शनिवार, बिहान। नमाज पढ्न आएकाहरू निस्किए। मदनी मस्जिदका धर्मगुरु नसरुल देवान फूर्सदिला भए। त्यसैले साथीभाइ भेट्नका लागि हिँडे बागबजारतर्फ। सुन्धाराबाट हिँड्दै रत्नपार्कको आकाशे पुल पुगे। त्यहाँको भर्याङ् ओर्लदै थिए, फोनको घण्टी बज्यो।
कसैले हताश स्वरमा भन्यो : इमाम साहब मस्जिद त धमाधम तोड्दै छन्।
देवानले पाइला मोडे। आएकै बाटो हुँदै फर्किए सुन्धारा। ठडिँदै गरेको धरहरालाई दाहिनेतिर पर्नुअघि नै मानिसहरूको भिड थियो। धुलो उडिरहेको थियो। मानिसहरू चर्काचर्की गर्दै थिए। हुल छिचोल्दै मस्जिद अगाडि के पुगेका थिए, उनले आँशु थाम्न सकेनन्।
केही मिनेट अघि मात्रै आफूले सग्लो छाडेर गएको मस्जिद। क्षणभरमै भत्काएछन्। माथिल्लो तलामा मिलाएर राखिएका कुरानहरू सडकबाटै देखिने गरी छरिएका थिए। न केही बोल्न सके न प्रश्न गर्न। परैबाट हेरे आफू जहाँ बसेर पाठ गर्छन् त्यो भाग सग्लै छ या छैन?
धर्मगुरु नसरुल देवान
+++
धरहरालाई दाहिना पारेर रहेको त्यो पूरानो भवन। माटोको गारोमा निलो रङ पोतेको। लहरै छन् – मासु पसल, जुत्ता र फ्यान्सी पसल छन्। धेरैलाई थाहा नहुनसक्छ – त्यो मस्जिद हो। जहाँ दैनिक एक सयभन्दा बढी मानिस नमाज पढ्न आउँछन्। शुक्रवार त दिनभरमा करिव एक हजार इस्लाम धर्मावलम्बीहरू पुग्छन्।
नसरुल देवानका बाजे अक्लु देवान, बुवा नहिम उद्दिन पालैपालो यही मस्जिदको धर्मगुरु रहे। बुवा बिते। त्यसपछि दाजु सम्सुल हकले धर्मगुरुको जिम्मेवारी सम्हाले। दाजु पनि बितेपछि भने पालो नसरुलको। पहिले बाजे वा बुवाको हात समातेर जहाँ अरुसँगै नमाज पढ्थे। त्यहाँको धर्मगुरु भए।
५५ वर्षीय उनी ४ वर्ष भयो दैनिक नमाज पाठ र प्रवचन गर्दै आएका छन्।
'यो हाम्रो आस्थाको केन्द्र त हो नै। म त भावनात्मक रुपमा पनि जोडिएको छु यस ठाउँसँग। आँखै अगाडि भत्कदा अल्लाहलाई सम्झिएँ', नसरुल प्रश्न गर्छन्,'यो त धर्ममाथिको प्रहार हो। घटनाले मलाई मात्र होइन यहाँ धाउने सयौंलाई दुखाएको छ।'
२५ वर्षीय मोहम्मद मुन्तजिर डल्लुमा मासुको व्यापार गर्छन्। शुक्रवार मात्रै हो उनले सयौंको भीडमा मिसिएर नमाज पढे। भोलिपल्ट त्यही मस्जिद भत्कियो भन्ने खबर पाउनासाथ सुन्धारा हान्निए।
मानवीय क्षति नभएको खबरले केही राहत त दियो। तर, आँशु उनले पनि थाम्न सकेनन्। किनकि उनीसहित परिवारको तेस्रो पुस्ता मदनी मस्जिद धाउँदै आएका छन्। उनको बाल्यकालको याद र इश्वरप्रतिको आस्था जोडिएको छ त्यस ठाउँसँग।
सयौं वर्ष पूरानो मस्जिदमाथि पटक पटक प्रहार
मदनी मस्जिद करिव तीन सय वर्ष पूरानो भएको दावी गर्छन् त्यहाँका अध्यक्ष राज मोहम्मद अन्सारी। कागजी रुपमा भने जुद्ध शम्शेर जङ्गबहादुर राणाको कार्यकालदेखि मुसलमान समूदायलाई भोग चलनका लागि दिइएको हो।
हाल मस्जिद रहेको ठाउँ वरपर वर्षौदेखि विभिन्न ठाउँका मुस्लिमहरू खसी, राँगा लगायत ल्याएर बेच्ने गर्छन्। पहिला घुम्दै आउने मुसाफिरहरूका लागि बस्न, आराम गर्न र नमाज पढ्नका लागि जुद्ध शम्शेरले सो ठाउँ दिएको कथन छ। सोही समयदेखि उक्त ठाउँलाई मदनी मस्जिद मुसाफिरखानाका रुपमा मुस्लिमहरूले भोगचलन गर्दै आएको अध्यक्ष अन्सारी बताउँछन्।
'व्यापार गर्ने ठाउँ खोजिरहेका भूमाफियाहरूको आँखा पर्यो यो ऐतिहासिक एवं धार्मिक केन्द्रमा। त्यसैका लागि सक्दो शक्ति प्रदर्शन गर्दैछन्। सम्माननीय अदालतमा समेत उनीहरूको शक्ति काम लाग्यो', अन्सारी भन्छन्,'तर हाम्रो आस्थाको जग यही ठाउँमा थियो, छ र सधैं रहनेछ।'
त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक अनुसन्धानको आश्वासन देखाएको उनले बताए।
घटना के हो?
शनिवार बिहान करिव ७ बजेतिर एक हुल मानिस डोजरसहित आएको बताउँछन् समिर आलम। उमेरले ८ वर्षको हुँदादेखि त्यही मस्जिद भएको भवनमा बस्दै आएका छन्। त्यहीं उनीहरूको पारिवारिक मासु पसल पनि छ। आफूहरू भित्रै छँदा मस्जिदमाथि डोजर चलेको बताउँछन् उनी। भन्छन्,'डोजर लगाएर जग्गा त पाउँथे होलान्। तर, हामीले त ज्यान गुमाउन सक्थ्यौं। लोभले मानिसलाई त्यति क्रुर बनाउँदो रहेछ।'
पूर्व जानकारी र कुनै चेतावनी बिना डोजर चलेको उनको दावी छ।
मस्जिद भत्काउन आएको समूह र स्थानीय बीच केही समय भनाभन भयो। केहीबेरमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले डोजर चालकसहित रत्नकाजी महर्जनको समूहलाई नियन्त्रणमा लियो।
'मस्जिदमाथि डोजर चलाए। त्यहाँभित्र मानिस रहेछन्। मानवीय क्षति हुन सक्थ्यो त्यसैले घटनामा संलग्नहरूलाई नियन्त्रणमा लिएका हौं', एसएसपी श्याम ज्ञवालीले भने।
धरहरा छेउमा रहेको मदनी मस्जिद ६ आना क्षेत्रफलमा फैलिएको छ। मस्जिद रहेको उक्त जग्गा कानूनी विवादमा छ। नेपाल मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीका अनुसार नेपाल सरकारको नाममा रहेको उक्त जग्गामाथि हकदावी गर्नेहरूले मस्जिद हटाउने प्रयास गरेका हुन्।
मालपोत कार्यालयले २०४३ सालमा सुन्धाराको कित्ता नम्वर १८ सय ४१ र ४२ को उक्त जग्गा सरकारका नाममा स्थायी दर्ता गरी जग्गाधनी पूर्जा समेत जारी गरेको थियो। तर, १४ असार २०६९ मा तत्कालिन न्यायधीश रामकुमारप्रसाद साहसहितको सर्वोच्च अदालतको इजलासले उक्त जग्गा नरदेवीका रत्नकाजी महर्जन र जुजुकाजी महर्जनको नाममा दर्ता गर्ने फैसला गरेको थियो।
त्यसयता रत्नकाजी र जुजुकाजी दाजुभाइले मस्जिद भएको उक्त जग्गा आफ्नो भएको दावी गर्दै आएका छन्। समिम मियाँका अनुसार जग्गा विवादको श्रृङ्खला २०५३ सालमा पहिलो पटक नरेन्द्रविक्रम राणाले उक्त जग्गा आफ्नो नाममा गरेपछि सुरु भएको हो।
भत्काइएकै दिन पुन: निर्माण सुरु
महर्जन दाजुभाइको नेतृत्वमा शनिवार भत्किएको मस्जिद पुनर्निर्माण सुरु भइसकेको छ। त्यहाँ नमाज पढ्नका लागि आउने एवं स्थानीयले भवनलाई अलपत्र नछाड्ने अडान लिए र निर्माण कार्य अघि बढाए।
भत्किएको भवनमा १९४४ सालका इँटाहरू भेटिए। तिनै इँटाको प्रयोगमा फेरि एकपटक भवनको जग बस्यो।
उक्त भवनका कोठा भोगचलन गर्दै आएकाहरूले मासिक केही रकम जम्मा गर्छन्। सोही रकमबाट भवन मर्मत एवं बिजुली पानीको रकम चुक्ता हुँदै आएको थियो। शनिवार त्यहीं बस्नेहरू पनि निस्कन पाएनन्। सामान निकाल्न पाएनन्।
'सरासर आए र आतंक मच्चाए। बीच पच्चिस जनाको समूहलाई हामीले कसरी नियन्त्रण गर्नु?', मुसाफिरखानामै बस्ने समिर आलमले बताए।
गैडाकोटका ३८ वर्षीय इब्राहिम खत्रीले १० वर्षअघि धर्म परिवर्तन गरे। हिन्दु धर्म मान्ने परिवारका उनी राजीखुशी मुस्लिम धर्ममा प्रवेश गरे। त्यसयता नियमित मदनी मस्जिदमा नमाज पढ्न आउँछन्। शनिवार आफ्नो आस्थाको धरोहर भत्कदा उनले ती दिन सम्झिए जब उनलाई धर्म परिवर्तनको विषयलाई लिएर गिज्याइन्थ्यो। प्रश्न गरिन्थ्यो। धम्की दिइन्थ्यो।
'समाज त जहाँको त्यहीं रहेछ। जति पढेपनि, जति कमाएपनि - आफ्नो मोह, लोभ, लालच जति कठोर भएपनि ठीक। अरुको बेठीक', इब्राहिम गुनासो पोख्छन्,'अरुको भावनामाथि यसरी प्रहार गर्नेहरूले कसरी मनको शान्ति पाउँलान्?'
भवन पूरै भत्काए पनि आफूहरू सोही ठाउँमा नमाज पढ्ने उनको चेतावनी छ। भन्छन्,'मानिसको लासमाथि चढ्न नसक्लान् नि?'
जामे मस्जिदका सदस्य रहेका जफर हुसेन पनि पुनर्निर्माणमा सक्रिय छन्। उनी नमाज पढ्ने ठाउँ नभए पनि आफ्नो इश्वरको ठाउँ मान्छन् भत्काइएको मस्जिद। आफ्नो ग्रन्थको निर्देशनले मदनी मस्जिद फेरि उठाउन डोहोर्याएको बताउँछन् उनी।
भन्छन्,'कसैको पनि धार्मिक स्थलमा प्रहार हुनु धार्मिक सहिष्णुता बिगार्ने काम गर्नु हो। यस बारेमा कुरानमा लेखिएको छ - तिम्रो मस्जिदमा कसैले आएर आतंक फैलाउँछ भने प्रतिकार गर। त्यसैले हामी पनि गर्छौं।'
नेपाल भरी वा संसारको कुनै मस्जिदमा हमला हुन्छ भने आफू त्यस समय प्रतिकारमा उत्रन तयार रहेको बताए उनले।
तस्विरहरु : आलोक सिद्धी तुलाधर / नेवा: मुस्लिम समाज फेसबुक पेज