
जनकपुरधाम : प्रदेश २ मा बुधवार थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज, गौर अस्पताल रौतहट, बर्दिबास कोभिड १९ प्रयोगशाला महोत्तरी र गजेन्द्र नारायण सगरमाथा अस्पताल राजबिराजमा गरिएको परीक्षणमा १५ महिला र ५० पुरुष गरी ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय कुमार झाले जानकारी दिए।
बुधवार प्रदेशको सप्तरी जिल्लामा सबैभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा ४ महिला र १५ पुरुष गरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै, धनुषामा ४ महिला र १२ पुरुष गरी १६ जना, बारामा ४ महिला र ५ पुरुष गरी ९ जना, महोत्तरीमा १ महिला र ५ पुरुष गरी ६ जना, रौतहटमा १ महिला र ४ पुरुष गरी ५ जना, सिरहामा ४ जना पुरुष, पर्सामा ३ जना पुरुष, सर्लाहीका १ जना पुरुष र अन्य प्रदेशका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशक झाले जानकारी दिए।
यस्तै, बुधवार प्रदेशमा २२ जना महिला र ८३ जना पुरुष गरी कुल १ सय ५ जना संक्रमणमुक्त भएर घर फर्केका हुन्। योसँगै प्रदेशमा कोरोनाबाट निको हुनेको संख्या १४ हजार ५ सय २१ पुगेको छ।
एक जनाको मृत्यु, मृतकको संख्या १७५ पुग्यो
पछिल्ला २४ घण्टामा प्रदेशमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिरहा जिल्लाको सुखिपुर नगरपालिका वडा नम्बर ८ का ७४ वर्षीय पुरुष रहेका छन्।
उनको विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। यससँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ७५ पुगेको छ।