राक्षस चिच्याएको आवाज चाख मानी-मानी सुन्नेहरुको जमात थियो। 

'महामाया', 'दुर्गा सप्तशति', 'शुम्भ-निशुम्भ वध', 'भवानी उत्पत्ति' आदि पनि दशैं नाटकका अङ्कहरु हुन्। यी नाटकहरुले आश्विन शुक्ल प्रतिपदादेखि दशमीको दिनसम्म जोडिएका धार्मिक किंवदन्तिहरुको नाट्य रुपान्तरण गर्थे। 

त्यसताका मदनदास श्रेष्ठ रेडियो नेपालमा नाटक निर्देशकको रुपमा कार्यरत थिए। उनले सञ्चालन गर्ने कृषि सम्बन्धी कार्यक्रम 'जेटिए र बूढी आमै' चर्चित थियो। त्यसैले पनि रेडियोका नियमित श्रोतालाई उनको आवाज चिन्न गाह्रो थिएन। धेरैले सजिलै ठम्याए 'महिषासुर वध'का महिषासुर उनै हुन् भन्ने। 

'परिचय नै बद्लियो', मदनदास श्रेष्ठ पुराना कुरा सम्झन्छन् र सुनाउँछन्,'श्रोताका लागि जेटिए मात्र थिएँ। दशैं विशेष नाटक प्रसारणपछि राक्षस पनि भएँ।' 

इन्द्रका रुपमा दीपकराज गिरी

विभिन्न धार्मिक कार्यक्रम तथा नाटक गर्दै आएको नाटक सेक्सनका कर्मचारीहरुको लागि दशैंसँग जोडिएका कथाहरु नयाँ विषय बन्यो। निर्देशन तथा संयोजनका लागि मदनदासले पहल गरे। संवादमा काम गर्ने भए चेतुनाथ शर्मा र गोपालप्रसाद ज्ञवालीको टोलीले। कलाकारहरु पहिलोपटक दैत्य र देवता बन्ने भए।

त्यस समय महिषासुर वधमा भगवान् इन्द्रको भूमिका गरेका कलाकार दीपकराज गिरी भन्छन्, 'त्यतिखेर त खुशी थियौं, आफूले गर्ने नाटकको सूची बढ्दै थियो। अहिले अति नाटकीय काम गरेको महसुस हुन्छ।' 

दिनभर लगाएर पालैपालो, एकपछि अर्को माइकसामु उभिएर रेकर्डिङ गरेको अझै सम्झन्छन् कलाकार सुरविर पण्डित।

'हाम्रो लागि त राम्रो काम पाउनु नै दशैं आउनु थियो। दशैं विशेष नाटक पनि त्यस्तै बन्यो। हरेक कलाकारले नाटक गरे वापत् ३०० रुपैयाँ पाउँथ्यौं।' 

उनी आफू कहिले महिषासुरको चम्चा त कहिले देउताहरुको चम्चा बनेर अभिनय गरेको सुनाउँदा दङ्ग पर्छन्। भन्छन्, 'अब त त्यसरी एकसाथ काम गर्ने मौका जुर्न गाह्रो छ। एकएक गर्दै सुटिङ र एकएक गर्दै डबिङ गरिने वातावरणमा त्यो मज्जा छैन।'

रेडियो नेपालको ६ नम्बर स्टुडियो पुग्दा उनी आज पनि ती धार्मिक नाटक रेकर्ड गर्दाका पुराना दिनहरु सम्झिन्छन्।

स्वर, हाँसोको चर्काइ, नम्रताको आधारमा कलाकार चयन हुन्थे। नाटकमा महिषासुर वा अन्य राक्षसको भूमिकामा प्रायः निर्देशक मदनदास स्वयं आवाज दिन्थे। किनकि उनको आवाज ‘बोल्ड’ थियो। 

देवीको भूमिका सुनिता मालाकार, सपना श्रेष्ठ, शकुन्तला गुरुङ लगायतले गर्थे। देवताको भूमिकामा उदय खनाल, सुरेश अधिकारी, यदुनाथ शर्मा आदि हुन्थे। श्रीप्रसाद थापा, दमन रुपाखेती, दीपकराज गिरी, राजेश कार्की, राजकुमार न्यौपाने, श्यामशेखर श्रेष्ठ, सुनिल पुरी, दीपक कोइराला, मनोज बुढाथोकी, शोभिता पराजुली लगायत पनि अभिनय टिममा थिए।

'टिम ठूलो थियो त्यसैले काम सजिलो पक्कै थिएन। तर पनि नाटक नै गरिरहेका कलाकारहरु भएकाले केही राहत मिल्थ्यो', मदनदास निर्देशकीय अनुभव साट्छन्।

टेबलमा मादल गुडाएर 'साउन्ड इफेक्ट'

दशैं नाटक बनाउनु अघि उनी सामाजिक विषयमा अन्य नाटक बनाउँथे जसको 'साउन्ड इफेक्ट'हरु पाउन त्यति गाह्रो हुन्नथ्यो। जब ‘दशैं’ नाटक बनाउन थाले आपत पर्‍यो। युद्धभूमि, रथ गुडेको, आगो लागेको आदि संकेत कसरी गर्ने? निकै गाह्रो भएको सम्झन्छन् उनी। 

उनको पहिलो रेडियो नाटकमा 'श्रीकृष्ण जन्म'मा रथ गुडाएको झल्को दिन प्रयोग गरेको 'ट्रिक' काम लाग्यो।

'टेबलमा मादल गुडाएको, टेपको रिल चलाएर रेकर्ड गरेको याद थियो। त्यही तरिका अपनाएँ। कतिपटक चाहेकोजस्तो आवाज निस्किँदैनथ्यो त्यसैले संवादमार्फत् पृष्ठभूमिको जानकारी दिन्थ्यौं', उनी धार्मिक नाटक बनाउनुको अप्ठ्याराहरु बारे बताउँदै थिए।

नाटकलाई जिवन्त बनाउन ध्वनिमा निकै मेहनत गरेको बताउँछन् उनी। यसका लागि ध्वनि संयोजन तथा रेकर्डिङको पाटो सम्हालेका अशोक श्रेष्ठ, गौतम मानन्धरको टोलीलाई सम्झन्छन्। 

वास्तविकता पर राखेर आफूले नदेखेको,  नभोगेको कथामा नाटक गर्नुले उनलाई रेडियोका फरक श्रोता चिन्न सहयोग गर्‍यो। 

'हामी चेतनामूलक नाटकहरु बनाउँथ्यौं। दशैंका किंवदन्तीहरुको नाटक बनाएपछि थाहा भयो धार्मिक कुरामा रुचि भएका स्रोता पनि छन् भन्ने। केहीले रेडियोभित्र देउता छ भनेर रेडियोलाई नै पूजा गरेको किस्सा पनि सुनें र कसैको केटाकेटी राक्षसको आवाज सुनेर तर्सेको पनि सुनेँ।'

यस्ता किस्साहरुले अरु धार्मिक नाटक निर्देशनका लागि हौस्यायो। फलस्वरुप उनले तिहारको यमपञ्चक विशेष कथाहरुमाथि पनि काम गरे। र, तिहारका पाँच दिनका फरक महत्व बोक्ने किंवदन्तीहरुलाई पनि नाटकको रुप दिए। 

कहिले रिहर्सल त कहिले रेकर्डिङ, कहिले मिक्सिङ त कहिले सम्पादन। दशैं तिहारभरी प्रसारणको दिन आउने प्रतिक्रियाले सबैलाई खुशी दिन्थ्यो। 

दीपकराज गिरी भन्छन्,'नाटक सुन्न बसिन्थ्यो। ३० मिनेटको नाटकमा आफ्नो पालो कहिले आउँछ भनेर पर्खनुपर्थ्यो। बल्ल-बल्ल आउँथ्यो अनि एकछिनमै सकिन्थ्यो।' 


घटस्थापनादेखि दशमीसम्मको धारावाहिकले राम्रो प्रभाव पारेको दावी गर्छन् मदनदास श्रेष्ठ। २०५२ सालमा बनाएको यो नाटक त्यसपछि हरेक वर्ष बज्न थाले। २०५६ सालमा कृषि कार्यक्रमको लागि सर्भे गर्न स्याङ्जा पुगेका थिए श्रेष्ठ लगायत टोली। चिया पसलमा उनको हाँसो सुनेर स्थानीयले बोलाए र सोधे- तपाईं रेडियोको महिषासुर होइन? उनले ‘हो’ भन्नासाथ गाउँलेले आग्रह भावमा बोले- तपाईंहरुले खुब राम्रो काम गर्नुभएको छ। स्वस्थानी व्रत कथाको पनि नाटक बनाइदिनु न।

'गाउँमा अक्षर चिन्ने कोही रहेनछन्। पढेका जति जागिर खान सहर वा विदेश हिँडेछन्। मैले ती व्यक्तिलाई नाईं भन्न सकिनँ', उनले नाटकको प्रभाव प्रष्ट्याउन चाहे। स्याङ्जाबाट फर्केपछि ३१ अध्यायको व्रतकथालाई ३१ भागमा प्रसारण गरे। जुन नाटक अहिलेपनि माघ महिनाभर रेडियो नेपालमा बज्छ। 

मदनदास रेडियो नाटकलाई निकै अप्ठ्यारो तर प्रभावकारी माध्यमको रुपमा व्याख्या गर्छन्। 'बोलेरै मात्र कथा, घटनाक्रम, पात्र, पृष्ठभूमि बारे स्रोतालाई बुझाउनु पर्थ्यो। अहिलेजस्तो इन्टरनेटको जमाना थिएन। साउन्ड इफेक्टहरु पाउन पनि गाह्रो। तर पनि गर्‍यौँ। तिनै नाटक आज पनि बज्छन्।'

समयसँगैको परिवर्तन उनले पनि महसूस गरेका छन्। त्यसैले उनी चाहन्छन्, सप्तचण्डीमा आधारित यी नाटकहरु पुन: बनाइयोस् जुन जीवन्त र वास्तविक लागोस्। आजका स्रोताले पनि उस्तै चाख दिएर सुनुन्। 

'समयसँगै रेडियो कार्यक्रमको स्रोता फेरिएका छन्, माग फेरिएको छ, ढाँचा फेरिएको छ, हामी पुरानै कुरामा रमाएर हुँदैन। ती नाटकहरु त्यो बेला राम्रा थिए, त्यो बेला महत्व बोक्थे अहिले त्यति नै विश्वसनीय नहुन सक्छ', उनी आफ्नो विचार राख्छन्।


हाँसोका कारण रेडियोका महिषासुर भनेर चिनिएका उनी राक्षस कहलिँदा पनि दु:खी छैनन्। 'त्यो मैले गरेको भूमिका हो। खुशी लाग्छ, मेरो कलाका कारण आजसम्म चिनिनँ पाएकोमा।' 

आजभोलि उनी टेलिश्रृङ्खला, विज्ञापन र फिल्महरुमा देखिन्छन्। तर पनि रेडियोमा बोल्नु र स्रोतालाई आफ्नो कुरा बुझाउन उनलाई निकै मज्जा लाग्छ। 'जुन कल्पनाशीलता रेडियोमा प्रयोग हुन्छ, त्यो अन्य माध्यममा हुँदैन।'

उनका नातिहरु भर्खर युट्युब हेरेर रमाउन थालेका छन्। 

'यसपालि दशैंमा उनीहरुलाई आफ्नो महिषासुर हाँसो सुनाउने योजनामा छु', उनले हाँस्दै भने। उनको त्यो हाँसो महिषासुरको जस्तो नाटकीय भने सुनिएन। 
 
 

-दशैंको अवसरमा यो सामग्री सान्दर्भिक देखिएकाले पुन: प्रकाशन गरिएको हो। सं.



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell