PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

त्यो त बाल विवाह रहेछ...



त्यो त बाल विवाह रहेछ...

  • शिशिर वैद्य 

दमाईहरू सेतो पहिरनमा सजिएर दमाहा, नरसिंगा लगायतका बाजा बजाउँदै थिए। खजन्ती आफ्नो बन्दोबस्तीका सामानहरू तयार पार्दै थिए। जन्तीको सम्पूर्ण व्यवस्थापन मिलाउने नाइकेलाई खजन्ती भनिन्छ अछामतिर। जन्तीलाई आवश्यक पर्ने आर्थिक लगायत सबै बन्दोबस्ती मिलाउनुपर्ने हुनाले खजन्ती अरुभन्दा अलिक बढी नै व्यस्त देखिन्थे। डोला बोक्ने टोली, दाइजो बोक्ने टोली सबै तयार थिए। जेठो छोरोको बिहे भएकोले सामान्यतया डोलामा जाने चलन भए पनि दुलाहाका लागि घोडा तयार थियो। बजाई जन्तीको तामझामका बीच दुलाहा काठमाडौंबाट साथीहरूले पठाइदिएको सेतो सर्ट र सेतै पाइन्टमा चिटिक्क सजिएको थियो। अछामतिर जन्ती दुई प्रकारको हुने गर्छ - सराउलो (सरल) र बजाई (बाजागाजा सहितको)। जन्ती अछाम साँफेबगर भन्दा एक घण्टा दक्षिण लुंग्रा भन्ने गाउँमा जाँदै थियो।

२०४३ साल फागुन ९ गते बिहेको तामझाम चलिरहँदा भरत कुँवर भर्खर आठ कक्षामा पढ्दै थिए। उमेरले पन्ध्र टेक्दै। अरु साथीसंगीहरूको दाँजोमा कुँवरको बिहे ढिलो हुँदै थियो। छोरेट्टा–छोरेट्टी उमेर समूहको अन्तिम प्रहरसम्म बिहे नहुनु अछामको समाजमा ढिलै मानिन्थ्यो उतिखेर। छोरेट्टा–छोरेट्टी अर्थात् धुलो माटोसँग खेल्ने दिन सकिएको उमेर (१०–१५ बीच)। बिहे हुने केटी कुँवर भन्दा तीन वर्ष कान्छी थिइन्, बाह्र वर्षकी। भरत कुँवर र भगवतीको बिहे हुँदै थियो। तात्कालीन सामाजिक रितका हिसाबले कुँवरको बिहे ढिलो भइरहेको थियो। अछामको सामाजिक रित त्यस्तै थियो। पन्ध्र वर्षभित्र छोरा होस् वा छोरी सामाजिक कर्म सक्काउनु पर्छ भन्ने सोच हुन्थ्यो। परम्परागत र पुरातन सामाजिक संरचनाले छोरीलाई छाउ बस्नुअघि नै अन्माउनु पर्छ भन्ने संस्कार बोकेको थियो। यसो गर्दा धर्म हुन्छ भन्ने विश्वास।

पन्ध्र वर्षको केटो, बाह्र वर्षकी केटी। दुवै मानसिक र शारीरिक रुपमा अपरिपक्व। तर पनि भइरहेको थियो बिहे। घरमा बिहेको कुरा चल्दा कुँवरलाई खासै आश्चर्य लागेन। किनभने समकालीन साथीहरू सबैको बिहे भइसकेको थियो। एकजना साथीको बिहेमा भातपाख्रे (जन्ती जानु एकदिन अघि बेहुलीको घरमा सूचक भएर जाने मान्छे) बनिसकेका कुँवरलाई बिहे सामान्य लाग्नु स्वाभाविक नै थियो। बिहेमा गाइने देउडा उनका लागि सामान्य थियो। अन्माउने बेला दुलही नै लुकाइने चलन थुप्रै पटक रमाइलो मानेर देखेका थिए। तर त्यसदिन उनको आफ्नै बिहे भइरहेको थियो। बिहेका दिनहरू सम्झिँदै कुँवरले सुनाए– 'अहिले त बिहे सम्झिँदा पनि आफैलाई कस्तो कस्तो लाग्छ। जतिबेला मैले बिहे गरेँ, मलाई त्यो बालविवाह हो भन्ने थाहा थिएन। पछि आएर महसुस भयो। त्यतिबेलाका मान्छेहरूले त्यसैलाई सही बुझे, त्यही गरे। शिक्षाको अभावमा समाजका अगुवाहरूले आफूमा भएको जति चेतना थियो त्यही अनुसार सामाजिक रित बसाए।’

कुँवरसँग बिहेका सम्झना त छन् तर तस्बिर छैन। एक रिल तस्बिर खिचिएको याद छ उनलाई। तर, त्यो कता पुग्यो याद छैन। फोटो एल्बम दुर्लभ चिज थियो त्यतिखेर। कुँवरले बिहे गर्दा अछाम सुदुर पश्चिमको अति दुर्गम जिल्लामा पर्थ्यो। हवाईजहाज देखे पनि जिल्लाबासीले सडक देखेका थिएनन्। न त गाडी नै। जिल्ला बाहिर जान कि हिँडेर धनगढी पुग्नु पर्दथ्यो। कि साँफेबगर विमानस्थलबाट प्लेन चढ्नु पर्दथ्यो। अरु विकल्प थिएन। डोटीसम्म जोडिएको राष्ट्रिय सडक सञ्जालले २०५१ सालमा बल्ल अछाम छोएको हो। अछाममा राज्य थियो तर राज्यले जनताप्रतिको दायित्व बहन गरेको थिएन। अति आवश्यक सुविधाहरूबाट समेत बन्चित अछाममा शिक्षाको अभाव थियो।

विशेष गरी महिला शिक्षाको अवस्था दयनीय। स्कुल जाने र एसएलसीसम्म टिक्ने छात्रा औंलामा गन्न सकिने थिए। कुँवरसँगै विद्यालयमा पढ्ने सयजना विद्यार्थी मध्ये दुई जना छात्रा थिए। तात्कालीन सामाजिक अवस्थालाई नियाल्ने हो भने ती अपवाद नै थिए। स्वास्थ संस्था थिएन। धामी झाँक्री र झारफुकको भरमा बाँचेका थिए अछामेली। देश दुनियाँबारे थाहा पाउने एउटै माध्यम थियो रेडियो नेपाल। पत्रपत्रिका हप्ता दिनपछि मात्रै पुग्थे। त्यो पनि मौसम अनुकुल भएर प्लेन उडेमात्रै। एसएलसीको रिजल्ट थाहा पाउन विद्यार्थीहरू एयरपोर्ट वरिपरि झुम्मिन्थे। टावरमा बसेको मान्छेलाई नम्बर दिएर यताबाट खबर गरेपछि बल्ल रिजल्ट थाहा हुन्थ्यो। नत्र हप्ता दिन कुरेर पत्रिका आइपुगेपछि बल्ल थाहा हुन्थ्यो। आफ्नो गाउँठाउँ छाडेपछि संवादहीन भएर बस्नुको विकल्प थिएन। यस्तो समाजमा बालविवाह सामान्य हुनु अस्वाभाविक थिएन।

अछाम प्रभाबाट साँफे बगर हुँदै काठमाडौं बसाईं सरेका कुँवरले आफ्नो बिहे (बालविवाह)को कथा सुनाउँदै गर्दा जिल्लाको दयनीय वास्तविकता पनि उजागर गर्दै थिए। सम्वादहीनताको दयनीय अवस्था वर्णन गर्दै उनले थपे, ‘२०४९ पुस १९ गते जाडोको छुट्टी मनाउन खुशी हुँदै म घर पुग्दा बुबा बितेको एक हप्ता भइसकेको रहेछ। हप्तादिन पछि जुठोमै रहेको भाइसँग मिसिएर मैले किरियाको काम सक्काएँ। भाइले आवा पठाउन खोजेका रहेछन्। तर मौसम प्रतिकूल हुँदा आवाले काम गरेन। आवा अर्थात् आकाशवाणी अर्थात् टेलिग्राम।’

यति मात्रै होइन कुँवरले छोरी जन्मेको खबर हप्तादिन पछि बल्ल पाएका रहेछन्। छोरी जन्मेको आठ महिना पछि मुख देखेका थिए कुँवरले। सञ्चारको अभाव र विकासको अभावमा जनताले भोग्नु परेका दुःखहरू कुँवर प्रतिनिधि बनेर सुनाउँदै थिए।

छोरा होस् वा छोरी, होस सम्हाल्नसक्ने भएदेखि नै आमा, बुबा, दाजु, दिदीहरूले जेजे गरे त्यही सिक्दै हुर्किनु गाउँले जीवनका अभिन्न अंग हो। घाँस–दाउरा, खेतीपाती, वस्तुभाउ, पानीपँधेरा जस्ता सबै कामको अनुभव कुँवरसँग पनि छ। ‘तर यी कार्यमा विशेष गरी छोरीहरूले सानैदेखि आमासँगसँगै र बिहेपछि सासु, जेठानी, देउरानीहरूसँग सिक्दै भोग्दै जीवन अघि बढ्छ। बिहेपछि केटाको जीवन सामान्य अवस्थामा फर्किए पनि केटीको जीवनमा व्यापक परिवर्तन आउँछ। स्कुल जाने बाटो बन्द हुन्छ। बुहारी भएपछि सबैले खाएपछि खानु पर्नेहुँदा पौष्टिक आहार पुग्दैन। मानसिक रुपमा आफै परिपक्व नभइसकेकी केटीले चाँडै बच्चा पाई भने आफु पनि हुर्किँदै र बच्चा पनि हुर्काउँदै जीवन अगाडि बढाउनु पर्ने हुन्छ,’उनले सुनाए।

कुँवर पनि बिहेको सामाजिक रित सकिएपछि स्कुल जाने नियमिततामा फर्किएका थिए। घरकी नयाँ बुहारी भने घरको काममा सासुलाई सघाउन व्यस्त। विवाह लगत्तै केटा र केटीलाई एकै कोठामा राख्ने चलन थिएन त्यसैले नयाँ बुहारीलाई सासु वा परिवारका अन्य जेठी महिला सदस्यसँग राखियो। यस अघि केटीलाई पुर्‍याउन भनेर आफन्तहरू पनि जन्तीसँगै केटाको घर आएका थिए। रत्यौली खेलेर भोलिपल्ट छोरी लिएर आफन्तहरू फर्किएका थिए। कुँवर दोश्रो पटक जन्ती लिएर फेरि दुलही लिन गए। आफन्त फेरि पुर्‍याउन आए। यसरी ल्याउने र पुर्‍याउने क्रम पटकपटक चल्यो। विस्तारै जन्ती र आफन्तको संख्या घट्दै गयो। यही क्रमिकता चौथीपछि सकियो।

कुँवरको जीवन फेरि बालापनमै फर्कियो। अर्थात् साथीभाइसँग खेल्ने कुद्ने स्कुल जाने। बिहे भएको तीन महिनासम्म दुई जनाबीच बोलचाल समेत भएन। छरछिमेकका महिलाहरू खेतीपातीका बेला, मेलापातमा भेट्दा जिस्काउँथे। आफू पनि सानो र उनी पनि सानै भएकाले के बुझ्नु? के रिसाउनु? के लजाउनु? तीन महिना पछि कुँवरले बोल्ने हिम्मत जुटाए। रोपाईं जाँदा आमासँगै कुँवरकी श्रीमती पनि अन्नी (खाजा) लिएर आउँथिन्। रोपाईं गरिरहेका दिदी भाउजुहरू फेरि जिस्काउँथे। दिनहरू यसरी नै सामान्य ढंगले बित्दै गए।

माइतमा छोरी भएर आमासँग लाडिएर हाँस्दै खेल्दै बसेको बाह्र वर्षकी केटी एकाएक बुहारीको बन्धनमा बाँधिएकी थिइन्। त्यतिखेर आफ्नो बिहे सामान्य जस्तो लागे पनि अहिले त्यो उमेरका केटाकेटीको बिहे सोच्न पनि नसकिने बताउँछन् कुँवर। हुर्किएका दुई छोरीहरू र छोराका बाबु कुँवरलाई स्नातकोत्तर पढ्न सक्काइसकेका आफ्ना सन्तानको बिहे गर्ने उमेर अझै भएको छैन जस्तो लाग्छ। शिक्षा र चेतनाले कुँवरमा ल्याएको यो परिवर्तन अछामको समाजमा पनि बढ्दै गएको छ। मानिसहरूमा छोरा होस् वा छोरी सानोमा बिहे गर्नु हुन्न भन्ने चेतना बढ्दै गएको छ। 'मेरा समकालीन साथीहरू सबैको बिहे लगभग सँगसँगै भएको थियो। मैले अरुले गरेको देखेको–भोगेको र आफैले पनि गरेको हुँदा त आज आएर मलाई ओहो! कस्तो अपरिपक्व समयमै बिहे गरिएछ भन्ने लाग्छ। शहरमा बस्नेहरू त त्यहाँको समाजलाई अपराधी नै ठान्छन्,' उनले भने।

बिहे गरेको दुई वर्षपछि २०४५ सालमा एसएलसीको तयारी गर्न कुँवर काठमाडौं झरे। तयारी सकिएपछि माघमा हुने एसएलसी जाँच दिन अछाम फर्किए। रिजल्टपछि कलेज पढ्न काठमाडौं फर्केका कुँवर यतै अल्झिए। पढ्नु अनि काठमाडौंमा बाँच्नका लागि जागिर खानु। यी दुवै कार्य सँगसँगै भइरहेको थियो। पहिले खानेपानी तथा ढल निकास संस्थान अनि त्यसपछि नेपाल प्रहरी। बिहेको सात वर्ष पछि पहिलो सन्तानका रुपमा छोरी त्यस पछि छोरा अनि फेरि छोरी। तीनै सन्तान गाउँमै जन्मिए। यता उनी जागिरमा जम्दै थिए उता छोराछोरी हुर्किँदै।

सरकारी स्थायी जागिर भेटेपछि श्रीमती र छोरी छोरालाई २०५७ सालमा काठमाडौं झिकाए। शिक्षित हुनु र नहुनुको फरक बुझेका कुँवरको सपना थियो आफ्नो सन्तानको राम्रो शिक्षा। यसमा उनले कुनै सम्झौता गरेनन्। बाल विवाहलाई सामाजिक रितका रुपमा बुझ्ने अछामको समाज फेरिन थालेको छ। छोरा होस् वा छोरी बिहे चाँडो गर्नु हुन्न भन्ने चेतना बढेको छ। कुँवरको अनुभव भन्छ– बालविवाह सामाजिक रित होइन, यो शिक्षा र चेतनाको अभाव हो। समाजलाई शिक्षित गर्न सकियो भने यो समस्या आफै हट्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell