जनकपुरधाम : प्रदेश २ मा प्रदेश सांसद र प्रमुख जिल्ला अधिकारीसहित थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ४२ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय झाले जानकारी दिए।
गौर अस्पताल रौतहट, बर्दिबास कोभिड १९ प्रयोगशाला महोत्तरी, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
सोमवार धनुषामा २१ जना, पर्सामा १३ जना, सिरहामा ७ जना, रौतहटमा ६ जना, बारामा ५ जना, महोत्तरीमा ४ जना, सर्लाहीमा २ जना, सप्तरीमा १ र अन्य प्रदेशका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप ९८ जना संक्रमणमुक्त भएर घर फर्केका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या १४ हजार ३ सय २२ पुगेको हो।
पछिल्लो २४ घण्टामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या १ सय ७० पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। सोमवार बाराको निजगढ नगरपालिका वडा नम्बर ९ का ६२ वर्षीय पुरुष र सिरहाको सुखिपुर नगरपालिका वडा नम्बर ४ घर भई प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत रहेका ६४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक परमेश्वर साहलाई कोरोना संक्रमण भएको छ। लगातार रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा साहलाई शनिवार संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएपछि साह होमआइसोलेसनमा बसेका छन्।
‘६ र ७ दिनसम्म लगातार रुघाखोकी लागेर स्वाब परीक्षण गराउँदा शनिवार रिपोर्ट पोजिटिभ आयो,’ साहले भने।
संक्रमण देखिए पनि स्वास्थ्य सामान्य रहेको उनले बताएका छन्। सचेतक साह केही दिनअघि पार्टी कार्यक्रमहरूमा सहभागी भएका थिए।
यसैगरी, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। रुघाखोकी र शरीर दुखेपछि पीसीआर परीक्षण गराउँदा भट्टराईको रिपोर्ट पोजिटिभ देखिएको हो। कोरोना पुष्टि भएपछि प्रमुख जिल्ला अधिकारी भट्टराई होमआइसोलसनमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी दीपक कोइरालाले जानकारी दिए।