
जनकपुरधाम : प्रदेश २ मा बिहीवार थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ जनाको मृत्यु भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज, गौर अस्पताल रौतहट र गजेन्द्र नारायण सगरमाथा अस्पताल राजबिराजमा गरिएको परीक्षणमा १२ महिला र ३१ पुरुष गरी ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय कुमार झाले जानकारी दिए।
बिहीवार प्रदेशको सप्तरी जिल्लामा सबैभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। सप्तरीमा २ महिला र ७ पुरुष गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै, धनुषामा ४ महिला र ४ पुरुष गरी ८ जना, बारामा २ महिला र ५ पुरुष गरी ७ जना, सिरहामा ३ महिला र ३ पुरुष गरी ६ जना, रौतहटमा १ महिला र ३ पुरुष गरी ४ जना, महोत्तरी र पर्सामा ३/३ जना पुरुष गरी ६ जना, सर्लाहीमा १ जना पुरुष र अन्य प्रदेशका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशक झाले जानकारी दिए।
त्यस्तै, बिहीवार प्रदेशमा २० जना महिला र ७० जना पुरुष गरी कुल ९० जना कोभिड-१९ संक्रमणबाट निको भएर घर फर्केका हुन्। योसँगै प्रदेशमा कोरोनाबाट निको हुनेको संख्या १४ हजार ६ सय ११ पुगेको छ।
एकै दिन ५ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा प्रदेशमा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको हो। योसँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ८० पुगेको छ।
बिहीवार सप्तरीमा ४ जना र सिरहामा १ जना कोरोना संक्रमितको मृत्यु भएको हो। सप्तरीको राजविराज नगरपालिका वडा नम्बर २ का २८ वर्षीय पुरुष, महदेवा गाउँपालिका वडा नम्बर ४ का ३० वर्षीय पुरुष, वडा नम्बर ६ का ३० वर्षीय पुरुष, विष्णुपुर गाउँपालिका वडा नम्बर २ का २६ वर्षीय महिला र सिरहाको विष्णुपुर गाउँपालिका वडा नम्बर १ का ८४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
प्रदेशमा कोरोना संक्रमणबाट अहिलेसम्म १ सय ४९ पुरुष र ३१ महिलाले ज्यान गुमाएका छन्। हालसम्म सबै भन्दा बढी पर्सामा जिल्लामा ५० जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन्। यस्तै, सप्तरीमा ३१ जना, सिरहामा २० जना, धनुषा र बारामा १९/१९ जना, महोत्तरीमा १७ जना, सर्लाहीमा १३ जना, रौतहटमा १० जना तथा १ भारतीय नागरिकको कोरोना संक्रमणबाट मृत्यु भएको छ।