पाटन अस्पतालको इमर्जेन्सी वार्डमा काम गर्दा प्रमोदलाई लाग्थ्यो – सिलिन्डर ओसार्नु तलब पकाउनु हो।
२० दिनअघि कोभिड वार्डमा सरेपछि भने उनलाई लाग्न थालेको छ– सिलिन्डर ओसार्नु भनेको मान्छे बचाउनु हो।
अस्पतालका बेडमा सास फेर्न गाह्रो भएर मानिसहरु बेस्सरी छट्पटिएको देखे उनले। छट्पटाउँदा छट्पटाउँदै ज्यान गुमाउनेहरूको अन्तिम चिच्याहट पनि सुने। आफन्त गुमाउनेहरूको आँशु देखे।
सँगै देखे - सिलिन्डर लगाएपछि राहतको सास फेर्नेहरू। केही दिनमा हाँस्दै घर फर्कने विरामीहरू पनि देखे।
उनलाई लाग्यो – सिलिन्डर बोक्नु भनेको त संक्रमितका लागि सास बोक्नु सरह रहेछ। विरामीको जीवन जोगाउनु सरह रहेछ।
त्यसपछि हो, धेरैले 'तल्लो तह'को मान्ने उनको काम निकै 'ठूलो अनि महत्वपूर्ण' लागेको। त्यसपछि नै हो उनको दिमागबाट कोरोनाको डर फरार भएको।
'पीपीइ लगाएर खटिँदा संक्रमितलाई घण्टा घण्टामा छुने नर्सहरूलाई त केही हुँदैन हामीलाई केको डर? भन्ने लाग्यो,' उनले भने, 'फेरि डराएरै जिम्मेवारीबाट पन्छिन पनि त भएन।'
परिवारले त उनलाई महामारी सुरु भएदेखि नै अस्पतालको जागिर छाड्न आग्रह गरिरहेको छ, 'खर्च दिउँला' भन्ने आश्वासन सहित। तर, तरकारी खेती र व्यापार गर्ने वृद्ध आमाबुबाको काँधको अर्को भारी बन्न उनको मन मानेन। कम्तीमा आफ्नो खर्च आफैँ जोहो गर्ने सिद्धान्तमै अडिग रहेका छन् उनी।
अब त उनले संक्रमण नियन्त्रण नभएसम्म र स्नातक तहको भर्ना खुलेर पढाई सुरु नभएसम्म यही काम गर्ने अठोट लिएका छन्। आफ्ना लागि मात्र होइन, अस्पतालमा उपचाररत् संक्रमितहरूका लागि पनि।
'अस्पतालले खटाउन्जेल अक्सिजन नै बोक्छु। आजभोलि त सिलिन्डर गुडाइ राख्दा लाग्छ – कसैको जीवन डोहोर्याइ रहेको छु', उनले सुनाए।
+++
इमर्जेन्सी वार्डबाट कोभिड वार्डमा सरुवा भएको बारे पहिलोपटक खबर पाउँदा उनी झस्किए। उमेरले ६५ कटेकी आमा र ७० माथिका बुबा सम्झिए। आफैसँग भने – अब त यो काम छोड्नै पर्छ। ममार्फत् कोरोना घरसम्म पुग्यो भने आमाबुबालाई गाह्रो हुन्छ।
संक्रमितको पीडा अस्पतालमै देखे। शय्याका लागि पालो कुर्दाकुर्दै ज्यान गुमाउनेहरू साक्षतकार भए। त्यसैले कोभिड-१९ वार्डमा जान झट्टै तयार भएनन् उनी। तर, जब काम छोड्दा हुने घाटाको हिसाब किताब गरे, आफ्नै निर्णय फिर्ता लिए।
यही कामलाई निरन्तरता दिने भए। उनको जिम्मेवारी – रित्तिँदै गएका सिलिन्डर भरिएकासँग बदल्नु।
यही काम गरे बापत् मासिक १३ हजार ४ सय रुपैयाँ पाउँछन् उनी। तलबले आफ्नो खाजा र मोटरसाइकलको खर्च मात्र होइन केही रकम घरमा पनि दिन्छन् उनी। कोठा भाडा तिर्न पुग्छ त्यसले।
थोरै जोगाउँदै पनि छन्। छठ पछाडि कलेज भर्ना हुनुछ।
उनले यो काम थालेको दुई वर्ष भयो। काम सुरु गर्दा भर्खरै दोलखाबाट एसईई दिएर काठमाडौं आएका थिए, कलेज पढ्न। काम गर्दै पढ्ने सोच थियो। पढाई खर्च आफै जुटाउने योजनासहित काठमाडौं झरेका थिए उनी।
तर, काठमाडौंमा सहजै कहाँ काम पाइन्छ र?
चिनजान एकजनाले अस्पतालमा सिलिन्डर ओसारपसार गर्ने कामको प्रस्ताव राखे। सुरुमा त हच्किए। विकल्प थिएन। साताको तीन दिनमात्र ड्यूटीमा खट्नुपर्ने भनेपछि नाईं भनेनन्। काम सुरु गरे।
उचाईमा आफूभन्दा अग्लो अनि तौलमा आफूभन्दा गह्रौ सिलिन्डर यताबाट उता पुर्याउन थाले। सुरुसुरुमा निकै गाह्रो भयो। शरीर फतक्कै गल्थ्यो। उनको अवस्था देखेर आमाबुबाले भन्थे – तँ पढ्। पढेर मास्टर बन्। यो काम नगर्।
मास्टर बन्नकै लागि शिक्षाशास्त्र पढ्न भर्ना भए, हिमालय कलेजमा। साथमा कामलाई निरन्तरता दिइरहे।
'सुरुसुरुमा त मलाई पनि काम छोडौंजस्तो लागेको थियो। तर, पहिलो पटक तलब थापेपछि पसिनाको मोल थाहा भयो। आफूले कमाउँदा आनन्द पनि लाग्दो रहेछ,' प्रमोदले सुनाए, 'अर्को काम नपाएसम्म यही काम गर्छु भन्ने सोचेँ।'
प्रमोदले अरु काम पाएनन्। साताको तीन दिन अस्पतालमा र बाँकी ४ दिन पढाइमा लगाए। यसैगरी प्लस टू सक्कियो।
चिनजानका केही आफन्तले सोधे – पढ्ने मान्छेले पनि यस्तो काम गर्छन्? यति कम तलबमा?
उनले जवाफ दिएनन्। किनकि उनीसँग पनि प्रश्न नै छ : 'विदेश जानेहरू पनि यसैगरी काम गर्दै पढ्छन् रे। जस्तो काम गरे पनि लाज हुँदैन रे उता। अनि नेपालमा चाहिँ किन लजाउनु होइन?'
+++
१८ वर्षीय प्रमोद हरेक साँझ ७ बजे मुलपानीबाट पाटन अस्पताल पुग्छन्। खाना खान्छन्। पीपीइ सेट लगाउँछन् र फिभर क्लिनिकको बाटो हुँदै लाग्छन् कोभिड- १९ संक्रमितका लागि बनाइएको विशेष वार्डतिर।
त्यहाँ उनको पहिलो काम हरेक क्याबिन र शय्याका बिरामीको शरीरमा जडित अक्सिजन कति बाँकी छ जाँच गर्नु। त्यसपछि क-कसको सिलिन्डर रित्तिँदो छ, उनीहरूका लागि नयाँ सिलिन्डर ल्याउनु, फेर्नु र पुरानोलाई अन्य खाली सिलिन्डरहरूसँगै लगेर ठड्याउनु। ती खाली सिलिन्डर भर्ने जिम्मेवारी पनि अस्पतालमा खटिएका प्रमोदजस्तै 'अक्सिजन म्यान'हरूको हो।
'हरेक बिरामीको नजिक जाँदा उसलाई गाह्रो नभएको होस् भन्ने लाग्छ। तर, प्रायलाई त गाह्रो भएरै अक्सिजन सपोर्टमा राखिएको हुन्छ। त्यसपछि चाँडै ठीक होस् भन्ने कामना मात्र गर्नसक्छु,' उनले भने, 'कोही केही दिनमै तङ्ग्रिन्छन्। लाग्छ – मैले ओसारेको अक्सिजन काम लाग्यो। कोही आइसीयूमै जान पर्ने हुन्छ। लाग्छ – अक्सिजनमात्र सबैकुरा होइन।'
भोलिपल्ट बिहान ५/६ बजेसम्म बिरामीहरूको अक्सिजनको पहरेदार बन्नु उनको जिम्मेवारी हो।
कहिले काहीँ पीपीई निकै भारी लाग्छ उनलाई। सबै खोलेर केही बेर आराम गर्न मन लाग्छ। तर, मन लागेको सबैकुरा कहाँ पाइन्छ? कहिले पसिनाले शरीर भिज्छ। पिसाब च्यापेर आच्छुआच्छु पार्दा सहनमात्र स्वतन्त्र छन् उनी।
आफ्नो काम यति अप्ठ्यारो र जोखिमपूर्ण छ भन्नेबारे घरमा केही बताएका छैनन्। वास्तवमा आफ्नो सरुवा कोभिड वार्डमा भएको पनि सुनाएका छैनन्। किनकि उनी ढुक्क छन् – छोरा संक्रमितहरू बीच आफूभन्दा ठूलो र गह्रौ अक्सिजन सिलिन्डर ओसार्ने काम गर्छ भन्ने थाहा पाउँदा आमा धेरै रुन्छिन्। बुबा कडा स्वभावका छन्। आँशु नझार्लान् तर चिन्ताले उनलाई पनि खान्छ।
रित्ता सिलिन्डर ३० देखि ५० किलोका हुन्छन्। अक्सिजन भरिएको सिलिन्डर ८० किलोको। त्यही सिलिन्डर लिएर तल माथि, भित्र बाहिर गर्नुपर्छ उनले।
'सिलिन्डरको तौलको हिसाब गर्नु त मान्छेको जिन्दगीको मोलको हिसाब गर्नुजस्तै भइहाल्छ नि। म यो काममा खुशी छु भने किन धेरै सोच्नु? मैले मान्छेलाई सास फेर्न केही सहज बनाइदिएको छु। यही कुराले खुशी दिन्छ,' प्रमोदले प्रष्ट पारे।
कामबाट फर्किएपछि भने केहीबेर निदाउँछन् उनी। उठेर पढ्छन्। साहित्यमा उनको रुची छ। कहिले काहीँ लेख्छन् पनि। तिहारपछि कलेजहरूले भर्ना खुला गर्छ। पढ्न थालेपछि भने काम छाड्नै पर्ने बाध्यता आइलाग्छ। त्यसपछि मात्र उनी आफ्नो शिक्षक बन्ने सपनामा पखेटा जोड्नतिर लाग्छन्।
'कलेज भर्ना भएपछि त मेरो पहिलो प्राथमिकता पढाई नै हुन्छ। त्यतिन्जेल संक्रमण पनि नियन्त्रणमा आउला कि भन्ने आश छ,' उनले भने, 'यो महामारीको समयमा पो म फुल टाइम अक्सिजन म्यान।'