
जनकपुरधाम : कोरोना संक्रमणका कारण प्रदेश २ मा थप ४ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या १ सय ७४ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय झाले जानकारी दिए।
मंगलवार पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ४ का ५० वर्षीय पुरुष, वीरगंज महानगरपालिका वडा नम्बर ५ रेशमकोठी घर भएका ७६ वर्षीय पुरुष, सप्तरीको कृष्णसावरन गाउँपालिका वडा नम्बर ५ का ६२ वर्षीय पुरुष र हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर २ का ५३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको निमित्त निर्देशक झाले जानकारी दिए।
कोरोना संक्रमणबाट हालसम्म सबैभन्दा बढी पर्सामा ५० जनाको मृत्यु भएको छ। त्यस्तै, सप्तरीमा २७, धनुषामा १९, बारामा १९, सिरहामा १८, महोत्तरीमा १७, सर्लाहीमा १३, रौतहटमा १० र १ भारतीय नागरिकको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ ले जनाएको छ।
यसैगरी, पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गौर अस्पताल रौतहट, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा धनुषामा १८, सिरहामा ९, सप्तरीमा ९, महोत्तरीमा ६, रौतहटमा ४, बारामा ४, पर्सामा ४, सर्लाहीमा २ र अन्य प्रदेशका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ ले जनाएको छ।
पछिल्लो २४ घण्टामा थप ९४ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या १४ हजार ४ सय १६ पुगेको छ।