PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

ब्रम्हायणी जात्रा : मन्दिरमा सर्वसाधरणलाई प्रवेश रोक, शरीरमाथि दियो राखेर बालिएन

ब्रम्हायणी जात्रा : मन्दिरमा सर्वसाधरणलाई प्रवेश रोक, शरीरमाथि दियो राखेर बालिएन


भक्तपुर: नवदुर्गाको शक्तिपीठका रूपमा लिइने ब्रम्हायणी मन्दिरमा नवदुर्गा प्रकट हुने जनविश्वासअनुरुप विजयादशमीको दिन भव्य मेला लाग्ने गर्छ।

विजयादशमीको दिन भक्तपुरको च्यामासिंहस्थित ब्रम्हायणी मन्दिरमा ब्रम्हायणी जात्रामा सहभागी हुन भक्तजनहरु बिहानैदेखि मन्दिर परिसरमा पुग्ने गर्थे। नवदुर्गा मन्दिरमा ल्याएर पालिएको महिषासुर दैत्यको प्रतीक खम्ये (राँगो) लाई ब्रह्मायणी मन्दिर पुर्‍याएर वध गरेपछि रातिदेखि नै यहाँ मानिसहरु आउन शुरु हुने गर्थे।

गत वर्षको ब्रम्हयाणी जात्राको तस्विर

वध गरिएको खम्येको एक टुक्रा मासु लिन हजारौँ व्यक्तिको भीड लागेको थियो। सो मासुको टुक्रा प्रसादका रूपमा घरमा लगेर सुकुटी बनाई धूलो पारेर घ्यूमा मुछेर धूप बनाई बाल्ने गरिन्छ। लक्ष्मीपूजाका दिन सो धूप बालेमा भूतप्रेत नलाग्ने, शत्रुनाश हुने र घरमा लक्ष्मीबास हुने जनविश्वास रहेको छ।

तर यसपटक कोरोना संक्रमणका कारण पहिला जस्तै यहाँ जात्राको रौनक लागेन। सर्वसाधरणलाई मन्दिर प्रवेशमा रोक लगाइएको छ। बिहानै केही भक्तजनहरु भने मन्दिर परिसर पुगेर बाहिरैबाट पूजा गरेका छन्।

आजको दिन ब्रम्हायणीमा व्रत बसेकाहरू बिहानै घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै र शरीरमा ५, ७ र १८ वटा दीप (दियो) बालेर जाने र पूजा गर्ने प्रचलन छ। यसो गरेमा मनोकांक्षा पूरा हुने, पाप नष्ट हुने, धर्म प्राप्त हुने जनविश्वास रहेको छ। तर कोरोनाका कारण यसपटक शरीरमा दियो राखेर बाल्ने परम्परा समेत रोकियो।

 



ट्रेन्डिङ पोस्ट

Ncell