आरडीटी हटाएर शत प्रतिशत पीसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टाइनको अवस्था सुधार गर्नुपर्ने लगायतका माग राख्दै युवा जमात सडकमा उत्रिए। शान्तिपूर्ण भनेर सुरु भएको प्रदर्शन खिच्न फोटो पत्रकारहरूको बेग्लै भिड थियो। सबैको लेन्स सामाजिक दूरी कायम गरी बसेकाहरूतर्फ सोझिएको थियो।
फोटो पत्रकारहरूले प्रदर्शनकारी नियालेजस्तै फोटो पत्रकारहरूको झुण्डलाई नियाल्दै थिइन् नयनतारा गुरुङ कक्षपति। पेशाले उनी पनि फोटोग्राफर हुन्। तर, त्यसदिन उनी घाँटीमा क्यामेरा झुण्डाएर होइन हातमा नारा लेखिएको प्लेकार्ड बोकेर उभिएकी थिइन्।
तर, उनको ध्यान पटकपटक क्यामेरा भिरेर लेन्स सोझ्याइरहेका फोटो पत्रकारतर्फ नै सोझिन्थ्यो। सबैले एकै ठाउँबाट किन खिचिरहेका छन् भन्ने प्रश्न उनको मनमा उब्जिरहेको थियो। त्यतिकैमा उनले एक पत्रकारलाई नोटिस गरिन् जो प्रहरीले तोकिदिएको सीमाभन्दा केही पर पुगेका थिए। उनी फरक ठाउँबाट फरक एंगल खोज्दै गरेको उनले चाल पाइन्।
शान्तिपूर्ण आन्दोलनलाई प्रहरीले बिथोल्यो। आन्दोलनको 'न्यूज भ्याल्यू' पनि बढ्यो। घटनाबारे हरेक मिडियामा खबर छायो। खबरसँगै छापिएका तस्विरहरू भने सबै उस्तै - भेटिएन फरकपन।
इनफ इज इनफ अभियानको दृष्य।
एक्लिएर फरक एङ्गलमा फोटो खिचिरहेका ती फोटोपत्रकारले काम गर्ने मिडियामा नयनताराले नजर लगाइन्। त्यहाँ प्रकाशित फोटो पनि उस्तै। उनले देख्न चाहेको दृश्य प्रकाशित भएको रहेनछ। तर, ती फोटो पत्रकारको इन्स्टाग्राममा भने उनले हेर्न खोजेजस्तै फोटोहरू अपलोड भएका थिए।
मिडिया बुझेकी नयनतारालाई ठम्याउन गाह्रो भएन – नेपाली न्यूजरुममा फोटो बुझ्ने सम्पादक छैनन्।
त्यसैले त मिडियाहरूमा 'स्टेरियोटिपिकल' फोटोहरू मात्र छापिए। फरक दृश्य खोज्ने फोटो पत्रकार र सम्पादकको रोजाइबीच तालमेल मिलेन।
यो सबै देखेपछि नयनताराले २०७२ सालमा गएको भूकम्पको समय सम्झिइन्। नेपालका फोटोपत्रकारहरू जोखिम मोलेर काममा खटिएका थिए त्यतिखेर। फोटोमार्फत् एउटा ठाउँको अवस्था अर्को ठाउँमा रहेकाहरूको लागि चित्रण गरिरहेका थिए।
सोही वर्ष वर्ल्ड प्रेस फोटो प्रतियोगितामा भूकम्प प्रभाव झल्कने फोटो कथाले समाचार विधामा तेस्रो स्थान पायो। फोटो पशुपति आर्यघाटमा खिचिएको थियो। जसमा भूकम्पमा परेर ज्यान गुमाएकाहरूको दाहसंस्कार भइरहेको छ। त्यस्तै भूकम्पको भौतिक एवं मानवीय क्षति र प्रभाव झल्काउने अन्य फोटो थिए। ती फोटो कुनै नेपाली फोटो पत्रकारको भने थिएन।
अवार्ड जितेको फोटोको स्क्रिन सट।
उक्त फोटो खिचेका थिए अस्ट्रेलियाली फोटोपत्रकार डानियल बेरेहुलकले।
'हाम्रो देशको दृश्य, हाम्रो ठाउँको कथा। उस्तै फोटो नेपाली फोटोपत्रकारले पनि खिचेका थिए तर जित्न चाहिँ किन विदेशी फोटोग्राफरको फोटोले जिते त?'
थुप्रै समस्या उनले महसुस गरेकी छिन् जसका कारण नेपाली फोटोपत्रकारले खिचेको कमै फोटो अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताका लागि छानिन्छ।
केही कारण उनले पनि मनन गरेकी छिन्। आफ्नो बुझाइलाई मन्थन गर्न र थप जिज्ञासा मेट्न अन्य देशका फोटोपत्रकारसँगको सहकार्यसँगै सम्बोधन गर्ने अवसर उनीसँग छ। अर्थात् यसपाला उनी वर्ल्ड प्रेस फोटो प्रतियोगिताका लागि प्रमुख जुरी रहने भएकी छिन्।
प्रतिष्ठित फोटो प्रतियोगितामा पहिलो पटक नेपाली फोटोग्राफरले निर्णायकको भूमिका निर्वाह गर्दैछिन्। दक्षिण एसियाबाट पहिलो पटक महिला फोटोग्राफरले निर्णायकको अध्यक्षता लिँदैछिन्।
+++
पोहोर साल, नयनतारा गुरुङलाई वर्ल्ड प्रेस फोटो प्रतियोगिताका लागि जुरी रहने प्रस्ताव आयो। संयोगवस् प्रतियोगिताका लागि दिनुपर्ने समय उनले अन्य कार्यक्रमका लागि छुट्याएकी थिइन्। दिल्लीमा हुने इन्डियन आर्ट फेयरमा नेपाल फोटो लाइब्रेरीको प्रदर्शनी तय भएको थियो। त्यसैले वर्ल्ड प्रेसको प्रस्ताव स्वीकार्न सकिनन्।
यस वर्ष अक्टोबर दोस्रो साता उनलाई पुन: सोही प्रतियोगिताको प्रमुख निर्णायक रहन प्रस्ताव आयो।
नयनतार। फोटो : सागर क्षेत्री
कोरोना भाइरसको पेन्डामिकका कारण संसारभर धेरैजसो कार्यक्रम ठप्प छ। त्यसैको असर हो नयनताराको काममा पनि तुलनात्मक रुपमा चाप कम। सन् २०१५ देखि उनकै नेतृत्वमा आयोजना हुँदै आएको फोटो प्रदर्शनी 'फोटो काठमाडौं'को चौथो संस्करणको तयारी भइरहेको छ। जति काम छन् ती प्राय अनलाइनमार्फत् फत्ते पार्न सकिने खालका छन्।
तर पनि वर्ल्ड प्रेस फोटोको प्रस्ताव सोझै स्वीकारिनन् उनले। आफूले पूरा गर्नुपर्ने जिम्मेवारीबारे पढिन्। जिम्मेवारी लिन सक्छु कि सक्दिनँ? भन्ने बुझिन्। त्यसपछि मात्र अघि बढिन्।
'त्यति ठूलो संस्थाको प्रस्ताव मेरा लागि अनपेक्षित थियो। खबरले मलाई गर्विलो महसुस त गरायो तर उत्तिकै सोचमग्न पनि। किनकि त्यो त ठूलो जिम्मेवारी हो। म आफूमा त्यो जिम्मेवारी पूरा गर्नसक्छु भन्ने आत्मविश्वास हुनुपर्थ्यो', उनले प्रस्ताव आउँदाको अनुभूति सुनाइन्।
नेदरल्यान्ड्सको वर्ल्ड प्रेस फोटोले सन् १९५५ देखि विश्वव्यापी फोटो प्रतियोगिता आयोजना गर्दै आएको छ। सन् २०२१ को प्रतियोगिता डिसेम्बर १ बाट खुला हुँदैछ। समसामयिक विषय, वातावरण, प्रकृति, समाचार, प्रोट्रेट, लङ टर्म प्रोजेक्ट, खेलकुद र स्पोट न्यूज विधामा प्रतिस्पर्धा हुनेछ।
यी सबै विधाका लागि सहभागी फोटोहरूलाई विधा विशेष निर्णायकहरूले जेनेरल जुरीसम्म पुर्याउने छन्। र, त्यहाँबाट बिजेता चुनिने छन्।
नयनतारा निर्णायक टोलीको प्रमुखसँगै कुनै एक विधाको विशेष निर्णायक समेत रहने छिन्।
'यो अवसर मेरा लागि व्यक्तिगत रुपमा सुखद् छ नै। सँगै मैले नेपाल र दक्षिण एसियाको प्रतिनिधित्व गर्दै छु भन्ने महसुस गरेकी छु,' उनले भनिन्, 'जिम्मेवारीका कारण डर पनि बढ्दो छ।'
उनको छनौटसँगै आइरहेका प्रतिक्रियाहरूले उनलाई झनै उत्तरदायी महसुस गराएको छ। आफ्ना लागि खुशी हुनेहरूको सन्देश स्वभाविक मान्छिन्। किनकि नेपाली समूदायबाट यसअघि कोही त्यहाँ पुगेका छैनन्।
सञ्चार माध्यमहरूको 'पावर सेन्टर' पश्चिमा मुलुक हुन्। चर्चित पत्रपत्रिका, टिभीलगायतका माध्यम उतैबाट सञ्चालित छन्। फोटो पत्रकारितकाको हकमा अवस्था पनि फरक छैन। यस्तोमा आफूले विश्वभरका फोटो पत्रकारहरूले खिचेको फोटो चयनका लागि ठाउँ पाउनुलाई शक्ति केन्द्र स्थानान्तरण हुँदै जानुको संकेत मान्छिन् उनी। नेपालजस्तो देशका पत्रकारले पनि अन्तर्राष्ट्रिय प्ल्याटफर्म पाउन सक्छन् भन्ने सन्देश हो उनको छनोट।
'विश्वको हरेक कुनाको कथा समान रुपमा अगाडि देखिउन् वा पहुँच नभएका देशका फोटोपत्रकारहरू पनि सहभागिताका लागि प्रोत्साहित होउन् भन्ने उद्देश्य हुनसक्छ,' गुरुङले भनिन्।
फरक देशका, फरक विधामा विज्ञता राख्ने फोटो पत्रकारहरूसँग फोटो छनोटका लागि बस्नु, वैचारिक छलफल गर्नु, हजारौं फोटोहरूको कलात्मक पाटोमाथि एकअर्काको धारणा राख्नु र आफूलाई झनै निखार्नु सहज कुरा होइन। यसैबाट फोटो पत्रकारिताको फरक आयाम बुझाउने विश्वास राखेकी छिन् उनले।
वर्ल्ड प्रेस फोटो प्रतियोगिता २०२१ मा नेपालबाट पनि धेरै फोटोपत्रकार र फोटोग्राफरको सहभागिता अपेक्षा गरेकी छिन् उनले। आफूभन्दा पछिल्लो पुस्ताका लागि सहभागिता जनाउने प्रेरणा दिन तत्पर छिन् उनी।
झम्सिखेलमा फोटो स्टोरीमाथिको छलफलमा सहभागी। फोटो : सागर क्षेत्री
'जित्नु वा नजित्नु सफलता वा प्रभावकारिताको मानक चाहिँ होइन,' उनले भनिन, 'यस्ता प्रतियोगिताले एक सय एक राम्रा फोटोहरूबाट एउटा छान्छ। त्यसले फोटो खिच्नेलाई पहिचान त दिन्छ नै साथै कस्तो फोटो चाहिँ राम्रो त? भन्ने मापदण्ड तय गर्छ।'
फोटो खिच्नमै रमाउने र यसलाई पेशाका रुपमा अघि बढ्न चाहनेका लागि यस्ता प्रतियोगिता उत्सुकता र हौसलाको माध्यम बन्नसक्ने उनको बुझाइ छ।
+++
लकडाउन सुरु भएयता घरमै रहिन् नयनतारा। फुर्सदमा घरका पुराना एल्बमहरू पल्टाइन्। त्यस समय आफ्ना बुबाले खिचेका फोटोहरू देखेर छक्क परिन्। व्यवसायी भएर पनि बुवा श्याम कक्षपतिले जुन सौखका साथ क्यामेरा चलाएका रहेछन् सायद् त्यसैको प्रभाव पर्यो उनमा।
उनकी आमा रानी गुरुङ कक्षपति नेपाल टेलभिजन स्थापना हुँदाकी पत्रकार जसले रेडियो, पत्रिकामा पनि सक्रिय रहेर काम गरिन्। आमाका कारण पनि उनलाई पत्रकारितामा रुची थियो।
तर, उनले उच्च माध्यमिक तहसम्म इकोनमिक्स पढिन्। स्नातक तहका लागि अमेरिका गएपछि भने अन्तर्राष्ट्रिय सम्बन्ध, राजनीतिशास्त्र र स्टूडियो आर्टको अध्ययन गरिन्। बिस्तारै उनको रुची दृश्यभाषातर्फ ढल्कदै गयो। उनलाई के गर्दा खुशी हुन्छु? भन्ने कुराको निक्र्यौल गरिन्।
अमेरिकामा उनी औपचारिक अध्ययनसँगै दृश्यमा कैद गर्न कथा खोज्दै थिइन्। ठीक त्यस समय अर्थात् सन् २००६ मा नेपालमा राजनीतिक उथलपुथल उत्कर्षमा थियो। आन्दोलन चर्कँदो। यी घटनाक्रमको प्रभाव आर्थिक, सामाजिक क्षेत्रमा नपर्ने कुरै भएन। त्यसैले उनी नेपाल हान्निइन् - कथा खोज्न, खिच्न र दुनियाँलाई देखाउन। त्यसयता उनी नेपालबाटै फोटोग्राफीमा सक्रिय छिन्।
दाली इन्टरनेसनल फोटोग्राफी फेस्टिवल : सागर क्षेत्री
उनका लागि फोटोग्राफी भाषा हो। कला र कथा अभिव्यक्तीको माध्यम। कथाहरू हेर्ने र देखाउने यही भाषाको प्रयोगमा आफूले बटुलेको अनुभव आफ्ना लागि अवसर र चुनौतीका रुपमा आएको महसुस गरेकी छिन्।
'नेपालको हकमा बल्ल फोटोको महत्व बुझिँदै छ। बिस्तारै यसको आवश्यक र उचित प्रयोगबारे ध्यान दिइँदैछ,' उनले भनिन्, 'त्यसैले अब फोटोहरू प्रभावकारी हुनुपर्छ। एउटा फोटोले हजार शब्द बोल्छ भन्ने खालका कुरामा रमाएर हुँदैन।'
सिधैं डिजिटल प्रविधिको पहुँच पाएको नयाँ पुस्ताका लागि फोटोको क्षेत्रमा अवसर नै अवसर देख्छिन् उनी। किनकि आजको विश्वबजार र हरेक व्यवसायिक प्रचार फोटोबिना असम्भव भइसकेको छ।
+++
'छोरी मान्छे'ले आफ्ना लागि आफै निर्णय गर्न नसक्ने समयमा नयनतारालाई परिवारको साथ रह्यो। सहयोग, स्वतन्त्रता पाइन् र निस्किइन् मैदानमा।
तर, फोटोपत्रकारिता क्षेत्रमा भने महिला भएकै कारण भोग्नु पर्ने समस्याहरू यथावत् थिए। र, हालसम्म पनि विश्वभरको परिवेश केही फरक छैन।
चीनमा आयोजित इन्टरनेसनल स्टोरीटेलिङ वर्कसपमा सहभागी नेपाली फोटोग्राफरहरु। फोटो : मिनो आर्ट सेन्टर
एउटा केटी अमेरिका छाडेर नेपाल आएकी छ, आन्दोलनको फोटो खिच्न। उसका लागि शारीरिक, मानसिक अनि सामाजिक चुनौती हुने रहेछन्। तर, नयनतारा आफू कुनै पुरुष फोटोपत्रकार बराबर कुद्न सकिँन भनेर बसिनन्। भिडन्तमा कसैले बन्दुक ताकेको फोटो खिच्न पाइँन भनेर निराश भइनन्। आन्दोलनको असरलाई फरक दिशाहरूबाट हेरिन्। त्यसले आम नेपालीको जीवनशैलीमा पारेको असर खोज्दै हिँडिन्। आन्दोलन कसरी सुरु भयो? दृश्यमार्फत् बुझाउन कसरत् गरिन्।
उनले नेपालमा फोटोपत्रकारिता सुरु गर्दा प्राय फोटोपत्रकार पुरुष थिए। कतिले नयनतारालाई हौसला दिए। कतिले उनको उपस्थितिमाथि प्रश्न समेत गरे। त्यसैले महिला भएकै कारण भोग्नु पर्ने समस्याहरू उनीसम्म पनि आइपुगे। जसको सामाना गर्नुको विकल्प थिएन।
उनले आफ्नो ठाउँ आफै बनाइन्। त्यसको फाइदा के भयो भने – उनले सम्भावनाको बाटोहरू देखिन्। अवसर र अनुभव बटुल्दै अघि बढिन्। आज पनि उनी महिला फोटोपत्रकारहरूको आवश्यकता देख्छिन्। महिला सहभागिताको हिसाब किताबका लागि भन्दा बढी महिलाको पक्षबाट सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक एवं अन्य विषयमाथि दृश्यकथा भनिनका लागि, महिला परिप्रेक्ष्यबाट कुनै पनि समाज, समुदाय, क्षेत्र वा समूहको प्रतिनिधित्व गरिनका लागि।
+++
नयनतारासँगै अर्की महिला फोटोग्राफर मुई साओले डिजिटल स्टोरी टेलिङको अध्यक्षता गर्दैछिन् यसपाला। बिस्तारै महिलाका लागि त्यो ठाउँ बन्दै गएको र वैचारिक विविधता बढ्दै गएको ठम्याइ छ उनको।
नेपाली फोटोपत्रकारिताको क्षेत्रमा आवश्यक परिवर्तनका लागि देश फर्किए देखि नै काम गर्दै आएकी छिन् उनले।
उनी फोटो सर्कल, नेपाल पिक्चर लाइब्रेरी र फोटो काठमाडौंकी सह–संस्थापक हुन्। फोटो सर्कल सन् २००७ मा स्थापित फोटोग्राफरहरूको संस्था हो। यस संस्थामार्फत् फोटोग्राफी सम्बन्धी औपचारिक कक्षा एवं कार्यशालाहरू सञ्चालन हुन्छ। फोटो प्रदर्शनी, फोटो सम्बन्धी संवाद, प्रकाशन र अनुसन्धान पनि गर्दै आएका छन्।
त्यस्तै, पिक्चर लाइब्रेरी नेपाली फोटोग्राफरहरूले खिचेको फोटोको डिजिटल अभिलेखालय हो।
फोटो सर्कलको प्रदर्शनी : सागर क्षेत्री
सन् २०१५ देखि आयोजना हुँदै आएको फोटो काठमाडौं चाहिँ फोटो प्रदर्शनी हो। यस वर्ष भर्चुअल्ली प्रदर्शनी एवं फोटो सम्बन्धी संवाद कार्यक्रमहरू आयोजना हुँदैछ।
'नेपाली फोटोग्राफरहरूको संख्या सीमित छ। अवसर सीमित छन्। त्यसैले हामीले यसैगरी आ-आफ्नोतर्फबाट सक्दो गर्नुपर्छ', उनले भनिन्, 'सबै फोटो पत्रकारहरूले एकजुट भएर गर्नुपर्ने धेरै काम छन्।'
+++
उनले फोटो पत्रकारिता सुरु गर्दाको समयमा भन्दा निकै परिवर्तन देखेकी छिन् अहिले। मानिसको रुची बढेको देखेकी छिन् यसमा। अनलाइन एवं अन्य मिडियाले फोटोलाई महत्वकासाथ प्रकाशित गरेको बुझेकी छिन्। तर, यही काम गरेर फोटोपत्रकार ढुक्कले बाँच्न सक्ने स्थिति भने अझै नभएको बताउँछिन् नयनतारा।
'यो लगानी गर्नुपर्ने क्षेत्र हो। पत्रकारहरू आफै क्यामेरा किन्नुपर्छ। क्यामेरा भएर पुग्दैन कुद्नका लागि साधन छैन। तर, पारिश्रमिक न्यून छ,' उनले समस्याको चाङ सुनाइन्।
त्यस्तै फोटोको उचित सम्पादन र प्रयोगको पनि समस्या देखेकी छिन्।
फोटोमार्फत् बलियो कथा भन्न सक्नुपर्नेमा केही थान फोटो एकपछि अर्को गर्दै राखेर फोटो स्टोरी वा फिचर भनेको फिटिक्कै चित्त बुझ्दैन उनलाई। जसरी लेख रचनाहरूमा विषय छनोटदेखि, सम्पादन एवं शिलशिलावद्ध बनाउन काम गरिन्छ फोटोमा पनि त्यस्तै गर्न आवश्यकता रहेको देखेकी छिन् उनले।
'फोटो बुझेको मान्छेलाई फोटो सम्पादकका रुपमा राखिनु आवश्यक छ। फोटो खिच्नु र छाप्नु मात्र फोटोपत्रकारिता हुनै सक्दैन,' उनले भनिन्।