काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले दशैंको अवसरमा शुभकामना दिँदै परिस्थितिको बाध्यताअनुरुप पर्व मनाउन अपिल गरेका छन्। आइतवार एक विज्ञप्तिमार्फत शुभकामना दिँदै मन्त्री ढकालले यस पर्वमा मापदण्डलाई पूर्ण रुपमा पालना गर्नसमेत आग्रह गरेका छन्।
'यसपटक कोरोना महामारीका कारण हामीले जनस्वास्थ्यको मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्ने भएकाले यस चाडलाई सीमित रुपमा मनाउनुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको छ। परिस्थितिको यो बाध्यता अनुरुप नै चाडपर्व मनाउन सम्पूर्णमा अपलि गर्दछु,' ढकालले भनेका छन्।
मन्त्री ढकालले महामारी विरूद्धको लडाइमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने कार्यमा जनताबाट प्राप्त साथ सहयोग प्रति आभार व्यक्तसमेत गरेका छन्। सरकारले निरोगी नेपालका लागि काम अघि बढाएको उल्लेख गर्दै उनले यसको पूर्ण कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको जनाएका छन्। भनेका छन्, 'समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि हामीले स्वस्थ्य नागरिकाको उत्पादनमा ध्यान दिनुपर्छ। त्यसैका लागि सरकारले निरोगी नेपालका लागि काम अघि बढाएको छ। संविधानमै सुनिश्चित भएको स्वास्थ्यको मौलिक हकको पूर्ण कार्यान्वयनका लागि हामी काम गरिरहेका छौँ।'
कोरोना त्रासको समयमा सरकार जनताको जीवन रक्षाको लागि सदैव प्रतिबद्ध रहेको मन्त्री ढकालले बताएका छन्। 'स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्पूर्ण नागरिकको जीवन रक्षाको लागि सदैव प्रतिबद्ध छ। मन्त्रालयले सबै सरकारी, निजी तथा समुदायबाट संचालित अस्पतालहरूलाई कोभिड–१९को परीक्षण तथा उपचार गर्ने गरी व्यवस्था गरेको छ,' ढकालले भनेका छन्, 'अक्सिजन, आवश्यक औषधि तथा उपकरणहरूको अभाव हुन नदिन मन्त्रालयले ठोस योजना सहित प्रभावकारी व्यवस्था मिलाएको छ। अस्पताल नभएका ६४९ स्थानीय तहमा ५ बेडको अस्पताल स्थापना गरी संचालनको लागि आवश्यक बजेट व्यवस्था गरी पठाइएको र स्थानीय तहहरूमा कार्य शुरु भइसकेको छ । अस्पतालको गेडभित्र प्रवेश गरेको बिरामी उपचारबिना फर्कनु नपरोस भनेर गरिब, बिपन्न र वेबरिस मानिसको आकस्मिक उपचार निशुल्क गर्नेगरी व्यवस्था मिलाएका छौँ।'
सरकार सधैँ आम नागरिकको साथमै रहेको उल्लेख गर्दै मन्त्री ढकालले यो महामारी विरूद्धको लडाइमा राज्य र जनताको बीचमा बलियो र विश्वासिलो एकता स्थापित गर्न जरूरी भएको बताएका छन्। 'सबै तहका सरकार, राजनीतिक दलहरू, समूदायहरू, नागरिक समाज, निजी क्षेत्रबाट निरन्तर सहयोगको अपेक्षा गरेका छौँ।'