PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

अस्पतालको वार्ड सफा गर्दै बित्यो विद्याको दशैं, 'संक्रमित सबै बाँचेर फर्किए अर्को वर्षको दशैं त धुमधाम भइहाल्छ नि'



स्वेच्छा राउत

अस्पतालको वार्ड सफा गर्दै बित्यो विद्याको दशैं, 'संक्रमित सबै बाँचेर फर्किए अर्को वर्षको दशैं त धुमधाम भइहाल्छ नि'

दशैंको टीकाको दिन विद्या थापाको ड्युटी परेको थियो। उनी पाटन अस्पतालको आइसोलेसन वार्डमा काम गर्छिन्। सरसफाइ गर्नु उनको जिम्मेवारी।

टीकाको भोलिपल्ट उनकी छोरीको ड्युटी पर्‍यो। छोरी निरु पनि पाटन अस्पतालमै काम गर्छिन्। उनी नर्स हुन्। त्यही दिन विद्याका छोरा बुलन्दको पनि ड्युटी पर्‍यो। उनी चाहिं नेसनल अस्पतालमा ल्याब टेक्निसियन हुन्। 

यसरी विद्याको परिवारको दशैं साइतमा आएन। घरका सबै एकसाथ बसेर टीका लगाउन पाएनन्। मिठो मसिनो पकाउने, खाने र रमाउने परको कुरा।

छरछिमेक, आफन्तले सोधे – दशैंको बेला पनि छुट्टी नपाइने कस्तो काम हो यो?

प्रश्न गर्नेलाई थाहा हुँदैन थियो भने उनी ठूलो आवाजमा जवाफ फर्काउथिन् – अस्पताल सफा गर्ने काम हो। बिरामीलाई सुग्घर वातावरण दिने। फोहोर व्यवस्थापन गर्ने। भूईं पुछ्ने काम हो।

तर, सबैलाई थाहा छ विद्या के काम गर्छिन्। उनीहरूलाई यो पनि थाहा छ – हातमा कुचो र कोलिन बोकेर दैनिक १२ घण्टा विद्या जसरी खट्न जो कोहीले आँट्दैनन्।

छोराछोरी पनि मेडिकल क्षेत्रमै भएकाले परिवारलाई भने जवाफ दिइराख्नु पर्दैन। सबैले स्वीकारी सकेका छन् – अस्पतालको काम नै यस्तै हो।

कोरोना भाइरस संक्रमण फैलिए यता सायदै कुनै पर्व होला जसमा आमा, छोरी र छोराले सँगै बसेर खाना खाए। उनीहरूले एकअर्काको भूमिका र जिम्मेवारीलाई बुझेका छन्।

***

२३ वर्ष भयो विद्याले पाटन अस्पतालको कुना काप्चा सफा गर्न थालेको। उनले काम सुरु गर्दा शान्तभवन मिसन अस्पताल थियो। कामका लागि सम्झौता गराउँदा भनिएको थियो – ‘छुट्टी अस्पतालले दिन्छ। तपाईंहरूले दशैं, तिहार वा कुनै पर्वको बहानामा बिदा माग्न पाउनु हुन्न।‘

त्यस समय सहमतिमा मुन्टो हल्लाउनु बाध्यता थियो। किनकि छोराछोरी जन्मिसकेका थिए। उनीहरूलाई हुर्काउनु थियो। पढाउनु थियो।

थापाथलीस्थित प्रसुति गृहको क्यान्टिनमा बिल काट्ने काम छाडिन्। केही सय बढी आउँथ्यो त्यसैले पाटन अस्पतालमा काम थालिन्। त्यस समय उनले आरोप खेप्नु पर्‍यो – जात फालेको। दुई चार सयका लागि फोहोर टिप्न हिँडेको। परिवारको इज्जतको प्रवाह नगरेको।

परिवारकै केही सदस्यले त उनले पकाएकोसमेत खान छाडे। बोल्नु पर्ला भनेर मुन्टो बटारेर हिँड्न थाले। तर, उनले काम छाडिनन्। हरेक महिना थापेको तलब छोराछोरीको स्कूलमा तिरिन्, कोठा भाडा पुर्‍याइन्, रासन पानी जोहो गरिन्। थोरैथोरै गर्दै जोगाएको पैसाले ललितपुरमा केही आना जग्गा पनि किनेकी छिन्।

अस्पतालमा नियमित डाक्टर, नर्स देखेदेखि आफ्ना सन्तानलाई भने सेतो एप्रोनमा देख्न चाहिन् उनले।

अहिले त छोराछोरी पढे, बढे। भन्छन् – आमा अब काम छाडे हुन्न?

अब विद्याका लागि यो काम बाध्यता होइन। बानी भइसकेको छ जसमा उनी रमाउँछिन्।

कोरोना भाइरसको संक्रमण फैलिएलगत्तै भने उनले पनि सोचेकी थिइन् – अब केही गुमाउनुपर्ने डर छैन। कमाउनुपर्ने बाध्यता पनि छैन। ३०/३५ हजार तलबकै लागि ज्यानको बाजी नथापौं कि क्या हो?

’कोरोनाले मार्छ भन्ने हल्ला हुँदा त छोराछोरीलाई बेक्कार मेडिकल पढाएँ भन्ने लाग्यो। बरु बालुवा चाल्ने बनाएको भए हुन्थ्यो भन्ने समेत सोचें’, उनी संक्रमण फाट्टफुट्ट देखिँदाको अवस्थाबारे सुनाउँछिन्।

तर, पाटन अस्पतालले कोरोना भाइरसविरुद्ध गरेको तयारी व्यापक थियो। स्वास्थ्यकर्मीदेखि अन्य कर्मचारीलाई संक्रमण नियन्त्रणका लागि खटिन जसरी तयार गर्‍यो त्यसले उनलाई केही आड दिलायो। सुरक्षा उपरणहरूको व्यवस्थापन सबल थियो।

एकपछि अर्को दिन बिरामीको चाप बढ्दै गयो। संक्रमितको बीचमा रहेर गर्नुपर्ने कामको अनुभव पनि सँगाल्दै गइन्। सबैभन्दा बढी विश्वास अस्पतालमै बनेका पीपीईले दिलायो उनलाई।

भन्छिन्,'वार्डमा छिर्नुअघि पीपीई सेट लगाउँदै गर्दा लाग्छ, यो सुरक्षा कवच हो। यसले मलाई संक्रमणबाट जोगाउँछ। फेरि डाक्टर सा‘बहरूदेखि नर्स अनि हामी सरसफाइ कर्मचारीले प्रयोग गर्ने उहीं सुरक्षा उपकरणहरू हुन्। एउटै पीपीईमा सबै उस्तै देखिँदा लाग्छ – संक्रमणविरुद्ध लड्न हामी बराबर जिम्मेवार छौं। हाम्रो काममात्र फरक हो।'

सामान्य अवस्थामाजस्तै हो काम। पहिले पीपीई बिना। हाल पीपीइसहित। थप ध्यानपूर्वक र केही बढी मिहिनेत।

एकदिन बिराएर हुने १२ घण्टे ड्यूटी। बिहान ७ बजेदेखि रातको ७ बजेसम्म पीपीई, फेससिल्ड, चश्मा, मास्क, पञ्जा र बुटमा रहनुपर्छ। उकुसमुकुस, अप्ठ्यारो र पसिनो चिपचिप गौण लाग्छन् किनकि संक्रमणको जोखिम ज्याँदा छ।

बिहान आउनासाथ आइसोलेसन र कोभिड-१९ वार्डका हरेक कोठा, प्यासेज, शय्यालगायतको कुनाकाप्चामा रहलपहल फोहोर सफा गर्ने। त्यसपछि टेबल, टुल, भूईं आदि पुछ्ने। अनि पालो ट्वाइलेटको। हर्पिक र कोलिन बोकेर घरी यता घरी उता। ड्यूटी अवधिभर डिसइन्फेक्ट्यान्ट केमिकल बोकेर भित्र बाहिर। सर सफाइबाहेक बिरामी र कुरुवाका लागि आएका सामान लिन तीन तला मुनि पुग्नु, माथि उक्लनु। सही मान्छे पहिचान गरी सामान हातैमा थमाउनुपर्छ।

सामान लिएर वा भूईं रगेड्दै बिरामी छेउमा पुग्दा उनीहरूसँग बोल्नु विद्याको रुचि हो। कोही खुशीखुशी आफ्नो बोलीमा जवाफ मिलाउँछन्। कोही मुन्टो बटार्छन्। दुवै स्वभावलाई स्वीकार्छिन् उनी। बोल्नै नसक्ने अवस्थामा भएका बिरामीको छेउमा पुगेर भने हौसलाका शब्दहरू बोल्छिन्। भन्छिन् : सबै ठीक हुन्छ। तपाईंलाई चाँडो सञ्चो हुन्छ।

‘बिरामीलाई अरुको हाँसोले पनि मानसिक राहत दिन्छ भन्छन्। कोभिड वार्डमा चाहिं मास्क र फेससिल्डकै कारण पनि हाम्रो हाँसो बिरामीले देख्न पाउँदैनन्। त्यस्तो बेलामा चाहिं खिन्न लाग्छ’, उनीले सुनाइन्।

***

संक्रमण फैलनुअघि विद्या र उनकी छोरी निरु एउटै वार्डमा खटिएका थिए। आमा सरसफाइ गर्ने, छोरी  बिरामी हेर्ने। त्यस समय विद्याले गर्विलो महसुस गरिन्। आफूले चाहेजस्तै, सेतो एप्रोन लगाएर छोरी भित्रबाहिर गर्दा वार्ड सफा गर्नुमा खुशीको थप कारण भेटिन् उनले। सधैं सोचिन् – सधैं एउटै वार्डमा खट्न पाए?

आफ्नो ड्युटी कोभिड-१९ वार्डमा परेपछि भने चाहिनन्, छोरीको पनि त्यही सरुवा होस्।

हाल पाटन अस्पतालकै एनआइसियू वार्डमा खटिएकी छोरी आफूभन्दा सुरक्षित र जोखिममुक्त भएको यथार्थले खुशी दिन्छ उनलाई।

‘छोरीले नै हो मलाई – मम्मी दशैं अस्पतालमै मनाउनु परे पनि खिन्न नहुनु है। बरु बिरामीहरूलाई परिवारबाट टाढा भएको महसुस हुन नदिनु भनेर सम्झाएको’, विद्याले सुनाइन्,’त्यसैले होला यो पटक दशैंको शुभकामना लिनभन्दा स्वास्थ्य लाभको शुभकामना दिनुमै खुशी मिल्यो।‘

सुरुसुरुमा सास फेर्न गाह्रो बनाउने पीपीईको बानी पर्दै गयो अहिले। तर, चाहन्छिन् – एकअर्कासँग डराएर काम गर्नुपर्ने अवस्थाको अन्त्य होस्। बिरामीहरूको नजिकै जान पाइयोस्। थुम्थुम्याउन पाइयोस्। गाह्रो भएको देख्दादेख्दै परै रहन नपरोस्। यी सबै परिस्थितिको अन्त्य देख्नकै लागि आफूलाई अझै खट्ने जोश मिलेको बताउँछिन् उनी।

‘मान्छे बचाउने काम डाक्टर नर्सले गर्नुहुन्छ। हामी चाहिं त्यो वातावरण बनाइदिन्छौं। यति नै त हो हामीले सक्ने’, उनी भन्छिन्,’आज संक्रमण भएर आएका सबै बाँचेर फर्किए अर्को वर्ष आउने दशैं त धुमधाम भइहाल्छ नि।‘

चाडपर्व आउँछन्। जान्छन्। तर, कोरोना आयो कहिले जान्छ टुंगो छैन। टुंगो नभएकै कारण अस्पतालमा काम गर्ने आफूजस्ता सबै कर्मचारी अझै बढी सर्तक र जुझारु हुनुपर्ने ठम्याइ छ उनको।

कोरोनालाई लिएर आमाको डर भागेको र कामप्रतिको लगाव बढेको देख्दा भने विद्याको छोराछोरी दङ्ग छन्। दुबैले योजना बनाएका छन् – संक्रमणको त्रास कम भएपछि फोटो सुट गर्ने। जसमा विद्याले सफाइ कर्मचारीको पोशाक ­­खदरको धोती लगाएकी हुन्छिन्। छोरी निरु र छोरा बुलन्दले सेतो एप्रोन।

दुईजनाले दुईतिर गालामा चुमेको पोजसहितको तस्विर विद्यालाई फेसबुकमा अपलोड गर्न मन छ। क्याप्सनमा लेख्नेछिन् – मेरो जीवनको सबैभन्दा उल्लासमय चाड।

‘पैसाको लागि सफाइ कर्मचारी बनिस् भन्नेले बुझुन् न मैले यही दिनको लागि यो काम सुरु गरेकी थिएँ’, उनले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell