PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भोकाको गाँस खोस्दै काठमाडौं महानगरपालिका : खाना खुवाउँदा शहर फोहोर भएको आरोप



स्वेच्छा राउत

भोकाको गाँस खोस्दै काठमाडौं महानगरपालिका : खाना खुवाउँदा शहर फोहोर भएको आरोप

काठमाडौं : काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थल एवं सडकहरूमा जारी 'दैनिक खाना खुवाउने' अभियानमा रोक लगाउने भएको छ।

सार्वजनिक स्थलहरूमा खाना खुवाउँदा शहर अव्यवस्थित र फोहोर बनेको भन्दै खाना खुवाउन आउने र खानेविरुद्ध खट्न महानगरले नगर प्रहरीलाई निर्देशन दिइएको हो।

कोभिड-१९ को महामारी र संक्रमण नियन्त्रणका लागि जारी लकडाउन एवं निषेधाज्ञाका कारण सर्वाधिक प्रभावित बने निम्न आय वर्गकाहरू। दैनिक जिविकोपार्जनमै समस्या भएकाहरूलाई विभिन्न समूहले सार्वजनिक स्थलहरूमा खाना खुवाउँदै आएका छन्।

महानगरपालिकाका निमित्त प्रशासकीय अधिकृत रामेश्वर ज्ञवालीले अभाव नभएकाहरू पनि खाना खान आउने गरेको दावी गरे। उनले भने, 'आफै खान सक्नेहरू पनि त्यहाँ गएर जान थाले। जसका कारण भिड बढ्यो। संक्रमणको चुनौती बढ्यो। त्यसैले अभियान्ताहरूलाई व्यवस्थित बन्न आग्रह हो।'

ज्ञवालीका अनुसार अभियान्ताहरूले पार्टी प्यालेस वा अन्य स्थलमा व्यवस्थित ढङ्गमा अभियान जारी राख्नसक्ने जानकारी दिए। उनले भने, 'सार्वजनिक स्थलमा गर्दा फोहोर र अस्तव्यस्तता बढ्यो। महानगरपालिकालाई अप्ठ्यारो भयो।'

उनले असहाय र गरिबलाई मानव सेवा आश्रमसँगको समन्वयनमा उद्धार गर्ने दावी गरे। विपन्नलाई आवश्यक नाना, खाना र छाना दिन महानगरपालिकाले आश्रमसँग सहकार्य गरेको उनले बताए। लकडाउन यता पनि आश्रमले सडक मानवहरूको उद्धार गरिरहेको जानकारी दिए।

उनले भने, 'विपन्नकै उद्धारका लागि मानव सेवा आश्रममा महानगरपालिकाले करोडौं लगानी गरेको छ।'

मानव सेवा आश्रमको काठमाडौं महानगरपालिकामा २ शाखा छन्। सामाखुशी र बुढानीलकण्ठमा आश्रम बसेको भवनको भाडा महानगरपालिकाले तिरिरहेको छ। जसका लागि कूल एक लाख ७४ हजार ९ सय २० रुपैयाँ मासिक खर्च हुन्छ।

यी दुई शाखामा हाल १ सय २० जनाले आश्रय लिइरहेका छन्।

तर, विभिन्न समूह एवं संस्थाले खुवाउने खाना खान फरक फरक ठाउँमा गरी दैनिक २५ सय देखि ३ हजार मानिस आउने अभियान्ता पुकार बमले दावी गरे।

उनले 'हाम्रो सानो प्रयास'मार्फत् खाना खुवाउँदै आएका छन्।

अभाव नभोगी कोही सडकमा खाना खान नआउने तर्क उनको छ। पुकारले भने, 'सक्ने भए आङभरी कपडा र नाङ्गो पैतालामा जुत्ता लगाएर आउथे होलान्। उनीहरूलाई पनि संक्रमणको डर होला। एक छाक खानाकै लागि किन भिडमा मिसिन्थे?'  

पुकारका अनुसार महानगरपालिकाले यसअघि पनि केही पटक अभियानमा रोक लगाउने सूचना जारी गरेको थियो। तर, खाना खोज्दै आउनेहरु रोकिएनन्। दिनेहरूले दिन छाडेनन्।

'सरकारले आफै खुवाउन नथालेसम्म खाना खुवाउने काममा रोक लगाउनु असम्भव छ। दैनिक भोका मानिस थपिएका छन्। संक्रमणको जोखिम बढ्दो छ। तर सरकारले न खाने बाटो दिन्छ र खाना नै', पुकारले भने,'गाँस खोस्ने हो भने भोकाहरू आक्रोशित हुन्छन्। उनीहरू प्रदर्शनमा उत्रन्छन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell