PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

फिल्मी पर्दामा अरुलाई श्रृंगार्ने सनमको बेरंग जिन्दगी



स्वेच्छा राउत

फिल्मी पर्दामा अरुलाई श्रृंगार्ने सनमको बेरंग जिन्दगी

२०४० सालतिरको कुरा हो। नेपाली चलचित्रले गति लिँदै थियो। धमाधम नेपाली फिल्महरू बन्न थालेका थिए। काठमाडौंका सनमकुमार श्रेष्ठले फिल्म क्षेत्रमा भविष्य देखे। त्यसैले घर बनाउन जम्मा गरेको रकम बोकेर मुम्बई हान्निए। मेकअप सिक्न।

फिल्मको पर्दामा देखिने कलाकारहरूलाई श्रृङ्गार्नुको अनुभव त्यसअघि नै केही फिल्ममा बटुलेका थिए। भारत पुगेपछि कलालाई निखार्ने मौका पाए। औपचारिक सिकाइसँगै भारतीय टेलिश्रृङ्खलाहरू एवं नाटकहरूमा काम गर्ने अवसर पाए।

नेपालमा फिल्महरुले राम्रै गरिरहेको थियो। त्यसैले स्वदेश फर्किएर मेकअप गरेरै भविष्य बनाउन सकिन्छ भन्ने आत्मविश्वास जाग्यो।

मेकअप गर्ने औपचारिक सिकाइपछि नेपाल फर्किए। लगत्तै फिल्म 'के घर के डेरा'मा काम पाए। कलाकारहरू कृष्टी मैनाली, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, शर्मिला मल्ल लगायतलाई श्रृङ्गारे। एकपछि अर्को गर्दै फिल्महरू पाइरहे। कमाइ थोरै थियो तर काम गर्नुको मज्जा र सन्तुष्टि पाइरहेका थिए।

'सीमित मान्छे भएको क्षेत्रमा निरन्तर मिहेनत गरे कहीं न कहीं त पुगिन्‍छ। कमाइ त भइहाल्छ नि जस्तो लाग्थ्यो', सनमले भने,'तर नेपाली फिल्म क्षेत्रका कलाकारलाई श्रृङ्गार्दा श्रृङ्गार्दै आफ्नै जिन्दगी कुरुप बनेको रहेछ। लकडाउनले झस्क्यायो।'

कोरोना भाइरस संक्रमणका कारण विश्वका अधिकांश क्षेत्र ठप्प बने। फिल्मको सुटिङ रोकियो। सिनेमा घर बन्द भए। महामारी सुरु भएपछि सनमले चरम अभाव महसुस गर्नुपर्‍यो।

१८ वर्षअघि देखि थलिएकी श्रीमतीको उपचार, खाना र कोठा भाडा तिर्न जेनतेन जोहो हुन्थ्यो पहिला। नेपाली भाषाका मुलधारे फिल्म नभए पनि नेवारी, गुरुङलगायत अन्य भाषाका फिल्ममा फाट्टफुट्ट काम पाउथे। तर, चैत ११ गतेदेखि लकडाउन लागू भयो। फिल्म क्षेत्रका हरेक गतिविधि ठप्प रहे। दुई तीन महिना त जसोतसो दैनिकी चलायो सनमको परिवारले। तर, बिस्तारै रासन पानी र औषधी पनि सकियो। ऋण दिनेहरू पनि सकिए। कहाँ जाने, के गर्ने?

वर्षौ पूराना निर्माताहरू सम्झिए जसले उनीहरूको फिल्ममा काम गरेको पैसा 'पछि दिउँला' भनेर टारेका थिए। कतिले आधा रकम मात्र तिरेका थिए। उनीहरूलाई पनि फोन घुमाए। कतिसँग सम्पर्क हुनै सकेन। कतिले फोनै उठाएनन्।

'अप्ठ्यारो परेको बेलामा त मित्रले समेत शत्रुलेजस्तो व्यवहार गर्ने रहेछन्', उनले अनुभव सुनाए।

जवानीभर नेपाली फिल्मको सेटमा रमाए सनम। पर्दापछाडिको हिरो बनेर। पर्दामा देखिनेहरूलाई सुन्दर बनाए। कहिले काहीं आफ्नो नामो निशान नदेखिने भूमिकाहरू पाउँदा दङ्ग परेर नि:शूल्क काम समेत गरे। जब भोक र रोगले उनको परिवारलाई ग्रस्त पार्‍यो उनको योगदानको कदर गर्ने कोही भएनन्।

यस वर्षको दशैं अगाडि खानका लागि चामल समेत जुट्ने कुनै बाटो नरहे पछि उनले गुहार गर्दै नेपाल चलचित्र प्राविधिक संघसँग सम्पर्क गरे। उनको अभावका कथा लेखियो।

'दु:ख नभोगे पनि बुझेका केही मनकारी आएर रासन पानी दिनु भयो। यो सक्किएपछि के गर्ने थाहा छैन किनकि फिल्महरू कहिले बन्न थाल्छन् टुंगो छैन', सनमले सुनाए।

‘हाम्रो सानो प्रयास’ र ‘हन्ड्रेड्स ग्रुप’ले संयुक्त रुपमा उनलाई एक महिनाका लागि रासन उपलब्ध गराएको हो। लकडाउन सुरु भएयता सीमामा अलपत्र नेपालीदेखि विपन्नहरूलाई खुलामञ्चमा खाना खुवाउने काम गर्दै आएको छ यो समूहले। खाना खुवाउनेसँगै आपतमा परेकाहरूको उद्दार गर्दै घर पठाउने, क्वारेन्टिन व्यवस्थापन लगायतको काम समेत गरेका छन्।

अभियानमा सक्रिय पुकार बमले भने,'नेपाली फिल्म क्षेत्रमा सक्रिय रहेर जीवनको एउटा कालखण्ड बिताएका प्राविधिकले दशैंमा खान समेत धौधौ परेको थाहा पाएपछि एक महिनाका लागि पुग्दो राहत लिएर भेट्न गएका हौं।'

सनमको भोगाइ प्रतिनिधि कथा भएको बताउँछन् पुकार। उनका अनुसार नेपाली फिल्म क्षेत्रका थुप्रै प्राविधिकहरू उस्तै अभावबाट गुज्रिरहेका छन्। भन्छन्,'हामीले थाहा पाएकासम्म त पुग्दो गरेका छौं। सक्दो दिएका छौं। तर, कहिलेसम्म? फिल्म क्षेत्र त तत्काल खुल्ने स्थिति देखिँदैन।'

यस्तोमा फिल्म क्षेत्रसँगै सम्बन्धित सरकारी निकाय एवं संघ संस्थाहरूले सहयोगको पहल गर्नुपर्ने उनले बताए। बिहान बेलुकाको छाक समेत गुजारा गर्न नसक्ने प्राविधिकहरूका लागि कलाकारले केही बोलिदिए मात्र पनि पर्याप्त सहयोग जुट्ने उनको तर्क छ। भन्छन्,'केही कलाकार हुनुहुन्छ जसले सामाजिक सञ्जालमा केही लेखिदिए पत्याउने वा सहयोगका लागि तत्पर रहने जमात छ। तर कोही बोलिरहनु भएको छैन। एकदुईजनाले गरिराख्नु भएको छ जो प्रचार चाहनुहुन्न।'

श्रृङ्गार र सुख सुविधाका सामाग्रीहरू प्रचारमा जुट्नेले सनमजस्ता प्राविधिकको दु:ख पनि बुझ्नु पर्ने उनको तर्क हो।

कोरोना भाइरस एवं लकडाउनका कारण चलचित्र क्षेत्र ठप्प छ। फिल्मको छायाँकनदेखि प्रदर्शनसम्मका सबै कार्य रोकिएका छन्। जसका कारण प्रत्यक्ष असर परेको छ सनमजस्ता फिल्मको पर्दामा नदेखिने ज्यालादारी मजदूर वर्गमा। निम्न आय भएका उनीहरुलाई बढ्‍दो संक्रमणका कारण परेको समस्याहरु एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन्।

नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा भने संघ एवं कलाकारहरूको समन्वयनमा लकडाउन प्रभावित प्राविधिकहरूलाई आवश्यक सहयोग भइरहेको दावी गर्छन्। उनले दशैंअघिसम्म संघले अभावमा रहेकालाई घरघर पुगेर रासन पानी दिएको दावी दोहोर्‍याए।

'सम्पर्क हुन नसकेका कारण कोही छुटेको हुनसक्छ। पर्व सकियो अब हामी उहाँहरूसम्म पुगेर समस्या सुन्छौं। आवश्यक सहयोग गर्छौं', पुष्करले बताए।

उनले दिएको जानकारी अनुसार चलचित्र विकास बोर्डसँगको समन्वयनमा अप्ठ्यारोमा परेका प्राविधिकहरूका लागि राहत उपलब्ध गराउने तयारी भइरहेको छ। भने,'हामीले सुरक्षा कोषको अवधारणासहित काम अघि बढाएका छौं।'

संघसँगको समन्वयनमा केही फिल्मकर्मीले व्यक्तिगत् एवं संस्थागत् सहयोग गरेका छन्। फिल्म 'छक्कापञ्जा' युनिटले प्राविधिक संघमार्फत् एक लाख दश हजार रुपैयाँ उपलब्ध गरायो। अभिनेता पल शाहले पनि प्राविधिकहरुका लागि पाँच लाख रुपैयाँ बराबरको रासन सहयोग गरे। प्राविधिकहरूको घरघरमा पुगेर।

भिडियो सम्पादक, म्युजिक भिडियोको मोडल हुँदै अभिनेता बनेका हुन् पल शाह। आफूले प्राविधिक हुँदाको अप्ठ्याराहरु महसुस गरेकै कारण सहयोग पुर्‍याएको बताएका थिए। पहिलोपोस्टसँगको कुराकानीमा भने,'सीमित बजेटमा चल्नु पर्छ। खानको लागि पनि हिसाब गर्नुपर्छ। अहिले मेरो त्यो स्थिति छैन। त्यसैले जसलाई आवश्यक छ त्यो वर्गलाई सहयोग गरेको हुँ।'

६० वर्षीय सनमकुमार श्रेष्ठ भने सधैं राहत रकमले जिन्दगी नचल्ने बताउँछन्। भन्छन्,'परिस्थिति अनुरुप व्यवस्थापनसहित छायाँकन सुरु भए हुन्थ्यो। हात खुट्टा चलुन्जेल मिहेनग गरेरै खाने हो। तर, संघहरूले आगामी दिनमा आउन सक्ने अभावका यस्तै अवस्था मध्यनजर गर्दै हाम्रो पारिश्रमिकदेखि लिएर सुरक्षाका विषयमा आवाज उठाउन आवश्यक छ।'

कोरोनाका कारण विश्वभर चलचित्र क्षेत्र ठप्प हुँदा सबैभन्दा प्रभावित बनेका छन् ‘बिहाइन्ड द क्यामेरा’ काम गर्ने सनम जस्ता हिरोहरु। भारतमा पनि लकडाउनका कारण प्राविधिकहरुले धेरै समस्या भोग्न पर्‍यो। आफूलाई हिरो हिरोइन बनाउनेहरु दु:खमा पर्दा सहयोग गर्न बलिउड कलाकारहरू अघि सरेको र सहयोग गरेको खबरहरु धेरै सुनिन्छन्। तर, नेपाली कलाकालहरू भने आफूले खाएको, रमाएको, सामाजिक सञ्जालमा राखेको तस्विरहरूका कारण समाचार बन्छन्। यस्तो देख्दा सनमको मन खिन्न हुन्छ।

भन्छन्, ‘भारतमा काम छाडेर यहाँ आएर कतै गल्ती त गरिन भन्ने महसुस हुन्छ’ सनमले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell